बीवाइडीको नेपाल बिक्रेता साइमेक्स ५४ करोड कर छलीको अनुसन्धानमा, राजस्व अनुसन्धान विभागले लग्यो कागजपत्र

बीवाइडीको नेपाल बिक्रेता साइमेक्स ५४ करोड कर छलीको अनुसन्धानमा, राजस्व अनुसन्धान विभागले लग्यो कागजपत्र

काठमाडौँ : विद्धुतिय सवारी बीवाईडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो–३ को आयातमा कर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

असार ४ गते राजस्व अनुसन्धानले साइमेक्सको कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रण लिएको हो। यस विषयमा उकेराले विभागमा बुझ्दा थप अनुसन्धान भइरहेको विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए।

‘साइमेक्सको कागजपत्र नियन्त्रणमा लिएका छौँ। अनुसन्धानकै चरणमा छ’ उनले भने।

साइमेक्सले भन्सार छल्न पिक पावर घटाएर ल्याएको राजस्व अनुसन्धानको दाबी छ। चीनमा अटो ३ को मोटर पिक पावर १५० भए पनि नेपाल ल्याउँदा भने साइमेक्सले एक सय पिक पावर भन्दै भन्सार कर छलेको देखिएपछि अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको छ।

साइमेक्सले भन्सार मूल्य ३६ लाख १० हजार तोकेको छ। चीनमा बनेको अटो ३ को १ सय ५० किलोवाटको भन्सार शुल्क आर्थिक ऐन २०८० अनुसार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत गरी ४० प्रतिशत तिर्नुपर्नेमा उसले १०० किलोवाटको १५ प्रतिशत भन्सर शुल्क, १० प्रतिशत अन्तःशुल्क तिरेर भन्सार छलेको देखिन्छ।

भन्सार विभागको तथ्याङ्क अनुसार साइमेक्सले नेपालमा अटो–३ को एक हजार वटा गाडी ल्याइसकेको छ। जसमा ३६ लाख १० हजार भन्सार घोषण गरिएमा १५ प्रतिशत कर लगाउँदा ५ लाख ४१ हजार ५ सय राजस्व छली भएको देखिन्छ।

भन्सार विभागकै तथ्याङ्कमा एक हजार वटा गाडीमा साइमेक्सले ५४ करोड १५ लाख भन्सार छली गरेको देखिन्छ।

यता, भन्सार विभागले भने, कर छली गरेको भन्दै जरिवाना असुल्ने निर्णय गरेको छ। भन्सारले साइमेक्सबाट सवा करोड रुपैयाँ असुल उपर गर्न पत्र काटिसकेको छ।

भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार सम्बन्धित भन्सार विभागले अनुसन्धान गर्ने निकायलाई पत्राचार गरिसकेको छ।

‘हाम्रो काम अनुसन्धान गर्ने होइन, हामीले सम्बन्धित भन्सार कार्यालयलाई पत्राचार गरिसकेका छौँ। अब तोकेको भन्दा बढी क्षमताको ल्याएको भए भन्सारले जति क्षमताको ल्याएको हो सोही अनुसारको रकम असुलउपर गर्नुपर्ने हुन्छ। त्यसैले हामीले पत्राचार गरेको हो। तर अनुसन्धान गर्ने निकाय भन्सार विभाग होइन, अरू नै निकाय छन्’ उनले भने।

यता, साइमेक्ससँग उकेराले बुझ्न खोज्दा साइमेक्सका अधिकारी सम्पर्कमा आएनन्। सुरुमा इमेलमा म्यासेज गर्न आग्रह गरेका साइमेक्सका कर्मचारीले कुनै जवाफ दिएनन्।

राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार राजस्व छली भएको पुष्टि भएमा छली भएको राजस्वको ३ सय प्रतिशतसम्म जरिवाना हुने व्यवस्था छ। त्यस्तै, १० करोड बढी राजस्व छली गरेको अवस्थामा सञ्चालकलाई ५ वर्ष जेल सजायको व्यवस्था छ। 

ई-सिक्स मोडल कारमा पनि राजश्व छली
साइमेक्स प्राइभेट लिमिटेडले सन् २०१५ मा बनेका ई-सिक्स मोडलको कार नेपाल आयात गर्दा १ करोड ८४ लाख रुपैयाँ न्यून बिजकीकरण गरेको यस अगाडिको राजश्व अनुसन्धान विभागको अनुसन्धानमा खुलेको थियो।

चीनको बीवाईडी अटो कम्पनीले २०७८ भदौ १७ मा जारी गरेको बिलको आधारमा साइमेक्सले बीवाईडी ई–सिक्स नेपाल ल्याएको थियो। उसले सो मोडल ल्याउँदा भन्सारको प्रज्ञापनपत्रमा घोषित मूल्य वास्तविक नभएको खुलेको थियो।

अनुसन्धानमा प्रतिगाडी ९ लाख २० हजार रुपैयाँ मूल्यांकन लुकाएको खुलेको थियो। साइमेक्सले सबै कर र शुल्कसहित २० प्रतिशत नाफा जोड्दा बढिमा ३६ लाख परल विक्री मुल्य हुनुपर्नेमा ग्राहकलाई ठगी गर्दै सो मोडलको गाडी अधिकतम ५७ लाखमा विक्री गर्दै आएको थियो। कालोबजारी कानुन अनुसार कारबाही गर्न सकिने आधार भए पनि सो प्राली जोगिदै आएको छ।

असार २४, २०८१ मंगलबार १४:२२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।