मादुरोलाई जस्तै क्युबाका पूर्व राष्ट्रपति क्यास्ट्रोलाई पनि अमेरिका लैजाने वासिङ्टनमा चर्चा

मादुरोलाई जस्तै क्युबाका पूर्व राष्ट्रपति क्यास्ट्रोलाई पनि अमेरिका लैजाने वासिङ्टनमा चर्चा

एजेन्सी : अमेरिकी नीतिका कारण इतिहासकै गम्भीर आर्थिक तथा ऊर्जा संकटसँग जुधिरहेका बेला क्युबाका ९४ वर्षीय पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि वासिङ्टनले हत्याको अभियोग लगाएर दशक लामो कम्युनिस्ट शासन अन्त्य गर्ने रणनीतिक दबाब सिर्जना गरेको छ।

सन् १९९६ मा क्युबाली वायुसेनाद्वारा दुई वटा अमेरिकी नागरिक विमान खसालिएको घटनामा क्यास्ट्रोलाई दोषी ठहर गर्दै अमेरिकाले उनीमाथि सैन्य कारबाही वा गिरफ्तारीको चर्चा भइरहेको छ। यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र पनामाका नेता म्यानुअल नोरेगालाई अमेरिकी कारबाहीमार्फत नियन्त्रणमा लिइएकै शैलीमा क्यास्ट्रोलाई पनि अमेरिका ल्याएर मुद्दा चलाउन सकिने विषयमा वासिङ्टनमा चर्चा भइरहेको छ। 

क्युबाको आन्तरिक अवस्था आफैँ कमजोर हुँदै गएकाले तत्काल सैन्य तनाव बढाउनु नपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा छ। तर, ह्वाइट हाउसले अमेरिकाको समुद्री तटबाट मात्र १४४ किलोमिटर टाढा रहेको मुलुकमा विद्रोही राष्ट्रको चरित्र स्वीकार्य नहुने चेतावनी दिएको छ।

पछिल्लो समय सीआईए निर्देशक जोन र्याटक्लिफले क्यास्ट्रोका परिवारका सदस्य तथा उच्च क्युबाली अधिकारीहरूसँग गरेको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाको वर्तमान प्रणाली असफल भइसकेको टिप्पणी गर्दै वार्तामार्फत नयाँ राजनीतिक व्यवस्थाको पक्षमा उभिन क्युबाली अधिकारीहरूलाई आह्वान गरेका छन्। 

अमेरिकाले क्युबामा अर्थतन्त्रको उदारीकरण, विदेशी लगानीको सुरक्षा र त्यहाँ रहेको रुसी तथा चिनियाँ गुप्तचर निकायको उपस्थिति अन्त्य गर्न चाहेको छ। यद्यपि, विज्ञहरूले क्युबाको अर्थतन्त्र जर्जर भए पनि त्यहाँको सुरक्षा संयन्त्र अझै मजबुत रहेको विश्लेषण गरेका छन्। 

वासिङ्टन अफिस अन ल्याटिन अमेरिकाका विशेषज्ञ एडम इसाकसनका अनुसार ९४ वर्षीय क्यास्ट्रोको गिरफ्तारीले क्युबाको सत्ता संरचनामा तत्काल ठूलो फेरबदल ल्याउने सम्भावना न्यून छ। जर्ज टाउन युनिभर्सिटीका प्रोफेसर माइकल सिफ्टरले क्युबाको व्यवस्था अचानक भत्किएमा अमेरिकातर्फ ठूलो संख्यामा शरणार्थी पलायन हुन सक्ने र त्यसले फ्लोरिडासहितका क्षेत्रमा मानवीय संकट निम्त्याउन सक्ने जोखिमप्रति सतर्क गराएका छन्।

जेठ ९, २०८३ शनिबार १६:५३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।