ओलीलाई तितो पोखेरै एक वर्ष बिताए माधव-झलनाथले

ओलीलाई तितो पोखेरै एक वर्ष बिताए माधव-झलनाथले

काठमाडौँ : एमाले छाडेर एकीकृत समाजवादी गठन गरेसँगै माधव नेपाल अनि झलनाथ खनाल लगायतका नेताहरूले दाबी गरेका थिए' अब कम्युनिस्ट पार्टीहरूको मूलधारको नेतृत्व हामीले नै गर्ने हो।'

पार्टीकी युवा नेतृ रामकुमारी झाँक्रीले हौसिँदै भनेकी थिइन्' निर्वाचनमा एमालेभन्दा एक सिट भए पनि बढी नै ल्याउँछौँ।'

बिहीबार यही पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएको एक वर्ष पुग्यो।

यो एक वर्षमा एकीकृत समाजवादीको उपलब्धिमा न नेपाल र खनाल लगायतका नेताहरूले दाबी गरेझैँ पार्टी कम्युनिस्टको केन्द्र नै बन्न सक्यो न झाँक्रीले गरेको दाबी झैँ स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी एमालेभन्दा एक सिटले अगाडि भयो। दुवै दाबी असफल भए।

एक वर्षको अवधिमा एकीकृत समाजवादी न वैचारिक रूपमा प्रस्ट हुन सक्यो न सङ्गठनै बढाउन सके। एमालेबाट चोइटिएको सङ्गठनको आकार त्यस्तै नै रह्यो।

एकीकृत समाजवादीको गठनको तत्कालीन उद्देश्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने थियो। अहिले पनि लक्ष्य उही छ।

जसरी एमाले अध्यक्ष केपी ओलीको सरकार ढाल्न पाँच दल एक ठाउँ भएका थिए अहिले पनि त्यसरी नै मङ्सिर ४ को संसदीय निर्वाचनपछि उनै देउवाको नेतृत्वमा सरकार बनाउन पाँच दलीय गठबन्धन बनेको छ।

मतदातासमक्ष मत माग्न जाने अजेण्डा केपी ओलीलाई गाली गर्ने बाहेक अन्य देखिएको छैन अझै।

उनीहरूले एक वर्ष ‘केपी ओली प्रवृत्ति विरुद्धको विद्रोह’, ‘केपी ओली एन्ड कम्पनी’, ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पारेका केपी ओली’, ‘बा प्रवृत्ति’, ‘ओली कम्पनी’, 'प्रतिगमनका मतियार' भनेरै बिताए।

जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त अस्वीकार गर्दै अबको यात्रा समाजवाद भएको बताए पनि एक वर्ष प्रशिक्षणलाई तीव्र बनाउन सकेनन्।

उनीहरू एमालेका मतदातालाई आफूहरू किन एमाले छाडेर नयाँ पार्टी गठनका लागि बाध्य भएको भन्ने बुझाउनै बढी केन्द्रित भए। प्रस्टीकरणमा सैद्धान्तिक तर्क भन्दा कुण्ठा बढी थियो।

पार्टी अध्यक्ष माधव नेपाल हुन् या सम्मानित नेता झलनाथ खनाल या युवा नेताहरू नै हुन्, उनीहरू जहाँ भाषण गर्न गए त्यहाँ सैद्धान्तिक र व्यवहारिक रूपमा आफ्नो पार्टी कसरी भिन्न भन्नेतिर लागेनन्। एमाले नेतृत्वको आलोचनामै केन्द्रित भए।

२०५१ मा मनमोहन अधिकारीको ९ महिने सरकारमा गरेका कामलाई नै हाइलाइट गरे उनीहरूले पनि। एमालेले सो अजेण्डा छाड्ने कुरै भएन।

नेता पुरानै भए पनि एकीकृत समाजवादी नयाँ दल हो। यसको निर्वाचन चिन्ह अझैँ आम मतदातामाझ भिज्न सकेको छैन।  तर एकीकृत समाजवादीका नेतृत्वमा पार्टीको कमजोरी भन्दा गठबन्धनमा रहेर पाएको उपलब्धिमा बढी दम्भ देखियो।

एक वर्ष ओलीलाई गाली गरेरै बिताउनु भयो नि भन्ने जिज्ञासामा पार्टी अध्यक्ष नेपालले भने ‘कहाँ तपाईँलाई मैले ओलीका कुरा मात्र सुनाएको छु, विश्व क्रान्तिका कुरा पनि गरेको छु। नर्वे क्रान्तिका कुरा गरेको छु। रसिया क्रान्तिको कुरा गरेको छु।’

पार्टी दर्ताको एक वर्ष पुगेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पनि त्यही दृश्य देखियो।

‘हाम्रो पार्टी स्थापना भएको एक वर्ष मात्रै भयो। तर राष्ट्रिय राजनीतिमा हाम्रो छुट्टै हैसियत बनेको छ,’ नेपालले भने, ‘गठबन्धनमा पनि हाम्रो भूमिका महत्त्वपूर्ण छ।'

कम्युनिस्ट एकताबारे बोल्दाबोल्दै उनी एमाले अध्यक्ष केपी शर्मा ओलीतिर सोझिए'आगामी चुनावलाई लिएर सबैभन्दा धेरै त ओली गुट आत्तिएको छ’ उनले भने।

जबकि उनीहरूको सकस पनि कम छैन गठबन्धनमा आफ्नो पक्षमा धेरै सिट पार्न। ओलीले गुटको राजनीतिबारे आफू समयमै सचेत नभएकाले पार्टी छाड्नु परेको कमजोरी उनले स्वीकार गरे।

‘ओली गुट यो तहमा कसरी आयो ? के २०७७ पुस ५ गतेपछिको मात्र विश्लेषण गरेर पुग्छ ?  के २०७५ जेठ ३ गते भएको नेकपा एमाले र माओवादी एकताको सन्दर्भबाट सुरु गरेर पुग्छ ? २०७१ एमालेको नवौँ महाधिवेशन भए देखिको सन्दर्भले पुग्छ,’ उनले भने, ‘यसका निम्ति नेपालको राजनीतिमा खास गरी हाम्रो आन्दोलनमा केपीले कहिलेदेखि गुटबन्दीको सुरुवात गरे। त्यो गुटबन्दीका विरुद्धमा हामीले जुध्ने काम गर्यौ की गरेनौँ ? भन्नेसम्म पुग्नुपर्छ।'

एमालेमा होस् या पछि नेकपामा रहँदा होस् नेपालको सधैँ तारोमा पर्ने गरेको थियो मदन भण्डारी फाउन्डेसन। ओलीले फाउन्डेसन बनाएर पार्टीभित्र गुटको राजनीतिलाई प्रश्रय दिएको उनीहरूको पुरानै आरोप हो। जुन बिहीबार पनि दोहोरियो।

‘मदन भण्डारी फाउन्डेसन बनाएर समस्या खडा गर्दा खेरी त्यस विरुद्ध जुध्नुपर्ने काम गर्यौँ कि गरेनौँ? ती सबैको आत्मालोचना र विश्लेषण गर्नुपर्छ,’ नेपालले भने।

‘केपी ओलीलाई गाली गरेको होइन, उहाँले संविधान र त्यसका उपलब्धिलाई कुल्चनुभयो। कुल्चाइको आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने स्थिति आइपर्यो,’ पराजुलीले भने, ‘०१७ सालतिर राजा महेन्द्रले कु हुँदा कम्युनिस्ट पार्टीका नेताहरूले राजा र दरबारलाई सहयोग गरे। संविधान कुल्चिने विरुद्ध पार्टी भित्रै लड्नुपर्छ भनेको हो।’

उनले पहिल्यै सचेत नहुँदा आफूहरू पार्टीबाट बाहिरिनुपरेको गुनासो समेत गर्न भ्याए। ‘वास्तवमा त्यो गलत प्रवृत्तिका विरुद्धमा समयमै हामी सचेत हुन सकेनौँ' भन्दै उनले भने' असन्तुष्टलाई प्रयोग गरे पार्टीभित्र अलग–अलग समूह बनाउने स्थिति नै पार्टीको विभाजनको कारण बन्दो रहेछ।’

पालो आयो झलनाथ खनालको। उनको सम्बोधनका शब्दहरू फरक थिए तर आशय नेपालको भन्दा भिन्न थिएन। उनले कार्यक्रम अवधिभर एकीकृत समाजवादी गठनको कारण केपी ओली मात्र भएको भन्दै गाली गरिरहे। एमालेको ओली गुट दक्षिणपन्थी, अवसरवादी नीति, कार्यदक्षता र विचारविरुद्ध विद्रोह गरेको एक वर्ष भएको भने उनले।

उनले ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गएकाले विद्रोह गर्नुपरेको भन्दै पार्टी नेता र कार्यकर्तालाई सम्झाउने प्रयास गरे।

किन ओलीलाई गाली गर्छन् माधव-झलनाथ !

ओलीलाई गाली गर्दैमा पार्टी बलियो हुन्छ भन्ने उकेराको प्रश्नमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ‘बिगारेकै ओलीले हुन त त्यो त भइहाल्छ नि। ओलीको कुरा आउँछ–आउँछ। त्यो स्वाभाविक हो।

उनले अब ओलीलाई गाली गरेर मात्र कम्युनिस्ट आन्दोलन नफस्टाउने, बहुदलीय व्यवस्थालाई बलियो बनाउन नसकिने अनि स्विकारे। तर मनको तितो भने पोखिहाले' ओली खराब थिए, खराब छन्, भोलि पनि खराब रहन्छन्।’

एक वर्ष ओलीलाई गाली गरेरै बिताउनु भयो नि भन्ने जिज्ञासामा पार्टी अध्यक्ष नेपालले भने ‘कहाँ तपाईँलाई मैले ओलीका कुरा मात्र सुनाएको छु, विश्व क्रान्तिका कुरा पनि गरेको छु। नर्वे क्रान्तिका कुरा गरेको छु। रसिया क्रान्तिको कुरा गरेको छु।’

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा ओलीको आलोचना नगरी नहुने अनि आलोचना नगरी सुधार्न नसकिने भएकाले आलोचना गर्दै गएको दाबी गरे।

खतिवडाले भने, ‘आलोचनाले नपुगेर त हामी विद्रोह गर्ने ठाउँसम्म आइपुग्यौ।’

ओली व्यक्तिको नभई प्रवृत्तिको आलोचना गरेको तर्क गर्छन् अनेरास्ववियूका अध्यक्ष तथा युवा नेता सुदेश पराजुली।

‘केपी ओलीलाई गाली गरेको होइन, उहाँले संविधान र त्यसका उपलब्धिलाई कुल्चनुभयो। कुल्चाइको आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने स्थिति आइपर्यो,’ पराजुलीले भने, ‘०१७ सालतिर राजा महेन्द्रले कु हुँदा कम्युनिस्ट पार्टीका नेताहरूले राजा र दरबारलाई सहयोग गरे। संविधान कुल्चिने विरुद्ध पार्टी भित्रै लड्नुपर्छ भनेको हो।’

अब पनि गाली नै गरेर अगाडि जाने हो त भन्ने जिज्ञासामा खतिवडाले दाबी गरे' हैन अब नवनिर्माणको पालो हो।'

९ भदौ, २०७९, २२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।