विवाहपञ्चमी : न जन्ती आउने, न भीडभाड गर्न पाउने

विवाहपञ्चमी : न जन्ती आउने, न भीडभाड गर्न पाउने
फाइल तस्विर

प्रत्येक वर्ष भगवान राम र सीताको विवाह भएको स्मरणगर्दै मनाइँदै आइएको विवाहपञ्चमी महोत्सवमा यस पटक जन्ती नआउने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए। 

आन्तरिक विधि गररे मात्र महोत्सव मनाइने जानकारी गराउँदै कोरोना भाइरसका कारण स्थानीय प्रशासनले भीडभाड नगर्न आदेश दिएकाको उनले जानकारी दिए। 

कोरोना भाइरसको संक्रमणबाट जोगिन बन्द गरिएको नेपाल–भारत सीमा अहिलेसम्म खुल्न सकेको छैन्। जसका कारण भारतीय श्रद्धालु आउने सम्भावना पनि न्यून छ। 

‘जन्ती आउने सम्बन्धमा यसअघिका वर्षहरूमा पहिला नै भारतबाट जानकारी पठाउने गरिन्थ्यो’, उनले भने, ‘तर यस पटक भारतको अयोध्याबाट जन्ती आउने-नआउने विषयमा शुक्रबार सम्म कुनै खबर आएको छैन।’

कोरोना भाइरसका कारण प्रशासनले भींडभाड नगर्न रोक लगाएको भन्दै यस पटक विवाहपञ्चमीको अवसरमा कुनै उत्सव आयोजना नगरिएको उनले बताए। 

विधि पुर्याउने काम मात्रै हुने भन्दै सीमा बन्द भएका कारण यस पटक भारतबाट जन्ती आउने सम्भावना पनि नरहेको उनले सुनाए। तर, आन्तरिक विधि गरेर विवाहपञ्चमी मनाउनका लागि यस पटक पनि सप्ताहव्यापी कार्यक्रम गरिदैंछ।

जसअन्तर्गत मंसिर २९ गते जनकपुरधाम नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह ५ गते रामकलेबा विधि गरी महोत्सव समापन हुनेछ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बर्षाैदेखि चल्दै आएको परम्परालाई सीमित रुपमा मनाइने बताए। भीडभाड हुने कुनै विशेष गतिविधि नगर्ने उनको भनाई छ।

कोरोना भाइरसका कारण राम नवमी, जानकी नवमीसहितका उत्सवहरू पनि खल्लो नै बने। आन्तरिक पूजापाठवाहेक कुनै पनि गतिविधि गरिएको थिएन।

कोरोनाका कारण सरकारले गरेको लकडाउन अवधिभर मन्दिरमा पूजापाठ गर्नबाटसमेत सर्वसधारण बञ्चित भएका थिए।
 

२६ मंसिर, २०७७, १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।