पूर्वमन्त्री आलमका भाइ पुपक्षका लागि कारागार चलान

पूर्वमन्त्री आलमका भाइ पुपक्षका लागि कारागार चलान

काठमाडौं : रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा पक्राउ परेका पूर्व मन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका कारागार चलान भएका छन्।
 

महताबलाई रौतहट जिल्ला अदालतले आइतबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

भारतमा लुकेर बसेको अवस्थामा प्रदेश– २ प्रहरी कार्यालयले उनलाई पक्राउ गरेर नेपाल ल्याएको थियो। उनले प्रारम्भिक अनुसन्धानमा दाइ मोहम्मद अफताब आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएकालाई इँटा भट्टामा जलाइएको स्वीकार गरेका थिए।

गत चैत देखि फरार रहेका उनलाई प्रहरीले मंसिर २३ गते राति भारतको मोतीहारीबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको थियो। 

पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो।

पूर्वमन्त्री आलम र उनका भाइ महताबलगायत ११ जनामाथि उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंहर ओसी अख्तरलाई इटा भट्टामा जिउँदै जलाइएको आरोप छ। मुख्य आरोपित आलम पुर्पक्षका लागि काठमाडौंको नक्खु कारागारमा छन्। 
 

२८ मंसिर, २०७७, १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।