चियाको चुस्कीसँगै किताबको रस

चियाको चुस्कीसँगै किताबको रस

काठमाडौं  : व्यवसाय भन्ने बित्तिकै आर्थिक पाटोसँग जोडिन्छ र यसको मुख्य उद्देश्य नाफा आर्जन गर्नु रहन्छ।तर, लेखक मनिकर कार्की यसको अपवादका रूपमा देखिए आफ्नो व्यवसायमा। 

उनले नाफा नोक्सान सँगै सामाजिक रूपमा पनि महत्त्व राख्ने व्यवसायको खोजी गरे, यसको परिणाम आयो ‘चिया चौतारी’। उनले नयाँ तर आकर्षक व्यवसाय सुरु गरे चिया पिउँदै किताब पढ्ने।

कार्कीले आफूसहित १६ जनाको लगानीमा तीन वर्ष अघि बुटवलमा चिया चौतारी सुरु गरेका हुन्। ‘ मैले पुस्तक पढ्ने र चिया खाने पसल एकै ठाउँमा होस भनेर चिया चौतारी खोल्ने सोचेको थिएँ,’ तीन वर्षअघि पहिलो पटक चिया चौतारीको सुरुवात गर्दाको समय सम्झन्छन् कार्की।

 बामे सर्दा सर्दै कोरोना काल सुरु भयो। तर, भर्खर भर्खर जन्मिएको नयाँ सोचसहितको व्यवसायलाई कार्की र उनको समूहले जीवित नै राख्यो। कोरोनासँग जुध्दै जुध्दै आएको चिया चौतारी अहिले बुटवलमा बौद्धिक वर्गको बहस गर्ने, पाठकको पुस्तक पढ्ने, गोष्ठी, समीक्षात्मक कार्यक्रम लगायतका कार्यक्रम हुने ‘हब’ बनेको छ।  वृद्धदेखि युवासम्म यहाँ आउने गरेका छन्।

राजनीतिक व्यक्तिको सामाजिक योगदान दिने सोचले जन्मिएको व्यवसाय

गाउँघरमा अझै पनि चलन छ, साँझ बिहान चौतारीमा भेट गर्दै विभिन्न राजनीतिक, सामाजिक गफ गर्ने। बुटवलको चिया चौतारी भने राजनीतिक व्यक्तिले खोलेको चौतारी हो। कार्की आफैँ जनता समाजवादी पार्टीका सदस्य हुन्। उनले बुटवल आसपासको क्षेत्रमा राजनीतिक गफ गर्ने, सामाजिक विषयमा मन्थन गर्ने र समय कटाउने मात्रै नभएर केही ज्ञान आर्जन गर्ने थलो खोलेका छन्।

‘व्यवसाय भनेको नाफा र नोक्सान मात्रै होइन,’ कार्की भन्छन्, ‘व्यवसायले कुनै न कुनै रूपमा समाजलाई पनि योगदान दिनुपर्छ भन्ने मेरो मान्यता थियो। त्यही मान्यतालाई आत्मसात् गरेर यो व्यवसायमा हात हालियो।’

कार्कीको सोचमा अन्य लगानीकर्ताहरूले सहकार्य गरे। 

काठमाडौं उपत्यकाका गल्ली गल्लीमा अहिले यो सोच सहितका क्याफे, चिया पसलदेखि रेस्टुराँसम्म भेटिन्छन्। उपत्यकामा पसलमा पुस्तक राख्नु फेसनजस्तै भएको छ, चाहे त्यहाँ कसैले पुस्तक पढोस् वा नपढोस् । तर, उपत्यका बाहिरका धेरै ठाउँमा यो शैली नवीन छ।कार्कीले त्यही शैली अपनाएका छन्।

आफ्नो व्यवसाय कोरोना महामारीबाट गुज्रिरहँदा आर्थिक रूपमा कति सफल वा असफल भयो कार्की विश्लेषण गर्न चाहँदैनन्। तर, सामाजिक रूपमा सो क्षेत्रका मानिसलाई यो किसिमको व्यवसायबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने बुझाएका छन् उनले।

पछिल्लो समय मानिसहरूमा इन्टरनेटको कारण पुस्तक किनेर पढ्ने संस्कृतिमा कमी आएको पाइन्छ। ‘सामाजिक प्रकृतिको व्यवसाय’ गर्नु पर्छ भनेर चिया र पुस्तको व्यवसाय सुरु गरेको कार्की बताउँछन्। कार्की आफै पनि पढ्ने, लेख्ने काममा रुचि राख्छन्। उनको ‘वैकल्पिक अर्थतन्त्र’ नामक पुस्तक पनि प्रकाशित छ। आफ्नो रुचि पनि भएको क्षेत्र र समाजलाई पनि केही योगदान हुने किसिमले व्यवसायमा लाग्ने ध्येयले आफूले चिया चौतारी सुरु गरेको उनले दोहोर्याए । 

व्यवसायमा मिसिएको सामाजिक भावना नभए कुनै लिक्वर्स पसल खोल्न सक्थे वा कुनै रेस्टुराँ सञ्चालन गर्न सक्थे। वा क्याफे नै पनि पुस्तकालय नभएको खोल्न सक्थे। आफ्नो सोचका कारण नवीनसँगै योगदान योग्य व्यवसायमा प्रवेश गरेको कार्कीको दाबी छ। 

‘चिया बेच्ने मात्रै होइन, चियाको बिक्रीसँगै पठन संस्कृतिको विकास, विभिन्न विषयमा बहस, गोष्ठी जस्ता कार्यक्रमहरू सञ्चालन हुन्छ हाम्रोमा,’ कार्की भन्छन्, ‘किताब ज्ञान उत्पादनको माध्यमको रूपमा देखाउन सकिन्छ भन्ने हेतुले हामीले बुकसहितको क्याफे स्थापना गरेका हौँ।’

हिजो आज राजनीतिक देखि सबै प्रकारका छलफल र बहस काठमाडौंमा मात्रै सीमित छ। त्यसैले नेतृत्वको विचार निर्माणको ज्ञान उत्पादन हुने स्थान काठमाडौं मात्रै हो भन्ने मानिसहरूमा भाने छ। त्यो विचारलाई तोड्न कै लागि आफूहरूले छलफल र पठन संस्कृति बढाउन चिया चौतारी स्थापना गरेको उनको भनाई छ।

समाजमा सकारात्मक सोच र त्यसको रूपान्तरणको क्षेत्रसँग सम्बन्धित पेसामा सक्रिय भएका कारण कार्की आफूले व्यवसाय पनि सोही क्षेत्रसँग जोडिएको रोजेका हुन्। पूर्ण रूपमा नाफाभन्दा पनि आफूले प्रयोगवादी सोचमा चिया चौतारीको सुरुवात गरेका हुन्। 

‘म आफ्नै शब्दमा यसलाई सामाजिक प्रकृतिको उद्यम भन्न रुचाउँछु,’ कार्की भन्छन्, ‘सामाजिक प्रकृतिको उद्यमले व्यावसायिक सफलता लगायतका पाटाहरू सँगै समाजलाई पनि एक हदसम्म योगदान दिएको हुन्छ। हामीले सञ्चालन गरेको यो किसिमको व्यवसायका कारण यसले समाजलाई कुनै न कुनै रूपमा फाइदा पुर्याई नै रहन्छ भन्ने हाम्रो मान्यता हो।’

चिया चौतारी ज्ञान उत्पादनको क्षेत्रको रूपमा विकास भइरहेको छ। काठमाडौं बाहिर भएको यो प्रयोग कस्तो स्वरूपमा विकास भइरहेको छ भन्ने बुझ्नु अगावै महामारीको त्रासले जेलिएका थिए कार्की। मान्छेहरू महामारीका कारण भिडभाडमा जान डराएका छन्। घर बाहिर निस्किनु, चिया पसलमा भलाकुसारी गर्नु जोखिमयुक्त भएको छ। यसबीच आफ्नो प्रयोगवादी व्यवसाय कस्तो रूपमा विकास भयो बुझ्न पाएका छैनन् कार्कीले। तर, उनलाई यति थाहा छ आफ्नो व्यवसायले कुनै न कुनै रूपमा समाजलाई योगदान दिइरहेको छ। 

‘थोरै भए पनि मान्छेहरू पसलमा आउँछन्, पुस्तक पढ्छन्, विचार–विश्लेषण गर्छन्,’ कार्की भन्छन्, ‘हामीले जे जति रूपमा काम गरेका छौँ, त्यो सफल नै भएको महसुस गर्छु। लकडाउन नभएको भए हाम्रो व्यवसाय कति सफल असफल भन्न थप सहज हुन्थ्यो। तर, मनोवैज्ञानिकदेखि स्वास्थ्यकै त्रासका बीच पनि मानिसले आफ्नो दिनचर्याबाट केही समय निकालेर पुस्तकमा ध्यान दिएका छन्।’

युवादेखि वृद्धसम्मको आगमन

लेखक तथा अध्येता युग पाठकले आफ्नो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’को भूमिकामा लेखेका छन्– प्रश्नको अभाव भोकको अभावजस्तै हो। जब प्रश्नहरूले टाउको उठाउन थाल्छन्, बिथोल्न थाल्छन्, भोक जागेर आउँछ।’

पाठकको पुस्तकको भूमिकामा उल्लेख भएजस्तै प्रश्नहरूको भोक पुस्तकले जगाउने कार्की मान्छन्। जब मानिस पढ्न थाल्छ, तब उनका विचारहरू विस्तारित हुन्छन्। जब मानिस छलफल गर्छ, मन्थन गर्न थाल्छ, तब भ्रम चिरिएर वास्तविकताप्रतिको भोक बढ्दै जान्छ।

‘क्याफेमा पुस्तकमार्फत हामीले मान्छेको ज्ञानको दायरा विस्तारित गर्न खोजेका हौँ,’ कार्की भन्छन्, ‘ज्ञानको मुख्य माध्यम पढ्नु हो। हाम्रो यो प्रयासलाई यहाँका युवादेखि वृद्धसम्मले साथ दिएका छन्।’

चिया चौतारीमा युवावस्थाका २० वर्षका युवक÷युवती देखि ८० वर्षका वृद्ध पनि पुग्छन्। ज्ञान आर्जनको कुनै सीमितता नहुने भने जस्तै चिया चौतारीमा पुग्नेहरूको कुनै उमेर समूह वा सीमितता छैन। कलेजकै पोसाकमा हातमा साहित्यिक पुस्तक लिएर पढिरहेका युवायुवती भेटिन्छन् यहाँ। र, भेटिन्छन् गाउँको चौतारीमा बसेर भलाकुसारी गर्ने वृद्ध उमेर समूहका बा आमाहरू पनि।

चिया चौतारीमा आएर पुस्तक पढ्नेहरूको उमेर समूह निर्धारित वा निश्चित छैन। जुन सुकै समुदाय, जुनसुकै वर्ग, जुनसुकै उमेर समूहका मानिसहरू यहाँ पुस्तकमा रमाई रहेका भेटिन्छन्। चियाको चुस्कीसँगै बहस गरिरहेका भेटिन्छन्।

उमेर अनुसार पुस्तक पढ्नेहरूको रुचि भने अलग अलग छ।

व्यवस्थापनले ८० जना बसेर एकै पटक चिया पिउन मिल्ने ठाउँ र १५ जना एकै पटक बसेर पढ्न मिल्ने पुस्तकालय निर्माण गरेको छ। पुस्तकालय भित्र युवायुवती सकारात्मक सोच विकास गर्ने, व्यावसायिक सफलता हासिल गर्ने वा कुनै अङ्ग्रेजी उपन्यासमा रमाइरहेका भेटिन्छन्। अलि उमेर खाएकाहरू भने नेपाली साहित्य र राजनीतिसँग सम्बन्धित पुस्तकमा घोत्लिइरहेका हुन्छन्। 

‘२५ वर्ष भन्दा तलका नयाँ पुस्ताले अङ्ग्रेजी पुस्तकहरू रुचाएका छन्, उनीहरू सकारात्मक सोच, व्यावसायिक सफलता सम्बन्धी पुस्तकमा केन्द्रित रहेको पाइन्छ’ उनी थप्छन्, ‘तर, नयाँ पुस्तामा सामाजिक, राजनीतिक विषयका पुस्तकप्रतिको रुचि निकै कम देखिन्छ। विश्व साहित्यमा भने उनीहरूको रुचि छ।’

गैर साहित्यिक पुस्तकमा भने उमेर र व्यक्तिअनुसार फरक फरक रुचि देख्ने गरेका छन् कार्कीले। किताब किन्ने विषयमा अङ्ग्रेजीमा जोड दिने युवा पुस्ता धेरै छन्। पाको उमेरका मानिसमा भने नेपाली पुस्तक, त्यसमा पनि धेरैले राजनीतिक विषयवस्तुमा आधारित पुस्तकहरू किन्ने गरेका छन्।

झन्डै ८० लाख लगानीमा सुरु गरिएको व्यवसायले कोरोना महामारीसँग जुध्दै  आफ्नो यात्रा तय गरिरहेको छ। आर्थिक फाइदा बेफाइदा भन्दा बढी सामाजिक योगदानको विषयमा ध्यान दिने गर्छ सञ्चालक समूह।

‘हाम्रो मुख्य ध्यान ज्ञान उत्पादनमा हो,’ कार्की भन्छन्, ‘हाम्रोमा आउने ग्राहकहरूको चाप र उहाँहरू समावेश हुने गतिविधि, समाजमा हाम्रो बारेमा हुने कुराकानी सुन्दा हामी सफल छौँ भन्ने लाग्छ। यहाँ युवादेखि वृद्ध आएर बहस गर्नु, पुस्तक पढ्नु र कुनै विषयमा छलफल,विचार विश्लेषण गर्नु पनि हाम्रो सफलता हो। यही उद्देश्यको लागि त चिया चौतारी खोलिएको थियो।’

१६ भदौ, २०७८, १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।