लमजुङमा जिप दुर्घटना, १ को मृत्यु, ११ घाइते 

लमजुङमा जिप दुर्घटना, १ को मृत्यु, ११ घाइते 

लमजुङ : लमजुङमा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार दोर्दी गाउँपालिका–४, सिख्रेभिर नजिकै किसेदी खोलामा सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५, पाचोक जाँदै गरेको ग१ज ७१२७ नम्बरको जिप मंगलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको मृत्यु भएको हो। 

कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। गुरुङको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको उनले बताए। 

घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ।

रातिको समयमा साँघुरो र अप्ठ्यारो सडकका कारण दुर्घटना भएको प्रहरी निरीक्षक पुनको भनाइ छ। उनका अनुसार जिप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको थियो।

३ मंसिर, २०७७, ०८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।