आफ्नो बायोपिक फिल्म ‘आचार्य’का लागि आफ्नै छोरा सत्यलाई अफर गरेका थिए भक्तराज आचार्यले

आफ्नो बायोपिक फिल्म ‘आचार्य’का लागि आफ्नै छोरा सत्यलाई अफर गरेका थिए भक्तराज आचार्यले

काठमाडौं : १५ वर्षअघि निर्माण भएको फिल्म ‘आचार्य’ यतिबेला रिलिजको तयारीमा छ। आगामी असार ७ गते प्रदर्शनमा आउन लागेको यो फिल्म भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित छ। यो फिल्ममा भक्तराजको भुमिकामा उनकै छोरा सत्यराज आचार्यले मुख्य भुमिका निवार्ह गरेका छन्। १३ वर्षअघि रिलिज गरिएको यो फिल्मलाई उनीहरुले आफ्नो पिताको देहान्त भएको केही महिनापछि नै रिलिजको घोषणा गरेका हुन्। 

गायनमा परिचित रहेका सत्यराजले फिल्ममा केही दृश्य थपेर रिलिज गर्न लागेको बताए। उनका अनुसार भक्तराजको निधन भएपछिका केही दृश्यहरु समेत समावेश गरेर पुन सम्पादन गरिएको छ। भक्तराजको गत फागुनमा निधन भएको थियो। बुबाकै प्रेरणा र अफरमा आफूले फिल्ममा डेब्यु गर्न पाएको सत्यराजले बताए। यो फिल्ममा आफूले अभिनय गर्न पाउनु बुबा (भत्तराज)देन रहेको उनको भनाइ छ। 

सत्यराजले अभिनयमा आफ्नो रुचि सानैबाट भएको र आफू १२ वर्षको उमेरमा नै नाटक लेखेर भाई स्वरुपराजलाई अभिनय गराएको बताए। उनले भाईलाई मात्र नभई आफूले पनि खेलेको अनुभव साटे।  

पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो फिल्ममा आउने मोह सानैबाट थियो। मैले १२ वर्षको उमेरमा नाटक लेखेको थिएँ। मैले आफैले लेखेको नाटकमा स्वरुपराज आचार्यलाई नै खेलाएको थिएँ र आफैं पनि खेल्थेँ। ममा एउटा सानैदेखिको प्रभाव थियो। एकदमै एक्टिङ गर्ने, फिल्ममा स्वरुप र म हिरो र भिलेन बनेर फाइट खेल्ने गर्थ्यौं, त्यो बेलामा। बच्चा बेलामा यस्तो नाटक धेरै गरियो।’ 

उनले फिल्ममा आफूले हिरोले नै गीत गाउने होला भन्ने लागेको र गायनमा आफूलाई लागेको बताए। 

‘फिल्ममा पनि गायकले गीत गाएको हुन्छ भन्ने थाहा थिएन। फिल्म हेर्दा शिव श्रेष्ठले नै गाएको लाग्थ्यो। गायक हुन्छन् भन्ने कुरा धेरैपछि थाहा भयो,’उनले भने।

सत्यराजले फिल्ममा चासो भइरहेको अवस्थामा आफूलाई बुबाले खेल भनेपछि उत्साहित हुँदै खेलेको अनुभव सुनाए। 

उनी भन्छन्,‘ प्रशान्त रसाइलीले एउटा स्क्रिप्ट लिएर आइसकेपछि त्यो स्क्रिप्ट बुबालाई सुनाइयो। स्क्रिप्ट सुनाइसकेपछि बुवाले प्रशान्तलाई कसलाई राख्ने बिचार गर्नुभएको छ भन्ने प्रश्न गर्नुभएको थियो। प्रशान्तले कुनै एक कलाकारको नाम लिनुभएको थियो। उसले हार्मोनियम बजाउन सक्छ त भन्ने प्रश्न गर्नुभयो। प्रशान्त एकछिन अकमकियो। यो त मैले सोचेकै थिइँन भन्ने जवाफ आयो।’

भक्तराजले आफ्नो बारेमा फिल्म बनोस् भन्ने चाहेको तर पात्रमा अड्किएका रहेछन्। सत्यराजले १५ वर्षअघिको कुरा सम्झँदै आफ्नो बुबाले बोलेको कुरा बिस्तार लगाए। 

‘तिमीले एउटा गायक तथा संगीतकारको बायोपिक बनाउँदैछौ भन्ने प्रश्नमा प्रशान्तले छ महिनाको ट्रेनिङ दिएर बनाउँछु भन्ने जवाफ दिनुभएको थियो,’ सत्यराजले बुबाले भनेको कुरा सम्झँदै भने, ‘गायक कुनै औषधि पसलमा पाइँदैन। ६ महिनामा गायक बन्न सकिँदैन। यो सत्य छँदै छनि, यसैलाई अभिनय गराउनु। मेरो अनुहार पनि मिल्छ। यसले सानैबाट अभिनय पनि गर्दै आएको छ।’ 

सत्यले आफू कलाकार बन्नुमा बुबाको ठुलो देन रहेको बताए। उनले बुबालाई सम्झँदै केही छिन भावुक बने। 

नाटकमा अभिनय गर्दै आएका अभिनेता विपिन कार्कीले फिल्ममा डेब्यु गरेका थिए। सत्यराज र विपिनका अलावा फिल्ममा सुनिल पोखरेल, अरूणा कार्की, दयाहाङ राई, सौगात मल्ल लगायतको पनि अभिनय छ।

फिल्मको ट्रिमिङ्ग तथा पुनः सम्पादनको काम ‘टुल्की’ निर्देशक देवजंग थापाले गरेका छन्। फिल्मका निर्माता रोशन राई हुन्। १५ वर्षअघि निर्माण भएको यो फिल्मको लागत २ करोड भन्दा माथि पुगेको अभिनेता सत्यराजले बताए। तर फिल्मको लगानी त्यस बेलाको सर्वाधिक भएता पनि फिल्मले भने लगानी उठाउन नसकेको स्वीकार गरे। उनका अनुसार त्यतिबेला यस्तो फिल्म हेर्ने दर्शकको बानी नभएको कारणले फिल्म चल्न नसकेको र अहिले समय निकै फेरिएकाले यो फिल्म प्रदर्शन गर्ने समय भएको उनले दाबी गरे। 

नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले यो फिल्मलाई प्रदर्शन गर्नेछन्। 

जेठ ७, २०८१ सोमबार १८:३१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।