फोन स्वीच अफ गरेर भाग्दै गर्दा सिन्धुलीमा पक्राउ परेका थिए सीईओ पाण्डे

फोन स्वीच अफ गरेर भाग्दै गर्दा सिन्धुलीमा पक्राउ परेका थिए सीईओ पाण्डे

काठमाडौं : स्मार्ट टेलिकम खारेजीपछि नेपाल सरकारको नाममा आएको सरकारी सम्पत्तिलाई बेइमानीपूर्वक सरकारको हक टुटाएका आरोपी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे फोन स्वीच अफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेको खुलेको छ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिन्धुलीको सिन्धुलीमाढीबाट नियन्त्रणमा लिएको हो।

सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएलगत्तै पाण्डे काठमाडौंबाट फरार भएका थिए। प्रहरीको नजरबाट बच्न उनले आफ्नो मोबाइल फोन समेत स्वीच अफ गरेका थिए।

तर, ब्यूरोले उनको सम्भावित लोकेसन पछ्याउँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरी मदन भण्डारी राजमार्गमा सवारी चेकजाँच कडा पारेको थियो। सोही क्रममा वैशाख २९ गते राति करिब ८ बजे उनी बसपार्क नजिकैबाट समातिएका हुन्।

स्मार्ट टेलिकमको लाइसेन्स खारेजीपछि त्यसको सम्पत्ति व्यवस्थापन र लिलामी प्रक्रियामा पाण्डेले ठूलो आर्थिक चलखेल गरेको प्रहरीको दाबी छ। बैंकको ऋण असुली समिति (LRC) का अध्यक्ष समेत रहेका पाण्डेले ४० करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो।

लिलामी प्रक्रियामा सहभागी हुनेहरूबाट जग्गाको भाडा र विद्युत महसुलवापतको ४० करोड रुपैयाँ बैंकले असुल गरे पनि जग्गाधनी र विद्युत प्राधिकरणलाई भुक्तानी नदिएर आफैँले चलाएको अनुसन्धानबाट खुलेको छ।

‘जग्गाधनीलाई घरबहाल र प्राधिकरणलाई विद्युत महसुल नबुझाई आपराधिक विश्वासघात गरेको देखिएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो’, सीआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले बताए।

लामो समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका ६३ वर्षीय पाण्डे पक्राउ परेपछि बैंकिङ र कर्पोरेट क्षेत्रमा ठुलो तरङ्ग पैदा भएको छ। उनलाई अहिले काठमाडौँ ल्याएर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

वैशाख ३०, २०८३ बुधबार ११:२८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।