‘माओवादी अनपपुलर भो, एकीकृत समाजवादीको मत ५० प्रतिशत घट्छ’

‘माओवादी अनपपुलर भो, एकीकृत समाजवादीको मत ५० प्रतिशत घट्छ’

काठमाडौं : भएको पार्टी र पाएको बहुमत जोगाउन नसक्दा सरकारबाट प्रतिपक्षमा झरेको एमाले पुनः निर्वाचनमार्फत सरकारमा फर्किने उत्कर्षमा छ।

स्थानीय तहमा पाएको मतमा ६ प्रतिशत मत थप गर्न सके पार्टीले बहुमतको सरकार बनाउने एमाले नेताहरूले बताउँदै आएका छन्।

यद्यपि ६ प्रतिशत मात्र नभएर १६ प्रतिशत मत बढाउने एमालेको लक्ष्य छ। यसै सन्दर्भमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग उकेराले गरेको संक्षिप्त कुराकानी। 

एमालेले मत त बढाउने भन्यो तर कसरी?
हाम्रो पार्टी सदस्य ८ लाख ५५ हजार ४५३ पार्टी सदस्यमध्ये रेकर्ड अनुसार ५२ हजार ५५० दोहोरिएका रहेछन्। त्यो हिसाबले अहिले हामीसँग ८ लाख तीन हजार पार्टी सदस्य छन्। एक पार्टी सदस्यले २ नयाँ भोट ल्याउन सकियो भने १६ लाख भोट हुन्छ।

अहिले १ जनाले ५ भोट ल्याएका छन्। त्यसमा १ जनाले २ भोट नयाँ थप्नपर्यो। १ करोड मतदातामा मात्र हिसाब गर्ने हो भने त्यो १६ प्रतिशत हुन्छ। यसअघि स्थानीय निर्वाचनमा हामीले ३४ प्रतिशत मत ल्याएका छौं।

चुनावको परिणाम विश्लेषण गर्ने विज्ञहरूले एमालेले अहिले प्राप्त गरेको सिटमा कम्तिमा ६ प्रतिशत बढाउन सके बहुमत आउँछ भनेका छन्। अहिले त हामी १६ प्रतिशत बढाउने भनेर बसिरहेका छौं। यस हिसाबबाट पनि ५० प्रतिशत भन्दा बढी मत अर्थात् एमालेको सजिलै बहुमत आउँछ।

बहुमतको लागि रणनीति पनि बनाउनुपर्ला,  पाँच दल एक भएर लड्दैछन्, कतिको सहज ठान्नुहुन्छ ? 
चुनाव लड्ने विचारले हो। पाँच दल मिलेको जस्तो देखिए पनि उनीहरू नीति, विचार र कार्यक्रमले दुविधामा छन्।

एकरूपता र एकता छैन। हाम्रो पार्टीमा वैचारिक एकरूपता छ। गठबन्धन एक भएर लागे पनि हामीलाई डिस्टर्ब गर्ने छैन। हामीले जति सोच्यौं त्यसलाई बढाएर अघि बढ्छौं। 

गठबन्धनका एउटा नेता उत्तर धुर्व अर्को नेता बाहिरी कोणतिर फर्केका हुनसक्छन्। उनीहरूको शक्ति छिन्नभिन्न भएको अवस्था छ। हाम्रो जतिको शक्तिमा एकरूपता उनीहरूमा छैन। माओवादी झन् अनपपुलर हुँदै गयो।

स्थानीय तहमा ल्याएको मतको पनि ५० प्रतिशत मत घट्छ होला एकीकृत समाजवादीको। उसलाई मत दिनुपर्ने कुनै कारण छैन जनताले। त्यसकारण हामी चुनाव जित्छौं। 

एमालेलाई मत दिनुपर्ने कारण चाहिँ के छ?
चुच्चे नक्सा पहिलो पटक इतिहासमा हाम्रो नेतृत्वका सरकारले सार्वजनिक गर्यो। ५८–६० वर्षदेखि भारतले मिचेको भू–भागलाई हामीले प्रमाणको आधारमा हिम्मत निकालेर राष्ट्रिय सहमति गरेर नक्सा प्रकाशन गरेका हौं।

राष्ट्रिय स्वभिमानको मुख्य पहरेदार, देशलाई माया गर्नेलाई एमालेको खाँचो छ। अरुलाई देशको माया छैन। एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान ल्यायो। त्यसमा ठूल्ठूला भौतिक संरचनाहरू सिँचाइका मेगा प्रोजेक्ट, खानेपानीको मेगा प्रोजेक्टहरू, दुई वटा अन्तराष्ट्रिय विमानस्थल हाम्रै पालामा बनेको हो।

रेलमार्ग पूर्व–पश्चिम रेलमार्ग। मुग्लिङदेखि पोखराको ६ लेनको बाटो बन्ने लगायतका कामले पनि विकास र सुशासनको अभियान सुरु गरेको पार्टी एमाले भएको दुविधा छैन। पार्टी विभाजन भएकाले बीचमा सरकारले काम गर्न पाएन। सुरु गरेका राम्रा कामहरू अधुरो भएकाले त्यसको पूर्णता दिनको लागि पनि एमाले सरकार आवश्यक छ।

भावी प्रधानमन्त्रीको रूपमा पार्टी अध्यक्ष केपी ओलीलाई अघि सारिएको छ। मंसिर ४ पछि उहाँ प्रधानमन्त्री बन्नुहुन्छ ? 
हजुर। हाम्रो योजना र रणनीति त्यही हो।

संसदमा कति सिट जित्ने अनुमान छ?
त्यस्तो अनुमान केही छैैन। हाम्रो रणनीतिले बहुमत आउँछ।

ओलीलाइ प्रधानमन्त्री बनाउने भनेर लाग्नुभएको छ, चुनौती के–के देख्नुहुन्छ?
चुनौती सत्ता हो, सत्ता छ उनीहरूसँग। अनेक धाँधली गर्नसक्छ। षडयन्त्र जालझेल गर्नसक्छ। राज्य संयन्त्रको दुरुपयोग गर्नसक्छ। प्रहरी प्रशासन सुरक्षामा उनीहरूको आफ्नो प्राथमिकता हुनसक्छ। दलाल पुँजीपतिहरूको कालोधन निर्वाचनमा ज्यादै खर्च हुन्छ। यी चुनौतीहरूलाई सामना गर्ने शक्ति हामीसँग छ।

उसो भए एमाले सरकारमा रहेर निर्वाचन गराउँदा पनि त्यस्तै भएको थियो ? 
होइन। 

अर्को पक्ष सत्तामा भयो भनेर आरोप लगाउन पाइन्छ? 
स्थानीय तहमा भोगियो नि! भोगेर भनेको हो। पूर्वाग्रहले भनेको होइन।

१३ भदौ, २०७९, १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।