जसपाको फोहरी सत्ता खेल : दिउँसो अविश्वास प्रस्तावमा हस्ताक्षर, अपराह्न मन्त्रीको सपथ

जसपाको फोहरी सत्ता खेल : दिउँसो अविश्वास प्रस्तावमा हस्ताक्षर, अपराह्न मन्त्रीको सपथ

बुटवल : सत्ता परिवर्तनका लागि सुरु भएको खेलमा अनौठा राजनीतिक दृश्य देखिने क्रमलाई निरन्तरता दिए लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका तीन सांसदले। लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेललाई हटाउन दर्ता भएको अविश्वास प्रस्तावमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका पाँचमध्ये चार जना सांसदले हस्ताक्षर गरेका थिए।

सरकार बदल्न चाहिने ४३ जनाको स्थानमा ४१ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएपछि पोखरेलले नयाँ राजनीतिक चाल चल्दै जसपाका नेताहरूलाई मन्त्रीको अफर गरे। र अविश्वास प्रस्तावको प्रक्रिया अगाडि अगाडि बढ्नु अगाडि नै अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका पाँच मध्ये तीन सांसद मन्त्री नियुक्त हुँदै शपथ समेत खाए।

माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गर्दै सोमबार दिउसो नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ मध्ये पाँच सांसदले हस्ताक्षर गरेका थिए।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल र कानुन मन्त्री कुलप्रसाद केसीले पदबाट राजीनामा दिएसँगै नयाँ खेल सुरु भयो। पोखरेलले जसपाका सांसदहरूसँग छलफल अगाडि बढाएका थिए। छलफलपछि तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री दिन पोखरेल राजी भए। राजपाका सांसदहरू पोखरेलको प्रस्तावप्रति सकारात्मक हुँदै शपथका लागि राजी भए। 

एमाले र जसपाका सांसदबिच सहमति भएपछि जसपाका सन्तोष पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरे। प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई मन्त्रीको शपथ खुवाए। सन्तोष भौतिक पूर्वाधार, विजय भूमि व्यवस्था तथा कृषि, कल्पना शिक्षा तथा सामाजिक विकास मन्त्रालयको शपथ लिए। रायमाझी भने राज्यमन्त्री हुन्। राज्यमन्त्रीलाई मुख्यमन्त्रीले शपथ ग्रहण गराए। 

अविश्वास प्रस्ताव अलपत्र

लुम्बिनी प्रदेश ८७ सदस्यीय हो। माओवादी केन्द्रले दुई सांसदलाई कारबाही गरेपछि अहिले ८५ सदस्यीय छ।  प्रदेशमा एमालेका ४१, नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन्।

अविश्वास प्रस्ताव पारित गर्न ४३ सांसदको साथ चाहिन्छ। जनता समाजवादीका ६ मध्ये चार जना मुख्यमन्त्री पोखरेलको पक्षमा लाग्दा अविश्वास प्रस्ताव पारित हुने सम्भावना कम भएको छ। 

सो अविश्वास प्रस्तावको भविष्य नेकपा एमाले माधव नेपाल समूहको हातमा पुगेको छ। उनीहरूले कर्णालीमा झैँ फ्लोर क्रस गर्ने काँग्रेस र माओवादीको आस छ। लुम्बिनीमा माधव समूहको सांसदहरू खुलिसकेका छैनन्।

के होला गण्डकीमा !

गण्डकी प्रदेशमा समेत जसपाको साथको आसमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। अविश्वास प्रस्तावमा काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ सांसदको हस्ताक्षर गरेका थिए। अविश्वास प्रस्तावमा मतदान हुँदा राष्ट्रिय जनमोर्चाका सांसदले समेत साथ दिने काँग्रेस र माओवादी केन्द्रको आस देखिन्छ। तर लुम्बिनीमा जसपाका सांसदहरूले खेलेको राजनीतिक खेलले गण्डकीको सत्ता खेलमा समेत प्रभाव पार्ने देखिन्छ।

६ बैशाख, २०७८, १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।