अपाङ्ग संघमा बदमासी-४ : अबैध मेस चलाउने नै संघको सल्लाहकार, यौन दुर्व्यवहारमा मुछिएपछि तालाबन्दी

अपाङ्ग संघमा बदमासी-४ : अबैध मेस चलाउने नै संघको सल्लाहकार, यौन दुर्व्यवहारमा मुछिएपछि तालाबन्दी

काठमाडौं : नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा सञ्चालन भइरहेको मेस(क्यान्टिन) कानुनी प्रक्रियाबिना सञ्चालन भएको खुलेको छ।

आन्दोलनरत अपाङ्गता भएका व्यक्तिहरूले सधैँको लागि बन्द गर्नुपर्ने माग राखेको मेस सम्बन्धित वडा, नगरपालिका समेतको सिफारिस र नविकरणविना सञ्चालन भएको पाइएको हो।

उकेराले प्राप्त गरेको कागजात अनुसार संघको केन्द्रीय कार्यसमितिको बैठकले मेस सञ्चालक उषा कार्की वलीलाई शर्तहरू पुरानै सम्झौता अनुसार लागु हुने गरि पाँच वर्षको लागि करार सम्झौता गरेको देखिन्छ।

तर, यसमा सम्झौता अवधि सकिएपछि फेरि नयाँ प्रक्रियामा नगई त्यसैमा करार अवधि थप गर्दै मेस सञ्चालनमा आएको देखिएको हो।

संघका अपाङ्गता भएका व्यक्ति, यस अन्तर्गतका निकायहरूमा कार्यरत कर्मचारी, शिक्षक, नर्स, डाक्टर र बिरामी आदिका लागि भनेर २०६५ साउनदेखि २०६६ असारसम्म जम्मा एक वर्षका लागि भनेर संघले पहिलो पटक टेण्डर गरेको थियो।

जसमा उषासहित जया घिमिरे, तारा बस्ताकोटी र सहदेव दंगालले टेण्डर दर्ता गरेका थिए। त्यसैको आधारमा उषालाई मेस सञ्चालनको अनुमति दिइयो। तर, त्यसपछि पुन:प्रतिस्पर्धा भएन। संघ पदाधिकारीले उनैलाई मेस सञ्चालन गर्न दिइरह्यो।

यसअघिको सम्झौता अनुसार २०७६ मा समयावधि सकिने भने पनि फेरि उनैलाई थप ५ वर्षको करार अवधि थपेर दिइयो।

जसमा ‘मेसको उत्तरतर्फको खाली ठाउँमा आफ्नै खर्चमा ट्रस्ट बनाइ बस्ने ठाउँ र मेस जाने बाटोको पूर्व तर्फको खाली ठाउँमा गार्डेन बनाउने’ सम्झौता समेत उल्लेख छ।

अनि मेसमा ताला लाग्यो

केन्द्रमा दुईवटा मेस छ। एउटा मेसले सबै अपाङ्गता भएकाहरूलाई खुवाउँछ  भने उषाको मेसमा जम्मा सात जना अपाङ्गता भएकाहरूलाई मात्र खाना खुवाउने गरिन्थ्यो। त्यहाँ खाना खाने सात जना केन्द्रका सबै भन्दा पुराना अपाङ्गता भएका व्यक्तिहरू हुन्।

उनको अर्को मेस केन्द्रका लागि भन्दा पनि व्यावसायिक रूपमा चलिरहेको थियो। उनीहरूलाई दैनिक प्रतिव्यक्ति ९५  रूपैयाँमा  खानाको व्यवस्था गरिएको थियो।

कानुनअनुसार कुनै पनि व्यावसायिक काम गर्न सम्बन्धित स्थानीय निकायको समन्वय र सिफारिस आवश्यक हुन्छ। तर, मेसले भने वडाबाट अनुमति नलिएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामाले बताए।

‘वडामा कुनै क्यान्टिन खोल्न परोस्, मेस खोल्न परोस्, वडासँग समन्वय त गर्नैपर्छ। त्यसको लागि टेण्डर आह्वान गर्नुपर्छ। अनि पो त्यही अनुसार प्रक्रिया पुर्याएर कानुनअनुसार हुन्छ’, उनले भने।

‘टेण्डर नलिएर, समन्वय नगरेर सञ्चालन भएको मेस त स्वतः कानुन विपरीत भएको पुष्टि भइसक्यो नि! पहिला पनि व्यक्तिगत रूपमा अनुमति लिनुभएको रहेछ। मेस त व्यक्तिगत हुँदैन, व्यावसायिक रूपमा चल्नुपर्छ। वडामा कर तिर्नुपर्छ। त्यो मेस सम्बन्धी हामीकहाँ कुनै पनि पत्र आएकै छैन। कर पनि तिरेको पाइएको छैन’ उनले भने।

मेस सञ्चालिका उषा कार्कीमाथि यहाँका विद्यार्थीहरूले गम्भीर आरोप लगाउँदै अहिले मेसमा ताला लगाइदिएका छन्। यसबारे केन्द्रको अध्यक्ष साम्तेन लामालाई विद्यार्थीहरूले मागसमेत राखे। तर सम्बोधन नभएपछि असोज १४ गते तालाबन्दी गरे।

मनोमानी रूपमा ताला तोड्दै अध्यक्ष

केन्द्रमा रहेका विद्यार्थीहरूको माग अध्यक्ष साम्तेनले वास्तै गरेनन्, उल्टो असोज १७ गते राती ताला तोड्न लगाए। त्यसबेला केन्द्रमा झडप पनि भयो।

झडपपछि विद्यार्थी लगायतका अपाङ्गता भएका व्यक्तिहरू वडा कार्यालयमा पुगे। नगरपालिकाले उपमेयर सान्नानी लामाको संयोजकत्वमा छानबिन समिति गठन गर्यो। तर, समितिबाट अहिलेसम्म ठोस निर्णय आएको छैन।

केन्द्रमा रहेकाहरुले नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायतका निकायहरूमा पुगिसके। तर, कतैबाट कारबाहीको प्रक्रिया अघि बढेको छैन।

केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरू राख्न एकै परिवारबाट ५५ लाख रूपैयाँसम्म लिएको, केन्द्र भित्रका अपाङ्गता भएका महिलाहरूलाई यौन दुर्व्यवहार गरेको लगायतका गम्भीर विषय सार्वजनिक भइसकेका छन्। तर सम्बन्धित निकायले गम्भीर चासो दिएको छैन।

अध्यक्ष साम्तेन लामाले पटक-पटक ताला तोड्ने गरेको र आफुहरुले तत्कालै ताला बन्द गर्न पहल गरेको विद्यार्थी पुष्पराज भट्टले बताए।

‘पहिला पो हामीले प्रक्रियाबिना बन्द गरेको भएर उसले खोल्दा पनि चुप लागेर बसेका थियौँ। अब त वडादेखि लिएर जिल्ला प्रशासन कार्यालयसम्मले यस बारेमा थाहा भइसकेको छ। अब पनि प्रक्रियाबिना ताला खोल्नु आफैँमा गैरकानुनी देखिन्छ नि’, उनले भने।

बुधबार मात्र पनि अध्यक्ष आएर ताला खोलेर केही कागजातहरू लिएर गएको उनले बताए।

उनी भन्छन्, ‘वडा अध्यक्षदेखि लिएर सम्बन्धित सम्पूर्ण निकायको रोहवरमा कार्यालय खोल्नुपर्यो भने त हामी किन रोक्थ्यौँ र! हामी त चाहन्छौं यो छिटोभन्दा छिटो खोलोस् र सम्पूर्ण आरोप, प्रत्यारोपहरू बाहिर आओस्।’

मेस सञ्चालिकालाई संघको सल्लाहकार!

केन्द्रको अध्यक्षको रूपमा निर्वाचित भएर साम्तेन लामा आएको एक वर्ष भयो। अध्यक्ष भएको तीन महिनामा उनले मेस सञ्चालिका उषालाई केन्द्रको ‘समाजसेवी सल्लाहकार’ पदमा मनोनीत गरे।

उषा विरुद्ध चेपाङ बालबालिकालाई पढाउने भनेर ल्याएर यौन व्यवसायमा लगाएको गम्भीर आरोप समेत छ। धेरै अगाडिदेखि केन्द्रमा उश्रृङ्खल कार्य गरेको/गराउँदै आएको आरोप उनीमाथि विद्यार्थीहरूले लगाउँदै आएका छन्।

त्यस्तो अवस्थामा उनैलाई केन्द्रीय सल्लाहकार बनाएको थाहा पाएपछि केन्द्रका अध्यक्षको झन् आलोचना भयो। अपाङ्गता भएकाहरूको आन्दोलनले उग्र रूप लिने देखिएपछि उनले सुटुक्क राजीनामा दिइन्।

‘लामो समयदेखि केन्द्रमा बसिरहनुभएको र केन्द्रको लागि धेरै काम गर्नुभएको भएर हामीले त सम्मान स्वरूप मात्र उहाँलाई सल्लाहकारमा राखेका थियौँ,’ केन्द्रका अध्यक्ष साम्तेन भन्छन्, ‘तर, सबैले यसलाई धेरै नै नराम्रो रूपमा लिनुभयो। अनि पछि बैठक नै बोलाएर हामीले सल्लाहकार बन्ने कि मेस सञ्चालिका भनेर सोध्दा उहाँले राजीनामा दिनुभयो।’

संघसँग भएको सम्झौता अनुसार २०८१ सालको असार मसान्तसम्म उनलाई मेस सञ्चालन गर्न दिइनेछ। त्यसपछि कानुनी प्रक्रियाअनुसार अघि बढ्ने अध्यक्ष साम्तेनले बताए।

विवाद बढेपछि वडाअध्यक्षलाई पदेन सदस्यको पत्र

विवाद बढेपछि संघले वडाअध्यक्ष नवराज लामालाई पदेन सदस्यमा राखेको पत्र पठायो। तर लामाले पत्र लिएका छैनन्। नियमअनुसार वडाभित्र रहेका कुनै पनि संस्थामा वडाअध्यक्ष पदेन सदस्य रहने व्यवस्था भए पनि संघले ‘त्यो यहाँ लागू नहुने’ भनेपछि यसबाट टाढै रहेको उनको भनाइ छ।

‘अब यत्रो ठूलो विवाद भएपछि मलाई सदस्य भएको पत्र पठाइरहेको थियो। उनीहरूलाई चाहिने बेला मात्र खोजेर हुन्छ? नियमअनुसार चल्नु पर्दैन? त्यही भएर मैले त त्यति धेरै चासो पनि राखेको छैन’, उनले भने।

संघले विभिन्न कर समेत नतिरेकाले यस वर्ष संस्थाको नवीकरण समेत नहुने उनले बताए।

उकेराले प्राप्त गरेको कागजातअनुसार यही कात्तिक १५ को केन्द्रीय कार्यकारिणी पदाधिकारी कार्यसम्पादन समितिको बैठकले वडा अध्यक्षलाई पदेन सदस्यमा मनोनीत गरेको देखिन्छ। जब कि संघमा रहेका अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलन गरेकै महिनौं भइसक्यो।

अपाङ्ग संघमा अपराध श्रृङ्खलाका यसअघिका समाचार:-

२४ मंसिर, २०८०, १८:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।