विशाल भण्डारीको चोरी यात्रा : विक्कीलाई बनाए कपिल, दीपाश्री बनिन् अर्चना

विशाल भण्डारीको चोरी यात्रा : विक्कीलाई बनाए कपिल, दीपाश्री बनिन् अर्चना

काठमाडौँ : नक्कलै गरे पनि कमेडी क्लब सफल भएपछि हौसिएका विशाल भण्डारी नयाँ शो लिएर आए कमेडी क्लब विथ च्याम्पियन्स। यसको निर्देशकमा उनकै नाम छ। तर ओपनिङ थिमदेखि सेट डिजाइनसम्म सबै कपिल शर्माको छाँया देखिन्छ।

लफडा आएको आयै गरेपछि उता भारतमा कपिल शर्माले कमेडी नाइट विथ कपिल शर्माको नाम बदलेर द कपिल शर्मा शो राखे। यता विशाल भने त्यसको धङधङीमै रैछन्। शर्माले छाडेर के भो म ल्याउँछु भन्दै उनले केही शब्द यताउति पारेर ल्याए कमेडी क्लब विथ च्याम्पियन। तर कार्यक्रमको स्तर खासामा पाइने आईफोन समान देखियो।

विशालले सिक्किमका विक्की अग्रवाललाई कपिल बनाउने प्रयास गरेका छन्। अनि दीपाश्री निरौलालाई अर्चना पुरन सिंह। केटा केटीको भूमिकामा आउने रोल उहीँ फुलन्देकी आमाले निभाइन्। उषा रजक, सजन श्रेष्ठ , मेक्सम गौडेल, कैलाश कार्की र पवन भट्टराई नि जोडिएका छन् विभिन्न भूमिकामा।

कार्यक्रमको ब्याकग्राउन्ड म्युजिक, कार्यक्रमको थिम, सेट डिजाइन अनि कार्यक्रमका प्रस्तुति कतै नयाँपन देखिएन पहिलो एपिसोडमा। पहिलो कार्यक्रमका अतिथि दीपकराज गिरी थिए। विक्कीले भनिदिए'किङ अफ कलिउड'। दीपक मक्ख।
दीपक छाँयाकन पनि नथालिएको छक्का पन्जा ४ को प्रमोसनमा आएका रहेछन्। जसको नाम मात्र न्वारन भएको छ त्यो पनि उहिल्यै। दीपक कार्यक्रममा आउँदा दीपाले नमस्कार गर्दै स्वागत गरेको पनि कस्तो कस्तो देखियो। न टिभी सेट न फिल्मी पर्दा, न रिल न रियल कतै एक्लै नदेखिएकाले होला नमस्कार अलि असहज देखिएको।

मुन्द्रेको कमेडी क्लब पनि कपिलकै योगदान थियो। त्यसमा पहिला दीपा नै थिइन् कुर्सीमा बस्ने र हाँस्ने भूमिकामा। पछि करिष्मालाई ल्याए मुन्द्रेले। कार्यक्रम बन्द भयो। अहिले नाम फरक तर उस्तै कार्यक्रममा दीपा आएर बदला लिइन् मुन्द्रेसँग।

राम्रो कार्यक्रम मौलिक बनाउन नसक्दा नक्कलै भए पनि दर्शकले चित्त बुझाउनै पर्यो। तर कमसेकम ब्याकग्राउन्ड म्युजिक त आफ्नै बनाउन पक्कै सकिन्थ्यो।अब त्यति पनि आफ्नै बनाउन नसक्नेले प्रस्तुति कतिको मौलिक बनाउँदै लैजाने हुन् त्यसका लागि केही एपिसोड कुर्नैपर्छ। तर पारा गतिलो देखिएन पहिलो एपिसोडमा। 

७ चैत, २०७८, ०१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।