सिन्धुलीको बसपार्कबाट पक्राउ परे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे

सिन्धुलीको बसपार्कबाट पक्राउ परे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे

काठमाडौं : ठगी तथा आपराधिक विश्वासघातको कसूरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिन्धुलीको कमलामाई नगरपालिका-६, बसपार्कस्थित मदन भण्डारी राजमार्गबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट खटिएको टोलीको सहयोगमा पाण्डेलाई वैशाख २९ गते राति करिब ८ बजे सवारी साधन चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

उनले आफ्नो मोबाइल फोन समेत स्विच अफ गरी लुकिछिपी बसेको अवस्थामा सीआईबीले फेला पारेको विज्ञप्तिमा उल्लेख छ। ६३ वर्षीय पाण्डे हाल ललितपुर-५, मानभवनमा बस्दै आएका थिए।

यो प्रकरण ‘स्मार्ट टेलिकम प्रा. लि.’ को सम्पत्ति व्यवस्थापन र लिलामी प्रक्रियासँग जोडिएको छ। लाइसेन्स खारेज भएपछि स्मार्ट टेलिकमको सम्पत्ति सरकारी नियन्त्रणमा रहने कानुनी प्रावधान छ।

तर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋण असुली समितिका अध्यक्ष समेत रहेका पाण्डेले उक्त लिलामी प्रक्रियामा चलखेल गरी सरकारलाई बेइमानीपूर्वक हानी पुऱ्याएको र ठगी गरेको आरोप छ।

बैंकले २०८२ असोज ३ गते प्रकाशित गरेको लिलामी सूचनामा स्मार्ट टेलिकमका उपकरणहरू खरिद गर्नेले जग्गा धनीलाई तिर्नुपर्ने भाडा र विद्युत महसुल वापतको करिब ४० करोड रुपैयाँ समेत तिर्नुपर्ने शर्त राखिएको थियो।

तर, बैंकले उक्त रकम बुझिसके तापनि अहिलेसम्म न त जग्गाधनीलाई भाडा बुझाएको छ, न त विद्युत महसुल नै तिरेको छ। यसरी सेवाग्राही र सरोकारवालालाई ठगी गरी 'आपराधिक विश्वासघात' गरेको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार पाण्डेमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको छ। यो प्रकरणमा अन्य व्यक्तिको संलग्नताबारे पनि प्रहरीले खोजी गरिरहेको छ।

वैशाख ३०, २०८३ बुधबार ११:१९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।