फेसन डिजाइनर अमित जसले भोगे फिल्म निर्देशकबाटै यौन दुर्व्यवहार

फेसन डिजाइनर अमित जसले भोगे फिल्म निर्देशकबाटै यौन दुर्व्यवहार
तस्बिर : आइएनएस

पोखरा : फेसन डिजाइनिङमा परिचित भइसकेकाले अमित बरालसँग नेपालका टप मोडलदेखि चलचित्रसम्मका काम आउँछन्। उनी यो क्षेत्रमा रमाइरहेका पनि छन्। तर बेलाबखत आफूमाथि भएका यौन हिंसाका घटनाले भने असुरक्षित महसुस गर्छन् उनी।

कारण केही यौन दुर्व्यवहारका घटना।

फेसन डिजाइनको सुरुवातीकालमा एक चलचित्रको निर्देशकसँगको उनको पहिलो भेट नै नमिठो बन्यो। उनीसँग हात मिलाउँदा उनले आफ्नो शरीर चिसो भएको महसुस गरे। अन्यले हेर्दा सामान्य हात मिलाई थियो त्यो। त् उनका लागि सामान्य थिएन। उनले आफूमाथि दुर्व्यवहार भएको अनुभव गरे। तर नयाँ भएकाले केही प्रतिक्रिया दिन सकेनन्।

'अरूले यो घटना सुन्दा पक्कै नर्मल ह्याण्ड सेक त हो भन्ने लाग्ला तर मलाई यो घटना सम्झिदा पनि गाह्रो हुन्छ,' उनले भने' किनकि त्यो उहाँले त्यति बेला मलाई मोलेस्ट गर्नुभएको हो।'उनको दोस्रो अनुभव पनि त्यस्तै रहेछ। एक फिल्मका लागि फेसन डिजाइनिङ गर्ने अफरसँगै निर्देशकले सिधै यौन प्रस्ताव गरेको उनी बताउँछन्।

'मेरो करियरको पहिलो चलचित्र थियो। मैले अरू नराम्रो सोचिन। तर डिरेक्टरले मलाई के दिन्छौ तिमीले अब भन्नुभयो। पछि कतै रात बिताऊँ भन्ने प्रस्ताव राख्नु भयो,' उनले भने।

क्लबमा जाँदा होस् वा फिल्डमा नयाँ मान्छेहरू भेट्दा होस् आफूले धेरै पटक यौन दुर्व्यवहार भोग्नुपरेको उनको अनुभव छ।

'म केटा भएको कारणले यो घटना बाहिर ल्याउन सकिन। अझै पनि मान्छेहरूलाई केटामाथि हुने यस्ता घटना अचम्म र असम्भव जस्तो लाग्छ। मैले भने पनि कसैले पत्याउँदैनन् जस्तो लाग्छ। तर यौन हिंसाले महिला र पुरुष भन्दैन,' उनले भने।

महिला हुन् या पुरुष अनि बालबालिका। यौन हिंसाका घटना बाहिर ल्याउन त्यति सहज छैन। एक त हिंसाबाट पर्ने मानसिक प्रभाव, सँगै घटना सार्वजनिक गर्दा समाज र परिवारका सदस्यबाट आउन सक्ने नकारात्मक प्रतिक्रिया र शङ्का। यसले समेत जटिल बनाइरहेको छ यौन हिंसा।

महिलामाथि हुने यौन हिंसाका घटनामाथि नै पटक-पटक प्रश्न उठाइरहन्छ समाज। त्यसमा यौन हिंसा गर्ने पात्रकै रूपमा लिइने पुरुषमाथि पनि यौन हिंसा भयो भन्दा समाजले सहजै पक्कै पत्याउँदैन। त्यो तहसम्मको सामाजिक चेत विकास भइसकेको छैन हाम्रोमा। सङ्ख्यात्मक रूपमा कम होला। तर बराल जस्तै यौन हिंसामा परेका पुरुषहरू पनि छन् हाम्रो समाजमा।

हालै कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको एक विद्यालयका बालकहरूमाथि भएको यौन दुर्व्यवहारको घटना बाहिर आयो। विद्यालयका संस्थापक रामचन्द्र शाहीले धेरै समयदेखि बालकहरूलाई अप्राकृतिक यौन क्रियाकलाप गर्न बाध्य पारेको दाबी आए।

आरोपित लाहाचोकमा सामाजिक प्रतिष्ठा कमाएका व्यक्ति हुन्। घटना बाहिर आउँदा सुरुमा सबैले बालकहरू कसैबाट परिचालित भएर आरोप लगाएका हुन् भन्ने प्रतिक्रिया आएको थियो। बालकलाई पनि यस्तो हुन्छ र भन्ने प्रश्न धेरै उठे। घटनालाई गुपचुप विद्यालय भित्रै मिलाउने प्रयास पनि गरियो।

तर एकपछि अर्को बालक आफू माथि यौन हिंसा भएको भन्दै सार्वजनिक भएपछि भने विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आयो। घटना प्रहरीसम्म पुग्यो।

माछापुच्छ्रे गाउँपालिका ४ का वडा अध्यक्ष मधुसूदन अधिकारीका अनुसार गाउँका एकदमै सन्त व्यक्ति भएकाले बालकहरूले यी कुरा बाहिर ल्याउँदा कसैको उक्साहटमा बोलेका हुन् कि भन्ने भएको थियो। त्यसैले वार्ताको प्रयास भएको थियो। तर एक पछि धेरै बालकहरू बाहिर आएपछि घटना भएको रहेछ भन्ने भयो।

विद्यालयमा अध्ययनरत तथा त्यहाँबाट एसइई दिएर गइसकेका छात्रहरूले संस्थापक शाहीले दुर्व्यवहार गरेको बताएका थिए। कास्की प्रहरीमा ४ जना बालकले शाही विरुद्ध संयुक्त लिखित जाहेरी दिए।

विद्यालयको अफिस कोठादेखि सुनसान ठाउँमा शाहीले जर्बजस्ती अप्राकृतिक यौन क्रियाकलाप गर्न लगाएको बालकहरूको आरोप छ।

शाही यौन दुराचारीको आरोपमा थुनामा छन्। कास्की प्रहरी प्रवक्ता सुन्दरप्रसाद तिवारीका अनुसार यस घटनालाई प्राथमिकता राखेर अनुसन्धान बढाइएको छ। उनले भने 'बालबालिकाको विषय भएकाले हामी संवेदनशील छौँ। प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौ।'राष्ट्रिय बाल अधिकार परिषद्का गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्ले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै मिडियाले बाल दुर्व्यवहारको घटनासम्बन्धी समाचार बनाउँदा संवेदनशील हुनुपर्ने बताए।

उनले भने'अहिले हाम्रो मुख्य कन्सर्न भनेको बालकहरूको युट्युबमा आइरहेको अन्तरवार्ता प्रति छ। अनुहार नदेखाएर मात्र हुँदैन बारम्बार यसबारेमा प्रश्न सोधिरहँदा बालकहरूमा नकारात्मक मनोवैज्ञानिक असर पर्न सक्छ।'बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था कोपिला नेपालका निर्देशक बिना सिलवालले बालबालिकाले सबैभन्दा सुरक्षित महसुस गर्ने ठाउँ घर र विद्यालयमा भए पनि दुवै ठाउँमा बालबालिका सुरक्षित नरहेको बताइन्।

बाल दुर्व्यवहार अक्षम्य अपराध भएको बताउँदै सिलवालले डर त्रास देखाएर बालकमाथि भएको यस्तो घटना अमानवीय भएको बताइन्।

'छोरीहरूलाई यौन दुर्व्यवहार हुन्छ भनेर भनिरहँदा छोरीप्रति अभिभावक, शिक्षक सबै सचेत हुनुहुन्छ तर दुर्व्यवहार छोरालाई पनि हुन सक्छ भन्ने सचेतना नहुँदा घटनाहरू बाहिर आउन सजिलो हुँदैन,' उनले भनिन्' छोराहरूलाई मैले यो घटना बाहिर ल्याए के होला भन्ने हुन्छ।'

उनले अप्राकृतिक भएका कारणले बालकलाई हुने यौन दुर्व्यवहारको घटना समाजले नपत्याउने र नबुझ्ने गरेको बताइन्।

पोखराकी सलिजा श्रेष्ठलाई सानैमा आफन्तबाट यौन दुर्व्यवहार भयो । त्यति बेला आफूलाई के भएको हो भन्नेबारे उहाँलाई थाहा थिएन। पछि हुर्कँदै गएपछि बल्ल आफू माथि यौन दुर्व्यवहार भएको रहेछ भन्ने कुरा श्रेष्ठले बुझे।

इन्टेरियर डिजाइनर समेत रहेका श्रेष्ठ अहिले बाल यौन दुर्व्यवहार विरुद्ध आवाज उठाउँदै आएका छन्। सलिजाले महिला मात्र नभएर पुरुषमाथि हुने यौन हिंसाको घटनाप्रति पनि संवेदनशील हुनुपर्ने बताए।

'महिलाका लागि यौन हिंसा भयो भनेर बाहिर आउनु जति सहज छ त्यति नै असामान्य पुरुषलाई यौन हिंसा भयो भन्नु भएको छ,' उनले भने।

*आएएनएसले 'पुरुष माथिको यौन हिंसा– पत्याउँदैन समाज' शीर्षकमा प्रकाशित गरेको सामाग्री सम्पादन र शीर्षक परिवर्तन गरेर प्रकाशित गरिएको हो

१४ असार, २०७९, २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।