‘ककरोच जनता पार्टी’ को इन्स्टाग्राम पेज पनि ह्याक
एजेन्सी : भारतको सत्ताविरुद्ध खरो रूपमा उत्रेर सामाजिक सञ्जालको अभियानबाट बनेको ‘ककरोच जनता पार्टी’ (सीजेपी)को आधिकारिक इन्स्टाग्राम पेज ह्याक भएको छ।
पार्टीका संस्थापक अभिजीत दीपकेले आफ्नो पार्टीको जानकारी दिएका हुन्। भारतमा ट्वीटर ह्यान्डल प्रयोग गर्न रोक लगाइएको उक्त पार्टीको अब इन्ट्राग्राम पेज पनि ह्याक भएको हो।
उक्त पेजमा २ करोड १७ लाखभन्दा बढी फलोअर्स रहेका छन्, जुन भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को फलोअर्स संख्याभन्दा दोब्बरभन्दा बढी हो।
संस्थापक दीपकेले आफ्नो एक्स (ट्विटर) अकाउन्टमार्फत एक सूचना जारी गर्दै आफूहरूको कुनै पनि सामाजिक सञ्जालमा पहुँच नरहेको बताएका छन्।
उनले लेखेका छन्, ‘हाम्रो कुनै पनि प्लेटफर्ममा पहुँच छैन। यो जानकारीपछि आउने कुनै पनि पोस्टलाई ककरोच जनता पार्टीको आधिकारिक भनाइ नमानियोस्।’
उनका अनुसार पार्टीको मुख्य इन्स्टाग्राम पेजसँगै उनको व्यक्तिगत इन्स्टाग्राम अकाउन्ट पनि ह्याक भएको छ। यसका साथै उनको एक्स अकाउन्टमाथि रोक लगाइएको छ भने ब्याकअप अकाउन्टसमेत हटाइएको छ।
सामाजिक सञ्जालमा राजनीतिक तथा समसामयिक विषयमा व्यङ्ग्यात्मक सामग्री प्रस्तुत गरेर चर्चामा आएको ‘ककरोच जनता पार्टी’ को अकाउन्टहरू एकाएक बन्द र ह्याक भएपछि फलोअर्सहरू आश्चर्यमा परेका छन्।
जेठ ९, २०८३ शनिबार १०:२६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।