‘कोरोना महामारीको चुनौतीबीच सेवा दिइरहेकी छु’

‘कोरोना महामारीको चुनौतीबीच सेवा दिइरहेकी छु’

रञ्जना पाण्डे अमेरिकामा रजिस्टर्ड नर्सको रूपमा कार्यरत छिन्। काठमाडौं विश्वविद्यालयबाट नर्सिङ संकायमा स्नातक गरेकी पाण्डे नेपालमा रहँदा शहिद गंगालाल अस्पतालको सर्जिकल वार्डमा सिनियर नर्सको रूपमा कार्यरत थिइन्। कोरोना महामारीमा फ्रन्टलाइनमा सक्रियतापूर्वक लागिपरेकी नर्स पाण्डेसँग उकेराकर्मी अनुस्का थापाले गरेको कुराकानी :  

कसरी सुरु भयो नर्सिङ यात्रा ?

सन् २००५ मा काठमाडौं विश्वविद्यालयबाट पिसिएल नर्सिङको पढाई सुरु भएसँगै मेरो नर्सिङ यात्रा सुरु भयो। सन् २००८ मा पिसिएलको पढाई सकियो। सन् २००९ देखि २०११ सम्म धुलिखेल अस्पतालमा ओटी स्कर्ब नर्सको रूपमा काम गरें।  

काठमाडौं विश्वविद्यालयबाट ब्याचलर ईन नर्सिङ साइन्सको पहिलो ब्याचमा भर्ना भएको थिएँ। र, सन् २०१४ मा पासआउट भएँ। त्यसपछि नेपालगन्जमा अमेरिकी सरकारको लगानीमा संचालित हेलेन केलर्स इन्टरनेसनलको प्रोजेक्टमा एक क्लिनिकल नर्सको रूपमा पाँच महिना काम गरें।

त्यसपछि नेपाल ओर्थोपेडिक अस्पतालमा स्क्रब नर्स भएर काम गरें। पछि गंगालाल अस्पतालमा छनोटमा परेपछि तीन बर्ष कार्डियाक पोस्ट अप वार्डमा बिताएँ। 

यसबीचमा एनसीएलएक्समार्फत अमेरिका जान सकिनेबारे जानकारी पाएँ।

मैले नर्सिङ पढेर विदेश जाने सोच बनाएको थिइनँ। तर, अवसरबारे सुनेपछि सन् २०१८ मा परीक्षा दिएँ। छनोटमा परेपछि २०१९ देखि संयुक्त राज्य अमेरिकामा रहेर सेवा दिइरहेको छु।

किन अमेरिकालाई नै कर्मथलो बनाउन चाहनुभयो ?

एनसीएलएक्समार्फत अमेरिका जान सकिनेबारे जानकारी पाएपछि बुझ्न मन लाग्यो। म आफ्ना अभिाभावकलाई दुःख दिन चाहन्नथेँ। आफै निर्भर हुने बाटो रोज्दा अमेरिका नै मेरो कर्मथलो बन्न पुग्यो।

नर्सिङ पेसालाई अमेरिकामा कसरी हेरिन्छ ? 

नेपाल र अमेरिकामा धेरै फरक पाएँ। नेपालमा नर्स भनेको बिरामीको हेरचाह गर्ने मात्र भन्ने छ। व्यवस्थित हुन सकेको छैन। अमेरिकामा सबै कुराको प्रोटोकल छ। तालिम प्रदान गरिन्छ। अपडेट गरिन्छ। एकदमै प्रविधिमैत्री अस्पताल छन्। सबै कोठामा आवश्यक सबै कुरा तयारी अवस्थामा राखिन्छ। 

नेपालमा आफै गर्ने काम बढी हुन्छ भने यता प्रविधिको उपयोग बढी हुन्छ। यसले बिरामीको देखभालमा समस्या आउने अवस्था रहँदैन। बिरामीलाई केस म्यानेजर, नर्स, शिक्षाविद्, फिजियोथेरापिस्ट, सामाजिक कार्यकर्ता  उपलब्ध हुन्छन्, जुन नेपालमा अपुग छ। काममा भेदभाव छैन। नियम कानुन पालना, समय र पारिश्रमिकको एकदमै सम्मान गरिन्छ। भावनात्मक रूपमा काम गर्न नसक्ने अवस्थामा बिदा लिनसक्ने व्यवस्था छ। यसलाई अमेरिकामा एकदमै राम्रो मानिन्छ। नेपालमा प्रविधि, पद, सुविधा लगायत धेरै कुराको कमी देखिन्छ।

नेपालको नर्स पेसालाई विकासका लागि के गर्नु आवश्यक छ ?

पहिलो त एकदमै खुट्टा तान्ने प्रवृत्ति छ। एक्स्ट्रा काम गर्न निरुत्साहित गर्ने चलन छ। काम गर्न पछि पर्न भएन। नेपालमा नर्सलाई उत्साहित गर्ने पक्षको प्रमोसनको सुविधा छैन। क्षमता अनुसारको काम र जिम्मेवारी बाँडफाँड हुँदैन। नियम पालनाको पक्ष पनि कमजोर छ।

अमेरिकामा व्यावहारिक पक्षलाई एकदमै ध्यान दिइन्छ। बिरामी हेरचाहमा एकदमै फोकस गरिन्छ। नेपालमा डिग्रीसम्म नर्सिङ पढाई हुन्छ। तर, पढाई र क्षमताको व्यावहारिक कार्यान्वयन हुन पाउँदैन।

नेपालमा यो पेसालाई राम्रा बनाउन तल्लो तहबाट नै व्यवस्थित गर्नुपर्ने आवश्यकता छ। दक्षता र तर्कसंगत सोचको विकास हुन आवश्यक छ। आफ्नो क्षमतालाई आफै बढाउँदै लैजानुपर्छ।

अमेरिका र नेपालमा नर्सलाई गरिने व्यवहारमा के फरक देख्नुहुन्छ ?  

नर्सहरूलाई अमेरिकामा धेरै आदर गरिन्छ। बिरामीको हेरचाहमा नर्सको धारणाले धेरै अर्थ राख्छ। सबै स्वास्थ्य हेरचाहको सेवा केन्द्र मानिन्छ नर्सलाई। 

नेपालमा नर्सलाई आदर गरेको पाइँदैन। अमेरिकामा नर्सहरूको लागि बिरामीको निर्णय लिन धेरै अधिकार दिइएको हुन्छ। 

अमेरिकामा बिरामीको उपचारका क्रममा नर्सको संलग्नतालाई धेरै महत्त्वपूर्ण मानिन्छ। डाक्टरहरूले नर्सको उपस्थिति र सल्लाहबिना उपचारलाई अगाडि बढाउँदैनन्। 

नेपालबाट नर्सिङ पढेर विदेशलाई गन्तव्य बनाउन चाहनेहरू धेरै छन्। उनीहरूलाई के सल्लाह दिनुहुन्छ ?

विदेश नै जाने सोचचाहिँ राख्नु हुँदैन। पैसा मात्र कमाउने भन्दा पनि सहयोग गर्ने सोच राखेर अगाडि बढ्नुस्। पहिलो त नेपालमा काम गरेर नेपालको अनुभव लिन आवश्यक छ। 

नेपालमा काम गर्ने अवस्थाको तुलना गर्न गाह्रो छ। तर, नेपालमा कामै नगरी विदेशको अनुभव लिन्छु भन्ने सोच राख्नु हुँदैन। दुवै तर्फको अनुभवले करियर र सफलतालाई अगाडि बढाउन मद्दत गर्छ। 

कोरोना महामारीबीच फ्रन्टलाइनमा रहेर काम गर्नुपर्दाको अनुभव कस्तो रह्यो ?

सुरुमा संक्रमित बढेपछि काम गर्न असहज अवस्था थियो। नयाँ रोगबाट कसरी बचेर काम गर्ने भन्ने कुरामा नै समस्या भयो। त्यसपछि अस्पतालमा ‘कोभिड फ्लोर’ भनेर नर्सहरूदेखि स्वास्थ्यकर्र्मीका लागि छुट्याइयो। 

सुरुवाती चरणमा नै एन ९५ मास्क अभावले मास्कलाई र्निमलीकरण गरेर संक्रमणरहित बनाएर प्रयोग गर्नुपरेको थियो। पिपिइका राम्रो व्यवस्था नहुँदा बिरामी हेरचाहमा निकै समस्या पर्यो। सामान्य दिनहरूमा हप्ताको तीन दिन मात्र काम गर्नुपथ्र्यो। बिरामी बढ्दै जान थालेपछि हप्तामा पाँच दिनसम्म पनि काम गर्नुपर्ने अवस्था आयो। स्वास्थ्यकर्र्मीहरूको अभाव हुन थाल्यो। यसपछि ‘ट्राभल नर्स’हरूलाई पनि बिरामीहरूको हेरचाहमा खटाउन थालियो।

आइसियुमा रहेका गम्भीर प्रकृतिका बिरामीलाई पनि व्यवस्थापन गर्ने प्रणालीको सुरुवात भयो। प्रशिक्षण दिएर नर्सहरूको स्तरवृद्धि गरियो। रोग नियन्त्रण केन्द्रको मापदण्ड पालना गर्दै काममा खटियौं।

खाना–खाजा खान पनि १२ घण्टासम्म पर्खनुपर्ने अवस्था आएको थियो। अहिले त संक्रमितको संख्यामा कमी आएको छ। अवस्था सामान्य हुँदै गएको छ।

कोरोना संक्रमितको उपचारमा कस्ता चुनौती सामना गर्नुपर्यो ?

बिरामी धेरै बढेपछि मार्चदेखि अगस्ट महिनासम्म धेरै गाह्रो पर्यो। पिपिइको अभावदेखि वर्कलोडसम्मको समस्या आयो। गाउनको पनि अभाव त्यस्तै थियो। साथीहरू पनि संक्रमणमा पर्दै थिए। कामको प्रेसर एकदमै पथ्र्यो। कोरोनाको कारण धेरैले ज्यान गुमाए। 

अन्य बिरामीहरु अस्पतालसम्म आउने अवस्था भएन। बिरामीका आफन्तले आफ्ना मान्छे देख्न समेत पाउँदैनथे। कोरोनाका कारण शारीरिक, भावनात्मक, सामाजिक र आर्थिक दबाब बढायो।

नेपालमा बिरामीलाई हेला गरेको समाचार सुनिन्थ्यो। यहाँ भने रोग लागेकाको धेरै ख्याल गर्ने र माया दर्साउनेहरु बढी हुन्छन्। अहिले संक्रमणको दर कम भइरहेको छ। चुनौतीबीच सेवामा लागिरहेको छु।
 

२७ कात्तिक, २०७७, ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।