राष्ट्रपति उम्मेदवार टुङ्ग्याउन चार दलको बैठक अगाडि ओली-प्रचण्ड छलफलमा

राष्ट्रपति उम्मेदवार टुङ्ग्याउन चार दलको बैठक अगाडि ओली-प्रचण्ड छलफलमा

काठमाडौँ : राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार चयनमा माओवादी केन्द्रले कांग्रेससहितको दलहरूसँग छलफल गरिरहेको बेला शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै नेताबिच छलफल भइरहेको छ। पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीको दाबी छ। उता प्रचण्ड भने पछिल्लो समय राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति छान्ने भन्दै एमाले बाहेकका दलहरूसँग घनिभूत छलफलमा छन्।

निर्वाचनताकाको चार दलको गठबन्धन ब्युँझाएर राष्ट्रपतिमा नेपाली कांग्रेस वा एकीकृत समाजवादीबाट उम्मेदवार बनाउनेबारे उनीहरूबिच छलफल चलिरहेको छ। माओवादी र जनता समाजवादी पार्टीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अगाडि सारेका छन्।

कांग्रेसले उम्मेदवारको नाम तय गरिसकेको छैन। तर आफ्नो दलले उठाउने उम्मेदवारलाई राष्ट्रपतिमा मतदान गर्ने र सरकारमा सहभागिताबारे आलोपालोमा जान कांग्रेसले प्रस्ताव राखिरहेको छ। शुक्रवार चार दलको बैठक बसे पनि सहमति हुने गरी निर्णय भएन। शुक्रवार बेलुका पुन बैठक बस्ने गरी दिउसको बैठक सकिएको थियो।

यहीबिचमा प्रचण्ड र ओलीबिच छलफल भएको हो। प्रतिनिधि सभाबाट बाहिरिनेक्रममा ओलीले राष्ट्रपति एमालेको हुने दाबी गर्दै अन्य दलहरूबिच भइरहेको छलफल र बैठकबारे जानकारी नभएको दाबी गरेका थिए।

१२ फागुन, २०७९, १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।