मन्त्रिपरिषद्का निर्णय : कार्यविभाजन नियमावली स्वीकृत, लगानी समितिमा कांग्रेस सांसद थकालीसहित दुई जना मनोनित

मन्त्रिपरिषद्का निर्णय : कार्यविभाजन नियमावली स्वीकृत, लगानी समितिमा कांग्रेस सांसद थकालीसहित दुई जना मनोनित

​​​​​​​काठमाडौं : सरकारले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रशासनिक कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविभाजन नियमावली स्वीकृत गरेको सूचना तथा प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।

सरकारले कार्यविभाजन नियमावलीका साथै ‘भूमि सम्बन्धी (एक्काईसाैँ संशोधन) नियमहरू, २०८३’ लाई पनि स्वीकृत गरेको छ।

यसले भूमि व्यवस्थापन र यससँग सम्बन्धित कानुनी प्रक्रियालाई समयानुकूल परिमार्जन गर्ने अपेक्षा गरिएको छ।

डिजिटल सुशासनको क्षेत्रमा काम गर्दै आएको ‘विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९’ को संशोधनलाई पनि बैठकले स्वीकृत गरेको छ।

यसबाट आयोगको कार्यक्षेत्र र प्रभावकारितामा वृद्धि हुने सरकारको विश्वास छ।

यस्तै सरकारी लगानी व्यवस्थापन समितिलाई पूर्णता दिने क्रममा सरकारले दुई जना संघीय सांसदहरूलाई सदस्यमा मनोनयन गरेको छ।

समितिको सदस्यमा बागलुङका माननीय सुशील खड्का र मुस्ताङका माननीय योगेश गौचन थकाली मनोनित भएका छन्। खड्का रास्वपाबाट निर्वाचित हुन् भने थकाली नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।

 

वैशाख ३०, २०८३ बुधबार ११:५१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।