स्वास्थ्य क्षेत्रमा चरम लापरबाही : अर्बौंका उपकरण थन्किए, नौ करोडको औषधि खेर गयो

स्वास्थ्य क्षेत्रमा चरम लापरबाही : अर्बौंका उपकरण थन्किए, नौ करोडको औषधि खेर गयो

काठमाडौं : सरकारी स्वास्थ्य संस्थाहरूमा दक्ष जनशक्तिको अभाव र फितलो व्यवस्थापनका कारण अर्बौं रुपैयाँ लागतका उपकरणहरू प्रयोगविहीन अवस्थामा थन्किएका छन्। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा उपकरण खरिद, औषधि व्यवस्थापन र सहुलियतपूर्ण उपचार सेवामा चरम लापरबाही रहेको औँल्याएको छ।

दक्ष जनशक्ति अभावमा अर्बौंका उपकरण वर्षौंदेखि थन्किएको, नौ करोड बढी रुपैयाँको औषधिको म्याद नाघेको र उपचार अनुदान वितरणमा एकद्वार प्रणाली नहुँदा राज्यको ठूलो लगानी अनुत्पादक बनेको प्रतिवेदनको निष्कर्ष छ।

राष्ट्रिय ट्रमा सेन्टरमा पाँच करोड ३७ लाख ८२ हजार मूल्यको क्याथल्याब मेसिन दक्ष जनशक्तिको अभावमा २०७२ देखि उपयोगविहीन बनेको प्रतिवेदनले देखायो। त्यसैगरी २४ करोड ७७ लाख ९ हजार मूल्यका सीटी स्क्यान सिस्टम, १४ थान भेन्टिलेटर, ५ थान सी आर्म मेसिन प्रयोगहीन बनेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ७२ लाख ६० हजार मूल्यका ५ थान लिड ईसीजी केबुल तीन सय सेट, गजेन्द्र नारायण सिंह अस्पतालमा ४ करोड ९० लाख ९५ हजार मूल्यका एक्स-रे मेसिन, इण्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजीलगायत उपकरण प्रयोगहीन छन्।

सिंहदरबार वैद्यखाना विकास समितिमा रहेका सिङ्गल रोटरी ट्याब्लेटिङ्ग मेसिन, एयर कम्प्रेसर, इन्कजेट कोडर, डबल कोन ब्लेन्डर, अटोमेटिक हाइस्पिड लेबलिङ मेसिन, ब्वायलर, क्लोड मिल, इलेक्ट्रिक ट्रे ड्रायर, रोटरी रनर खल, अटोमेटिक क्याप्सुल फिल मेसिन तथा पाउडर फिलिङ्ग मेसिनलगायतका ६० प्रकारका मेसिन प्रयोगहीन छन्। 

नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सीटी स्क्यान मेसिन, १.५ टेसलाको एमआरआई मेसिन उपकरण प्रयोगविहीन अवस्थामा रहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ। 

विभागले वेट स्केल मेसिन किनेर थन्क्यायो

स्वास्थ्य सेवा विभागले यो (२०८२) वर्ष नौ सय ६५ हाइट बोर्ड र नौ सय ६५ थान इलेक्ट्रोनिक वेट स्केल खरिदमा ६ करोड ७३ लाख २१ हजार खर्च गरेकोमा विगतमै खरिद गरेको ६ करोड ५३ लाख ९९ हजारको १ हजार तीन सय ३६ इलेक्ट्रोनिक वेट स्केल (मदर / चाइल्ड) र दुई  करोड ४२ लाख ५४ हजारका ७ प्रकारका एक सय ३३ थान मेसिन, उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन्।

त्यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापनाकालदेखि क्यान्सर उपचारमा प्रयोग हुँदै आएको टेलिथेरापी मेसिन ४ वर्षदेखि पूर्णरूपमा उपयोगविहीन भई अस्पतालको बङ्करमा राखिएकोमा मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिँदै गएको र  यसको विकिरणको जोखिम कायमै रहने जोखिम रहेको महालेखाले औँल्याएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्ने महालेखापरीक्षकको सुझाव छ।

नौ करोडको औषधिको म्याद सकियो

उपकरणमा मात्र नभई औषधि व्यवस्थापनमा पनि चरम लापरबाही देखिएको छ। स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधीको म्याद समाप्त भएको खण्डमा, टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार उक्त औषधी आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने महालेखापरीक्षकको सुझाव छ।

स्वास्थ्य सेवा विभागमा गत विगतमा खरिद गरिएको २८ प्रकारका ४ करोड ७२ लाख २० हजार, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको ६ प्रकारका ४७ लाख ७० हजार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा ६ सय एक प्रकारका एक करोड ४३ लाख ७५ हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक करोड १९ लाख ९६ हजार र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एक करोड २३ लाख ५६ हजारसमेत गरी ९ करोड ७ लाख १७ हजार मूल्यका औषधीजन्य मालसामान तथा कीटको म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ। 

स्वास्थ्य सेवा एकद्वार गर्नुपर्ने

विपन्न नागरिक औषधी उपचार निर्देशिका, २०८० मा ८ प्रकारका रोगको उपचारमा आर्थिक सहयोग दिने व्यवस्था भएको महालेखापरीक्षकले औँल्याएको छ। 

गत वर्ष स्वास्थ्य सेवा विभागले मुटु रोगी ८ हजार चार सय १०, मिर्गौला रोगी १२ हजार ७३, क्यान्सर रोग २८ हजार ६ सय ७८, पार्किन्सन रोग एक सय आठ, अल्जाइमर्स रोग ४४, स्पाइनल इन्जुरी भएका एक हजार दुई सय ५३, हेड इन्जुरी भएका नौ सय ८० तथा सिकलसेल एनिमिया रोगी दुई हजार ३१ समेत ५३ हजार पाँच सय ७७ बिरामीको उपचार गरेको आधारमा एक ३६ स्वास्थ्य संस्थालाई ४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार शोधभर्ना गरेको उल्लेख गरेको छ। 

यस्ता कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग आबद्ध गरी स्वास्थ्य सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने महालेखापरीक्षकको सुझाव छ।

जेठ १, २०८३ शुक्रबार २०:५७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।