एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई माओवादी केन्द्रले गर्याे कारबाही 

एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य रेग्मीलाई माओवादी केन्द्रले गर्याे कारबाही 

सुर्खेत : नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गरेको छ। 

कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उध्दृत गर्दै प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले रेग्मीलाई पार्टीको केन्द्रीय कार्यसमितिले कारबाही गरेको जानकारी दिइन्। 

‘यसबारे संसदीय दलका नेता एवं मुख्यमन्त्रीज्यूले प्रदेशसभामा जानकारी गराइसक्नुपर्ने भएको छ,’ उनले भनिन्, ‘त्यसैले उहाँ (रेग्मी) अब माननीय रहनुभएन।’

संसद्को परामर्श समितिमा रहेका रेग्मीको ठाउँमा रातो कामीलाई पठाइएको उनले जानकारी दिइन्।

रेग्मी साविकको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) छँदै ओली समूहमा प्रवेश गरेका थिए। सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पनि उनी एमालेमै रहेका थिए। 

उनलाई एमालेले पार्टी केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सचिवको जिम्मेवारी दिएको छ। 

‘अर्को पार्टीमा प्रवेश गरेर जिम्मेवारी पनि सम्हालिसकेपछि उहाँ (रेग्मी)माथि पार्टीले कारबाही गरेको हो,’ माओवादी केन्द्रकी प्रमुख सचेतक नेपालीले भनिन्। 
 

२१ चैत, २०७७, १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।