अपांग संघको नेतृत्वमा विवाद : नयाँ अध्यक्ष कुट्ने पूर्व अध्यक्ष लामाको पक्षमा गोकर्णेश्वरका मेयर
काठमाडौं : मंसिर २३ गते मंगलबार बिहान १० बजे नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका नवनिर्वाचित अध्यक्ष यज्ञ प्रसाद उप्रेती प्रशासनिक कामको तयारीमा थिए। उनी कार्यालय पुगेको केही समयपश्चात् एक हुल व्यक्ती उनको अगाडि आए।
त्यो हुलमा केन्द्रका पूर्व अध्यक्ष साम्देन लामा पनि थिए। समूहले सबैभन्दा पहिला अध्यक्ष उप्रेतीलाई तानेर कुर्सीबाट खसाले। उप्रेती शारीरिक अपाङ्गता भएका व्यक्ति हुन्, उनका खुट्टा चल्दैनन्। हुलले कठालो समात्नेबित्तिकै उनी भुइँमा पछारिए।
उप्रेतीलाई हटाएर पूर्व अध्यक्ष लामा त्यही कुर्सीमा बसे। लगत्तै लामालाई सो समूहले खादा, अबिर र माला लगाइदिए। उप्रेती भने त्यही कुर्सीको तल थचक्क बसिरहेका थिए। पछि उनलाई त्यहाँबाट तानेर कार्यालयबाहिर निकालियो।
त्यहाँ रहेका केन्द्रका अन्य सदस्य तथा अपाङ्गता भएका व्यक्तिहरूले प्रतिवाद गर्न थालेपछि समूहले कार्यालयमा तोडफोड सुरु गर्यो। कार्यालयमा रहेका नयाँ पदाधिकारीहरूको नाम लेखिएको बोर्डहरू फुटाइयो। त्यहाँ रहेका अपाङ्गता भएकाहरूमाथि कुटपिट भयो, जसमा धेरैलाई चोट लागेको छ।
‘कार्यालयदेखि बाहिरसम्म सयभन्दा बढी हुरुरु मान्छेहरू आए। उनीहरूले मलाई लछारपछार गर्दै, उचाल्ने-पछार्ने गरेर घिसार्दै बाहिर निकाले,’ घटना भएको दिनको विवरण सुनाउँदै उप्रेतीले उकेरालाई भने, ‘साम्देन लामाले पनि मेरो पालो हो, तपाईं किन यहाँ भनेर कठालो समातेर तानेर पछारिहाल्नुभएको थियो।’
उनले थपे, ‘ममाथि यति मुक्का प्रहार भयो, म अचेत भएछु। बाहिर अन्य अपाङ्गता भएका साथीहरू देखेपछि अलि सास आयो। बाँच्छु कि भन्ने लाग्यो। नत्र मलाई त मार्ने नै रहेछन्।’
बदमासीकोअखडा बन्यो अपांग संघ
कार्यालयमा उप्रेतीको त्यो चौथो दिन थियो। मंसिर १९ गते उनी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका थिए। अपांग संघमा रहेका अनेकौँ बेथिति सामना गर्नु उनका लागि चुनौती छ। उनले संस्था नवीकरणदेखि खाता सञ्चालनको कार्य अगाडि बढाउन लागेका थिए।
पूर्व अध्यक्ष लामाले गरेको बेथितिका कारण संस्थाको खाता रोक्का भएको छ। उप्रेतीका अनुसार यहाँका कर्मचारीहरूले पाँच महिनादेखि तलब पाएका छैनन्। सोही समस्या समाधानका लागि स्थानीय सरकारको समन्वयमा उनले काम अगाडि बढाउँदै थिए।
‘त्यो हुलमा अपांगता भएका साथीहरू पनि थिए। हामीलाई कुट्ने-पिट्नेदेखि धम्क्याउनेसम्मको काम भयो। प्रहरी समयमा नआएको भए सायद म कुनै कुनामा मरेर बसिरहेको हुन्थेँ’, उनले भने।
उनका अनुसार कार्यालयका हिटर, पंखा र सीसीटिभीका क्यामेराहरू तोडफोड भएका छन्। महत्त्वपूर्ण कागजातहरू समेत चोरी भएको छ। झडपको समयमा भिडियो र फोटो खिच्न खोज्दा मोबाइलहरू फुटाइएको छ। आक्रमणमा अध्यक्ष उप्रेतीसहित आफैँ पूर्ण रूपमा अशक्त रहेका महासचिव शिवचन्द्र साह र अन्य अपाङ्गता भएकाहरू कुटिएका छन्।
कार्यालयमा भएको हिंसापछि उनीहरूले सोही दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा ठाडो उजुरी दिए। प्रहरीले उजुरीका आधारमा लामालाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
मंसिर १९ गते केन्द्रकै हलमा स्थानीय सरकार र जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरूबीच निर्वाचन भएको थियो, जसबाट उप्रेती सर्वसम्मत निर्वाचित भएको देखिन्छ।
केन्द्रका ६ वटा जिल्ला (काठमाडौं, बाँके, धनुषा, दाङ, झापा र कैलाली) गरेर जम्मा १३० जना सदस्य छन्। तीमध्ये काठमाडौंमा भएको निर्वाचनमा ८६ जना सदस्य सहभागी थिए। शाखाहरूले केन्द्रमा भएको उक्त घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।
यता लामाले भने आफू कैलालीमा गएर निर्वाचनमार्फत पुनः केन्द्रको अध्यक्ष भएको दाबी गरेको उप्रेतीले जनाए। तर, यहाँका अपाङ्गता भएका व्यक्तिहरूले लामाको दाबी शंकास्पद रहेको बताएका छन्। उनीहरूका अनुसार कैलाली पुगेका लामा सोही दिन काठमाडौं फर्किएका थिए।
पूर्व अध्यक्ष लामाको विवादित छवि
लामा केन्द्रको अध्यक्ष बनेदेखि नै निरन्तर विवादमा तानिइरहे। उनीमाथी यौनहिंसादेखि जग्गामा बनेको संरचनालगायतमा हिनामिना गरेको आरोप लाग्यो। लामाले यसअघि पनि पटकपटक त्यहाँ आश्रित अपाङ्गता भएकाहरूमाथि ज्यादती गर्दै केन्द्रको रकम हिनामिना गरेको समाचार उकेराले प्रकाशित गरेको थियो। उनी पुन केन्द्रको अध्यक्ष बन्ने प्रयासमा थिए। तर उप्रेती चयन भए। त्यसपछि उनले पुन केन्द्र कब्जाको प्रयास गरे।
‘जसको साधारण सदस्यता समेत खारेज भइसकेको छ, आजीवन सदस्य समेत नभएको व्यक्ति ‘केन्द्रको अध्यक्ष आफैँ हुँ’ भनेर दाबी गर्दैमा हुँदैन’, केन्द्रमा बसिरहेका विद्यार्थी पुष्प भट्टले भने। उनी पनि २३ गतेको हिंसामा परेका थिए।
‘निलम्बित रहेको अवस्थामा कार्यालयका कागजातहरू दुरुपयोग गरेर उहाँले कैलालीमा चुनाव गरेर आउनुभयो। त्यो चुनाव आफैँमा अवैधानिक हो। चुनाव भयो/भएन पनि थाहा छैन,’ भट्ट भन्छन्, ‘हामीले बहुमतले निर्णय गरेर उहाँलाई बर्खास्त गरेपछि कार्यवाहक अध्यक्ष समेत राखेर विधानअनुसार नै चुनाव भएको हो।’
लामा अध्यक्ष हुँदा अडिट रिपोर्टलगायतका महत्त्वपूर्ण प्रतिवेदनहरू समेत लुकाइएको उनीहरूको आरोप छ।
‘आफैँ निलम्बित भएको समयमा शाखाका अन्य सभापतिहरूलाई निलम्बन गर्दै हिँड्ने, ‘क’ वर्गको (पूर्ण अशक्त) अपाङ्गता भएका महासचिवलाई यहाँको कोठा छोड्नु भन्दै हिँड्ने गर्नुभयो। कार्यालयको ताल्चादेखि लिएर छापसमेत बोक्दै हिँड्ने गर्नुहुन्थ्यो’, उप्रेतीले भने।
उप्रेतीले केन्द्रले नयाँ अध्यक्ष पायो भनेर सबै अपाङ्गता भएका साथीहरू खुसी भएको समयमा आएर लामाले ज्यादती गरेको बताए। केन्द्रमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू बस्छन्। उप्रेतीका अनुसार केन्द्रमा मात्र करिब पाँच सय अपाङ्गता भएका व्यक्तिहरू जोडिएका छन्।
‘शारीरिक अपाङ्गता भएकाहरूलाई मानसिक रोगी पनि बनाउन खोज्दै छन्। न हाम्रो पाखुरा दरो छ, न हाम्रो कुरा नै कसैले सुनिरहेका छन्। हामीपछि आउने अर्को पुस्ताका अपाङ्गता भएकाहरू कसरी बस्ने यस्तो दोहन गरेको ठाउँमा?,’ उनले भने, ‘अपाङ्गता भएकाहरूमाथि अलिकति पनि मानवीय संवेदना देखिएन।’
केन्द्रको ‘नयाँ अध्यक्ष’लाई लिएर स्थानीय सरकारमा द्वन्द्व
नयाँ अध्यक्षलाई सहज रूपमा काम गर्न अझै चुनौती छ। गोकर्णेश्वर नगरपालिकाले बैंक खाता खोल्न सिफारिस दिएको छैन। गोकर्णेश्वरको वडा नम्बर ६ मा पर्ने यस केन्द्रमा वडा अध्यक्षले सुरुदेखि नै साथ दिए पनि नगरप्रमुखको झुकाव भने लामातर्फ देखिँदै आएको छ।
वडा अध्यक्ष नवराज लामाले उप्रेतीलाई नै संस्थाको नयाँ अध्यक्ष माने पनि नगरप्रमुख दीपककुमार रिसालले भने साम्देन लामालाई नै अध्यक्ष मानेको देखियो। मेयर रिसालले मंसिर २५ गते साम्देन लामा लगायतका पदाधिकारीहरूको नाममा बैंक खाता सञ्चालन गर्न सिफारिस गरेको पाइएको छ।

तर, विवाद भएपछि फेरि बैंक खाता सञ्चालन नगर्न निर्देशन दिइसकेको मेयर रिसालले उकेरालाई बताए।
खगेन्द्र नवजीवन केन्द्रमा नयाँ र पूर्व अध्यक्षबीच भएको के हो भन्ने प्रश्नमा मेयर रिसालले भने, ‘दुवै जना आफू अध्यक्ष हुँ भन्दै झगडा भएको मैले पनि थाहा पाएँ। मलाई यसअघि समेत अध्यक्ष हुनुभएको साम्देन लामासहितको टोलीले अगाडि नै नयाँ निर्वाचनको लागि खबर गर्नुभएको थियो। त्यही भएर मैले सिफारिस दिएको थिएँ।’
पछि निर्वाचन नै शंकास्पद भएको कुरा आएपछि अहिले कसैको नाममा पनि बैंक खाता सञ्चालन नगर्नू भनेर फेरि अर्को पत्र पठाइएको उनले दाबी गरे। उनका अनुसार दुवै पक्षसँगै वडा प्रतिनिधि र जिल्ला प्रशासन प्रमुखसमेतको उपस्थितिमा यसबारे छलफल गरेर निर्णय गरिनेछ।
त्यसबेलासम्म उप्रेती पनि वैधानिक अध्यक्ष हुन् वा होइनन् भन्नेबारे उनले स्पष्ट पारेनन्। पछि तदर्थ समिति बनाएर फेरि निर्वाचन गर्नुपरे सोहीअनुसार गर्न सुझाव दिने उनको भनाइ छ।
अपाङ्गता भएकाहरूले केन्द्रमा असुरक्षित महसुस गरेको विषयमा उनी भन्छन्, ‘हाम्रो नगरपालिकामा अपाङ्गता भएकाहरू मात्र होइन, सबै जना सुरक्षित हुनुहुन्छ। हामीलाई नगरप्रहरीदेखि नेपाल प्रहरीसम्मले साथ दिनुहुन्छ। कोही पनि डराउनुपर्दैन।’
यता, वडा नम्बर ६ का अध्यक्ष नवराज लामाले भने विधानअनुसार नै केन्द्रको चुनाव भएको भन्दै उप्रेती नै वैधानिक अध्यक्ष रहेको बताए।
उनले उकेरासँग भने, ‘मैले यसबारेमा कार्यपालिकामा समेत कुरा उठाएको छु। यसअघिका अध्यक्षले के-कति बदमासी गरेका छन् भन्ने कुरा कसैबाट लुकेको छैन। त्यहीअनुसार केन्द्रका अन्य पदाधिकारीहरूले विधानसम्मत चुनाव गरेर नयाँ अध्यक्ष निर्वाचित गरेका हुन्।’
उकेराकर्मी केन्द्रको परिसर पुग्दा कार्यालयमा ताल्चा लगाइएको थियो। अध्यक्षलगायतका पदाधिकारीहरू बाहिर बसिरहेका थिए।
‘हामीले नगरप्रमुखलाई पनि खबर गरेका हौँ। हामीले प्रजातान्त्रिक हिसाबले कानुनअनुसार नै हाम्रो चुनाव गरेका हौँ’, अध्यक्ष उप्रेतीले भने।
अपाङ्ग संघमा अपराध श्रृङ्खलाका यसअघिका समाचार:
पुष ३, २०८२ बिहीबार १९:५३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।