अपाङ्ग संघको पदाधिकारीको घिनैलाग्दो कर्तुत : हेरचाहको आवरणमा एकै परिवारसँग ५५ लाख असुलियो

अपाङ्ग संघको पदाधिकारीको घिनैलाग्दो कर्तुत : हेरचाहको आवरणमा एकै परिवारसँग ५५ लाख असुलियो

काठमाडौँ : नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्षले मानसिक दुर्बलता भएको व्यक्तिलाई केन्द्रमा राख्न प्रतिब्यक्ती २० लाख रुपैयाँसम्म रकम लिएको खुलेको छ। उकेराको खोजमा संस्थाको अक्षय कोषमा रकम राख्ने भन्दै मानसिक रूपमा दुर्बल भएकाको एकै परिवारका तीन जनालाई केन्द्रमा राख्न संघका दुई पदाधिकारीले ५५ लाख रकम असुलेको खुलेको हो।

मानसिक रूपमा दुर्बल रहेका भण्डारी परिवारसँग संघका वर्तमान अध्यक्ष साम्देन लामाले ४० लाख असुलेको देखियो। उनले राजु भण्डारी र मञ्जु भण्डारीलाई केन्द्रमा राख्न २०-२० लाख रूपैयाँ लिएको देखियो। अर्का अध्यक्ष मोहन महर्जनले पहिल्यै स्वीकृती भण्डारीलाई केन्द्रमा राख्न उनको परिवारसँग १५ लाख रुपैयाँ लिएका थिए।

यी तीनै जना एकै परिवारका सदस्य हुन्। केन्द्रमा राख्दा  सदस्यको हेरचाह हुने आशमा भण्डारी परिवारले केन्द्रका दुई अध्यक्षलाई गरेर ५५ लाख बुझाएका थिए।  

स्वीकृती केन्द्रमा २०७३ साल देखि नै बस्दै आएकी थिइन्। करिब एक वर्ष अगाडि उनको बुबा राजु र फुपू मञ्जुलाई पनि संघको खगेन्द्र नवजिवन केन्द्रमा राखिएको हो। असोज १३ गते राजु अचानक केन्द्रबाट  हराएपछि उनको परिवारले प्रहरीमा खबर गरेका थिए। उनी केही दिनपछि ललितपुरको लुभुमा भेटिए। 

राजु हराएको घटनापछि नै केन्द्रका पदाधिकारीले उनीहरुको परिवारसँग पैसा असुलेको खुलेको थियो। केन्द्रको आजीवन सदस्य विदुर थापाका अनुसार राजुको परिवारले 'यत्ति धेरै पैसा दिएर पनि राम्रो सँग नहेर्ने ? भनेपछि उनीहरुले ५५ लाख दिएको खुलेको थियो।

विदुर यहाँको पूर्व विद्यार्थी समेत हुन्। उनका अनुसार केन्द्रमा बस्न यसअघि त्यति धेरै पैसा लिएको उनलाई जानकारी छैन।

स्वीकृती भण्डारी आएदेखि अक्षय कोषको बारेमा थाहा भएको उनले सुनाए। उनका अनुसार पछिल्लो समय अक्षय कोषमा पैसा राख्ने भन्दै केन्द्रका पदाधिकारीले पैसा लिने गरेका थिए। सबै पैसा कोषमा राखेर त्यसबाट आएको ब्याजबाट पालनपोषण गर्ने केन्द्रका पदाधिकारीले बताएको तर सो रकम कहाँ छ भन्ने नखुलेको उनले बताए। 

'त्यो पैसा अक्षय कोषमा राखेर त्यसको ब्याजले उहाँहरूको खर्च टार्ने अनि ती व्यक्तिको मृत्यु भयो भने त्यो सबै पैसा स्वतः केन्द्रको नाममा जान्छ भन्ने सुनेको हो’ उनले उकेरासँग भने’ तर, त्यो पैसा अक्षय कोषमा पनि राखिएको छैन भन्ने छ।'

केन्द्रमा रहेका ५३ जना  अपाङ्गका भएका व्यक्तिहरूको खर्च सरकारले ब्यहोर्छ। यसका लागि केन्द्रले वार्षिक एक करोड रूपैयाँ बजेट पाउने गरेको छ।

अन्य अपाङ्गता भएका व्यक्तिहरूले खान र बस्न केन्द्रलाई अलग्गै पैसा तिर्दै आएको खुल्यो। केन्द्रमा २१ जना अपाङ्गता भएका विद्यार्थी छन्। उनीहरूले आवासीय शुल्क भनेर केन्द्रलाई मासिक ६ हजार रूपैयाँ तिरिरहेको खुल्यो। तर भण्डारी परिवारले जस्तो एकमुष्ट बुझाउने भेटिएनन्।

केन्द्रको आफ्नै भवन छ। भवनको जग्गा अस्पतालका लागि भाडामा समेत लगाइएको छ। त्यहाँ रहेकाहरूको खाना लगायतका पक्षमा खर्च गर्न दाताहरूले समेत रकम दिने गरेका छन्। संघको भवनमा सटरहरु समेत रहेका छन्। ती रकम कहाँ खर्च हुन्छ पारदर्शी छैन।

केन्द्रमा बस्न स्थानीय तहले सिफारिस गर्ने नियम छ। तर संघले स्वीकृती समेत लिने गरेको छैन। उल्टो पदाधिकारीले सरकारी कोटामा नपरेका मानसिक दुर्बलता भएकाको हेरचाह गर्ने भनेर लाखौ पैसा असुले।

स्वीकृतीको परिवारले राम्रो हेरचाह हुन्छ भन्ने सुनेर उनलाई केन्द्रमा राख्ने प्रयास गरे। सरकारी कोटा पाएनन्। केन्द्रका पदाधिकारीले हेरचाहका लागि चाहिने पैसा अक्षय कोषमा राखिदिए राख्ने आश्वासन दिएपछि उनीहरूले १५ लाख दिएर उनलाई केन्द्रमा राखे।

८ वर्ष पछि उनको बुवा र फुपूलाई पनि परिवारले केन्द्रमा ल्यायो। केन्द्रका अध्यक्ष लामाले प्रतिव्यक्ति २० लाख मागे। परिवार दिए पनि। १५ लाख मात्र लाग्ने थाहा भएपछि उनीहरूले लामासँग गुनासो गरे। उनले १० लाख फिर्ता गरे।

स्वीकृतिलाई यहाँ ल्याउँदा तत्कालीन अध्यक्ष मोहन महर्जन थिए। अहिले स्थानीय साम्देन लामा छन्। केन्द्रमा व्यक्तिहरू राख्न पैसा असुलीबारे अध्यक्ष साम्देनसँग उकेराले जिज्ञासा राख्दा उनले स्वकृती आफू अध्यक्ष हुनुभन्दा पहिला नै आएको भन्दै बाँकी दुई जनालाई पनि पुरानै प्रक्रिया अनुसार राखेको दाबी गरे। उनले सबै पैसा अक्षय कोषमा भएको दाबी गरे।

'अगाडि जसरी केन्द्र चल्दै आएको छ मैले त्यसैलाई फलो गर्ने त हो। मैले मानसिक दुर्बलतालाई नराख्ने, धेरै फोहोर हुन्छ, हेरचाह गर्ने मान्छे पनि धेरै चाहिन्छ भनेको हो’ उनले भने’ अब परिवारले नै राख्नै पर्छ भन्न थालेपछि अगाडि जसरी राखिएको छ, त्यस्तै सहमतिमै राखिएको हो। उहाँहरूसँग १५ लाख भन्दा बढी लिएको छैन।'

क्यान्टिन सञ्चालिका असुलीमा सहयोगी 

स्वीकृतिको परिवारले देखाएको भौचर अनुसार दुई वटा भौचरमा १५/१५ लाख केन्द्रको नाममा काटेको देखिन्छ। परिवारका सदस्यका अनुसार लामाले केन्द्रमा क्यान्टिन चलाउने उषा कार्कीमार्फत थप १० लाख लिएका थिए। उनीहरूले १० लाख उषा कार्की वलीकी बहिनी निशा ओली र सन्तोष नाम गरेको व्यक्तिलाई दिएको देखियो।

१५ लाख लिएको लामाले नै स्वीकार गरे। पहिलादेखि नै यसरी नै पैसा लिने गरेको भएकाले आफूले पनि लिएको तर बढि पैसा नलिएको उनको दाबी थियो। उकेरासँग थप पैसा लिएको र फिर्ता गरेको प्रमाण सुरक्षित छ।
स्वीकृतिको परिवारले प्रहरीमा उजुरी दिएपछि उषा कार्की र साम्देन लामा गएर कार्तिक २२ र ३० गतेको दुइटा चेक दिएका थिए। दुवै चेकको रकम जोड्दा नौ लाख ५० हजार हुन्छ।

यसबारे लामालाई बताउँदा उनले पुजा लगाउन उनीहरुले दिएको बहाना बनाए। उनले फिर्ता गरेको चेक अक्षय कोषको लागि नभएर केन्द्रमा यज्ञ पूजा गर्न भण्डारी परिवारले नौ लाख पचास हजार दिएको र यज्ञ हुन केही समय लाग्ने भएर फिर्ता गरेको दाबी गरे।

केन्द्रमा राखिएकाहरुको अवस्था।

लामाले भनेको अक्षय कोषमा अन्य कसैले रकम राखेका छैनन्। केवल भण्डारी परिवारका तीन सदस्य राख्न मात्र पैसा लिएको देखियो। यो साम्देन पनि स्विकार गर्छन्।

अक्षय कोष भण्डारी परिवारको लागि मात्र बनाएको हो? भन्ने उकेराको प्रश्नमा उनले अक्षय कोष भण्डारी परिवारकै लागि मात्र बनाएको देखिएको र अक्षय कोषमा भण्डारी परिवारले दिएको बाहेक अन्य पैसा नभएको उकेरालाई बताए।

स्थानीय तहबाट लिइएन सिफारिस

अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राख्दा स्थानीय निकायको सिफारिस चाहिन्छ। तर, केन्द्रमा राख्न उनीहरूले स्थानीय तहको सिफारिस लिने गरेको देखिएन।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामाले सरकारी कोटामा राख्दा समेत सम्बन्धित वडाबाट सिफारिस लाने गरिए पनि केन्द्रले भने सिफारिस नमागेको बताए।

गन्हाउने कोठामा बस्न १५ लाख शुल्क

१५ लाख तिरेर केन्द्रमा बसेकी स्वीकृति भण्डारी राखिएको कोठा छिर्नै नसक्ने अवस्थामा थियो। गन्हाउने कोठामा उनलाई कपडाको डोरीले बाँधेर राखिएको थियो। राजु र मञ्जुलाई छुट्टाछुट्टै कोठामा राखिएको छ।

केन्द्रमा रहेकाहरुको खाना खाने स्थान अनि कर्मचारी लगायतकाहरुले खाना खाने स्थान।केन्द्रभित्र दुई वटा मेस रहेको देखियो। गृहको मेसमा यहाँका सबै अपाङ्गता भएका व्यक्तिहरूले खान खान्छन्। अर्को मेसमा सात जना अपाङ्गता भएको व्यक्ति सहित केन्द्रका कर्मचारी र नजिकको हस्पिटलको डाक्टरहरूले खाना खाने गरेका छन्।

सफा मेसमा खाना खाने ७ जना अपाङ्गता केन्द्रका पुराना भएको खुल्यो। अहिले सो मेसमा ताला लगाइएको छ। अहिले केन्द्रमा रहेकाहरू लामा र कार्कीमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन्।

१३ मंसिर, २०८०, १९:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।