सुदूरपश्चिममा रावलको नेतृत्वमा माधव समूहको बैठक,लेखराजको नेतृत्वलाई स्विकार्न नसकिने अडान

सुदूरपश्चिममा रावलको नेतृत्वमा माधव समूहको बैठक,लेखराजको नेतृत्वलाई स्विकार्न नसकिने अडान

कैलाली : निलम्बनको कारबाहीमा परेका नेता भीम रावलको नेतृत्वमा धनगढीमा नेकपा एमालेको खनाल–नेपाल समूहको भेला सुरु भएको छ।  पार्टी पुनर्गठनको राष्ट्रव्यापी अभियान अन्तर्गत धनगढीमा भेला आयोजना गरिएको आयोजकको दाबी छ। 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई सुदूरपश्चिम इन्चार्जबाट हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई जिम्मेवारी दिएका छन्। 

ओलीको निर्णयपछि सुदूरपश्चिममा रावल निकट नेता कार्यकर्ताहरू आक्रोशित छन्। कारबाहीमा परेपछि भीम रावलले धनगढीमा पहिलो पटक बैठक आह्वान गरेका हुन्।

धनगढीको भेलाले पार्टी सुदृढीकरणमा सहयोग गर्ने नेता रावलले बताए। एमाले पूर्ववत् अवस्थामा फर्किएपछि तत्कालीन कमिटीलाई चलायमान गराउन बैठक  आह्वान गरिएको भनिएको छ।

‘प्रधानमन्त्री ओलीले एकपक्षीय रूपमा गरेको कारबाहीलाई हामी मान्दैनौँ’ प्रदेश कमिटीका एक सदस्यले भने ‘अधिवेशन र महाधिवेशनबाट आएका सदस्य र पदाधिकारी नै आधिकारिक हुन्।’

बैठकमा नेपाल समूहका रावल सहित, प्रदेश अध्यक्ष भानुभक्त जोशी, सङ्घीय प्रतिनिधि सभा सदस्य झपट रावल लगायतको उपस्थिति रहेको छ ।

प्रदेशको विस्तारित बैठकमा नेपाल समूहका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू पनि छन्। 

२३ चैत, २०७७, १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।