अमेरिकासँग सम्झौता गर्न १४ बुँदे प्रस्ताव अघि सार्ने इरानको तयारी

अमेरिकासँग सम्झौता गर्न १४ बुँदे प्रस्ताव अघि सार्ने इरानको तयारी

एजेन्सी : राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल नभए आक्रमण गर्ने चेतावनी दिइरहेका बेला इरानले अमेरिकासँगको सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शनिबार सरकारी टेलिभिजनमार्फत वासिङ्टनसँगको कूटनीतिक वार्ताको लागि सम्झौताको खाका तयार पार्नु तेहरानको मुख्य उद्देश्य रहेको बताए।

उनले भनेका छन्, “हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका (मस्यौदा) तयार पार्नु हुनेछ।” इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रूत सफलताको कम अपेक्षा गरेको बताएका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वासिङ्टनबीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताए।

विदेशमन्त्री बकाईले भने, “वाशिङ्गटनसँग ‘मेलमिलापको लागि’ सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार हुने तर ‘यसको मतलब तेहरान र संयुक्त राज्य अमेरिका विवादित महत्त्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने भने होइन।”

शान्तिवार्तालाई मध्यस्थता गर्न इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच पश्चिम एसियामा तनाव कम गर्ने जारी प्रयास स्वरूप भएको शुक्रबार भएको बैठकपछि इरानको धारणा सार्वजनिक भएको हो।

यसअघि, दुई नेताबीच शुक्रबार राति अबेरसम्म भएको वार्तामा मध्यपूर्वको सुरक्षा अवस्था, इरान द्वन्द्व र क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको बताइएको थियो। बैठकमा यस क्षेत्रमा तनाव बढ्न नदिन चलिरहेको कूटनीतिक प्रयास र नयाँ पहलबारे पनि छलफल भएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ। 

भेटमा दुवै पक्षले पश्चिम एसियामा सुरक्षा र स्थिरता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका बताइएको छ। पाकिस्तानले विगतमा पनि यस्ता छलफलसँग मेलमिलाप गर्ने प्रयास गरे पनि त्यसको कुनै परिणाम निस्कन सकेको छैन। 
 

जेठ ९, २०८३ शनिबार २१:१८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।