अपाङ्ग संघमा बदमासी-९ : सबै कोष रित्तै, आर्थिक विवादमा फसिने भयले पदाधिकारीले दिए राजीनामा

अपाङ्ग संघमा बदमासी-९ : सबै कोष रित्तै, आर्थिक विवादमा फसिने भयले पदाधिकारीले दिए राजीनामा

काठमाडौँ : आर्थिक विवादमा तानिँदै आएका नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका पदाधिकारीले राजीनामा दिएका छन्। साम्देन लामाको नेतृत्वमा काम गर्न नसक्ने भन्दै संघका चार पदाधिकारीले राजीनामाको घोषणा गरेका छन् भने कोषाध्यक्षले राजीनामा बुझाइसकेका छन्।

अध्यक्ष लामा अवैधानिक ढंगबाट नेतृत्वमा आएको, अपाङ्गता भएका व्यक्तिलाई राख्नको लागि लाखौँ रकम असुलेको र अपाङ्गता भएकाहरूको बिजोग बनाएको विषयमा उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।

संघका गतिविधिबारे उठेका विषयमा अध्यक्षले पदाधिकारी र सदस्यहरूलाई जानकारी नदिएकाले उनको नेतृत्वमा बसेर काम गर्न नसकिने भन्दै उपाध्यक्षद्वय चन्द्रप्रसाद तिमिल्सिना र शरद अधिकारी, उपमहासचिव धर्मराज पन्त, कोषाध्यक्ष रामप्रसाद कोइराला र उपकोषाध्यक्ष सुरेश श्रेष्ठले राजीनामा दिएका हुन्।

संघको केन्द्रीय पदाधिकारी समितिमा जम्मा आठ जना सदस्य छन्। जसमा एक जना अध्यक्ष, महासचिव, दुई जना उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्ष, उपकोषाध्यक्ष र एक जना अनन्त भूपू अध्यक्ष रहने व्यवस्था छ।

यी मध्ये भूपू अध्यक्षमा धनजुजु श्रेष्ठ छन्। अध्यक्षमा लामा, र महासचिवमा शिव चन्द्र साह छन्। यी बाहेक अन्य पाँचै जना पदाधिकारीहरूले राजीनामा दिएका हुन्।

राजीनामा दिने कोषाध्यक्ष कोइरालासहितका अन्य पदाधिकारी काठमाडौँ बाहिरका भएकाले उनीहरूले अनलाइनबाट राजीनामा पत्र पठाएका छन्। कोइरालाले भने लिखित राजीनामा बुझाइसकेका छन्।

'विवादकै बिचमा पनि चेकमा सही गर्न लगाए'

राजीनामा बुझाएका कोइरालाले संघको आर्थिक पारदर्शिताबारे प्रश्न उठिरहेकै बेलामा चेकमा साइन गर्न दबाब आएकाले राजीनामा दिएको उकेरासँग बताए।

'मैले पुस २३ गते राजीनामा दिएको हु,' कोषाध्यक्ष कोइरालाले उकेरालाई भने, 'राजीनामा स्वीकृति भएको छैन। स्वीकृति नभए पनि म दोहोरिन चाहन्न। यस्तो विवाद परिरहेको बेलामा चेकमा सही गरेर आफै विवादमा आउला भन्ने डर भयो। त्यै भएर तुरुन्त छोडेर हिँडेको। आनन्द भयो ।'

अध्यक्षको दबाबमा सधैँ चेकमा सही गर्न परेको र विवाद भइरहेकै समयमा पनि चेकमा सही गर्न लगाएको उनले बताए। केन्द्रको बदमासी बाहिरिए पछि यहाँका अपाङ्गता भएकाहरूले आन्दोलन गरेको पाँच महिना बढी भइसक्यो। यसबिचमा ३-४ पटक केन्द्रीय समितिको बैठक बसे पनि विवादबारे अध्यक्ष लामाले कसैलाई केही नबोल्न निर्देशन दिएको उनले बताए।

'एक पटक केन्द्रीय सभा नै भयो। सभा सुरु हुनुभन्दा अगाडि नै अध्यक्षज्यूले त्यो कुरा चैँ नल्याउनु है, संस्थाको बेइज्जत हुन्छ, बदनाम हुन्छु भन्नुभयो,' उनले भने,'अगाडी नै त्यसो भनेपछि सबै जना चुप लागेर बसे। विवादको कुरा नै छायामा पर्यो। आफै अपाङ्ग भए पनि मैले आफ्नो वर्गको लागि केही गर्न सकिन।'

उनका अनुसार यही मङ्सिर २९ र ३० गते दाङ्गमा बैठक बसेको थियो। कार्यसमितिको बैठकको लागि चार लाख रुपैयाँ खर्च गर्नु पर्ने भए पनि त्यसबेला अध्यक्ष लामाले छ लाखको चेकमा सही गर्न लगाएको उनले दाबी गरे।

'आफू त फस्यो फस्यो। सही त हाम्रो आउने भयो। उहाँ आफै पनि अवैधानिक ढंगबाट निर्वाचित हुनुभएको हामीले समाचारबाटै थाहा पाएका हौँ,' उनले भने,'जुन शाखामा बैठक बस्ने हो त्यही शाखाको नाममा चेक काटेर पठाउनु पर्ने हुन्छ।  अनि सोही शाखाले सबै व्यवस्थापन गर्ने हो। त्यसबेला आधी उता पठाएर साढे चार लाखको चेक काट्नु भयो।'

बैठकको भत्ताको नाममा दुई लाख काट्ने र जम्मा छ लाख बराबरको खर्च हुने उनले बताए। जिल्लाको सदस्यहरूले बैठक भत्ता एक पटकमा १८/२० हजार बुझ्ने गरेको उनको भनाइ छ।

कोषाध्यक्ष कोइराला दैलेखबाट २०३४ सालमा केन्द्रमा आएका हुन्। उनी यहीका विद्यार्थीहुँदै कर्मचारीसम्म बने। काठमाडौँ जिल्लाको आजीवन सदस्यदेखि उपाध्यक्ष समेत भइसकेका छन् उनी।

राजीनामा दिएपछि अध्यक्षज्यूले दुई चोटि फोन गरेको र आफूले फुटेको सिसा जस्तो भएँ अब तपाईँसँग जोडिन सक्दिन भनेर जवाफ दिएको उनले बताए।

कोष त्यसमा पैसा छैन !

केन्द्रको जग्गा र भवनमा कसरी अवैधानिक ढंगबाट क्यान्टिन चलिरहेको छ भनेर यसअघि उकेराले समाचार प्रकाशित गरिसकेको छ। कोषाध्यक्ष कोइराला बाहेक अरू पदाधिकारीहरूले बाहिरी जिल्लामा सित लहर लागेको कारण काठमाडौँ आउन नपाएको बताए।

'म आफैलाई सन्चो छैन। जाडोमा लामो यात्रा गर्नु सम्भव पनि छैन,’ केन्द्रको उपाध्यक्ष तिमिल्सिना भन्छन्’त्यै भएर फेसबुकबाटै राजीनामा दिएको घोषणा चैँ गरिसके।'

संघमा 'अपाङ्ग कोष' र 'अपाङ्ग पुनर्स्थापना कोष' भनिए पनि संघको कुनै पनि कोषमा रकम नभएको उनले बताए।

'त्यो त विवादमा आएका कोष मात्र हुन् । ती बाहेक संघमा जमाना देखिनै रहेको कोषहरूमा समेत केही छैन,' उनले भने, 'अक्षय कोषहरू सबै टाट पल्टियो। पैसा नभएर अस्तिमात्र १८ वटा अक्षय कोषको खाता बन्द गरियो। केही समस्या पर्यो कि,अक्षय कोषबाट चलाउने रहेछ। नत्र सङ्घ धनी संस्था हो। करोडौँ रकम हुनुपर्ने कोषमा तर पैसा छैन।'

उनका अनुसार २०५१ साल देखि शाखाहरू सञ्चालनमा भएपछि विवाद सुरु हुन थालेको हो। २०७० सालमा मोहन महर्जन अध्यक्ष भए। त्यसपछि क्रमशः गजेन्द्र लामा, धनजुजु श्रेष्ठ र अहिले साम्देन लामा अध्यक्ष छन्।

धनजुजुको पालामा पनि नौ महिना संघको कार्यालयमा तालाबन्दी भएको थियो। मोहन महर्जनलाई त कालोमोसो समेत लगाइएको थियो।

'आवाज उठाउँदा अध्यक्षले बैठकमै चुप लाग्नु भन्नुहुन्थ्यो'

उनका अनुसार संघको शाखा खुलेपछि भाँडभैलो सुरु भएको हो। जोरपाटीमा संघको भौतिक संरचना राम्रो भएको तर संस्थाको नेतृत्व संरचना कमजोर रहेको उनले बताए।

'शाखा खुले पछि भाँडभैलो भयो। २०७० सालदेखि त संघमा ग्रहण नै लाग्यो,' उनी भन्छन्, 'भौतिक संरचना त गजब छ। तर, यस भित्रको पुरै संरचानानै ध्वस्त भयो। बैठकमा आवाज उठाउँदा पनि सुनुवाइ हुँदैन। केही भन्न लाग्यो कि अध्यक्षले तपाई चुप लाग्नु, तपाई चुप लाग्नु भनिहाल्ने' उनले भने।

भण्डारी परिवारको लागि भनेर खोलिएको कोषका लागि ३० लाख रूपैयाँ लिएकोमा साक्षी उनै कोषाध्यक्ष कोइरालालाई बनाइएको थियो। कागजमा भए पनि खातामा त्यो पैसा नरहेको उनले बताए। सम्बन्धित व्यक्ति संघबाट गायब भएपछि एकै परिवारका तीन सदस्य संघमा राख्न ५५ लाख असुलेको खुलेको थियो। त्यसमा १० लाख फिर्ता गरे पनि ४५ लाख कोषमा छैन।

अर्थोपेडिक हस्पिटलबाट कोषको लागि भनेर ८८ लाख बुझिसकेको छ संघले। तर, सो रकम पनि कोषमा नभएको कोइरालाले बताए।

आठमध्ये पाँच पदाधिकारीले राजीनामा दिएकोबारे अध्यक्ष लामासँग बुझ्दा उनले कसैले राजीनामा नदिएको दाबी गरे। 

अपाङ्ग संघमा अपराध श्रृङ्खलाका यसअघिका समाचार:

५ माघ, २०८०, १८:४९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।