आफ्नै फ्यानको ‘अधुरो प्रेम’को कथामा फिल्म निर्माण गर्दै शिशिर खाती

आफ्नै फ्यानको ‘अधुरो प्रेम’को कथामा फिल्म निर्माण गर्दै शिशिर खाती

काठमाडौं : शिशिर खातीले आफ्नै फ्यानको कथामा आधारित फिल्म ‘अधुरो प्रेम’ निर्देशन गर्ने भएका छन्। उनले कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’को कथामा फिल्म निर्माण गर्न लागेका हुन्।

यस फिल्मलाई गत वर्ष रिलिज भएको फिल्म ‘रंगेली’का निर्देशक अर्जुन सुवेदीले लगानी गर्दैछन्। शनिबार राष्ट्रिय सभागृहमामा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६० औँ शृङ्खलामा साइग्रेस आफैले फिल्मको घोषणा गरेका थिए। उनले फिल्मको बारेमा जानकारी दिँदै यस फिल्मलाई  खातीले निर्देशन गर्न बताए। 

प्लानेट थ्री फिल्मस्ले निर्माण गर्न लागेको यस फिल्मलाई ‘रङ्गेली’ का निर्देशक सुवेदीले लगानी गर्दैछन्। 

नेपाली युवापुस्तामाझ चर्चामा रहेका साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्षअघि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो उपन्यास ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ। यही सुनेको आधारमा निर्देशक खातीले फिल्म बनाउने योजनामा आफू लागेको बताए।

उनका अनुसार साइग्रेसको नोभेल अडियो सुनेको तर उनलाई भेट्न कठिन भएको बताउँदै यसै फिल्मका निर्मातामार्फत भेटेको अनुभव सुनाए। 

‘मैले लगातार सात/आठ महिनादेखि चलचित्रको विषयलाई लिएर पिछा गरिरहेको थिएँ,’ उनले फिल्म घोषणा गर्नुअघिको कुरा सुनाउँदै भने, ‘धेरै पटक उहाँलाई भन्ने कोसिस गरेँ, तर सकिँन। एक दिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ। भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो।’

निकै उत्साहित रहेको निर्देशक खातीले आफ्नो सपना पुरा हुन लागेको बताए।

उनले थपे, ‘म आज तपाईँसामु जसरी बोलिरहेको छु, २०८२ सालमा फिल्म रिलिजपछि पनि बोल्ने हिम्मत हुने गरी फिल्म बनाउनेछु।’ 

लेखक साइग्रेसका अनुसार यो फिल्मका लागि सुजन चापागाईं र उनको टिमले गीत तयार पार्नेछ भने यो गीत फिल्ममा हुनेछैन।

उनले भने, ‘मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो। मलाई साह्रै नै डर लाग्यो। त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ। उहाँले हुँदैन भन्दै ‘मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु’ भन्नुभयो।’

उनले थपे, ‘मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ। अब तपाईँको प्रेमले सफल हुनेछ।’

आगामी वर्षलाई रिलिज लक्ष्य राखिएको फिल्मका कलाकार र अन्य टिमको विषयमा भने निर्माण टिमले टुङ्गो लगाइनसकेको फिल्मका निर्माण नियन्त्रक मनोज जोशी रहेको जानकारी दिए। 

जेठ ६, २०८१ आइतबार १५:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।