रोजगार र लगानी बढाउन सूचना प्रविधि केन्द्रित बजेट : अर्थमन्त्री पुन

रोजगार र लगानी बढाउन सूचना प्रविधि केन्द्रित बजेट : अर्थमन्त्री पुन

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा सूचना प्रविधिलाई जोड दिने नीति तथा कार्यक्रम राख्ने बताएका छन्। उनले सूचना प्रविधि क्षेत्रमा फोकस हुँदा रोजगारी र लगानी दुवै बढ्ने देखिएको उनले बताए।

‘हाम्रो भू–अवस्थितिअनुसार सूचना प्रविधि क्षेत्रमा फोकस हुँदा त्यसबाट ठुलो सङ्ख्यामा रोजगारी सृजना हुने र लगानी आउने सम्भावना बढी हुन्छ भन्ने लागेको छ’, मन्त्री पुनले भने, ‘बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने सोच बनाएका छौँ।’

बजेटमा ऊर्जा, पर्यटन, कृषि, ठुला र मझौला पूर्वाधार क्षेत्रलाई बजेटमा प्राथमिकता दिइने उनको भनाइ थियो।

बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मङ्गलवार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए।

त्यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको उनको भनाइ थियो । ‘सरकार र नियामक भनेकै राज्य हो। राज्यको उद्देश्य र नीति एउटै हुन्छ’, उनले भने, ‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ।’

मन्त्री पुनले गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायमान हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको बताए। पुनले संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चित उद्देश्य प्राप्तिका लागि सहकार्य गरिने उल्लेख गरे।

‘सबैको जोड संविधानले निर्दिष्ट गरेको आर्थिक नीतिभित्र बसेर निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने, सहजीकरण गर्ने र मनोबल उठाउने गरी काम गर्ने हो’, उनले भने, ‘त्यसका लागि सरोकारवालाहरुबीचमा छलफल र परामर्श भइरहेको छ।'

उनले अर्थतन्त्रमा राम्रो गरिरहेका नीतिले निरन्तरता पाउने बताए। उनले राज्य निजी क्षेत्रको अभिभावक भएकाले निर्धक्कसँग आफ्ना कुरा राख्न निजी क्षेत्रलाई आग्रह गरेका थिए। 

२५ बैशाख, २०८१, २३:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।