गृहमन्त्रीविरुद्ध संसदीय समिति गठन असम्भव :  एमाले प्रमुख सचेतक बर्तौला

गृहमन्त्रीविरुद्ध संसदीय समिति गठन असम्भव :  एमाले प्रमुख सचेतक बर्तौला

काठमाडौँ : एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सहकारी रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गर्ने विषय असम्भव रहेको बताएका छन्।

समग्र सहकारीपीडितका समस्या समाधान गर्न तथा उनीहरूले न्याय पाउनुपर्छ भन्ने कुरामा समिति बनाउने कुरा एमालेका लागि स्वीकार्य भए पनि गृहमन्त्री मात्र केन्द्रित गरेर छानबिन गर्न संसदीय समिति गठनको पक्षमा एमाले नरहेको उनले बताए।

‘नेपाली कांग्रेसले विशेषगरी गृहमन्त्रीलक्षित भएर संसदीय छानबिन समिति गठनको माग गरिरहनु भएको छ, त्यो कुरा सम्भव छैन,’ बर्तौलाले भने।

मङ्गलवार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग प्रमुख सचेतक बर्तौलाले अरूलाई निषेध गर्ने तरिकाबाट प्रस्तुत हुनु राम्रो नहुने बताए। उनले कांग्रेसले अलोकतान्त्रिक रूपमा आफूले चाहेको मात्रै सुन्न खोज्नु भन्दा पहिले अरूको कुरा सुन्ने सामर्थ्य राख्नुपर्ने तर्क गरेका थिए।

‘फलानो व्यक्ति दोषी छ, फलानो व्यक्तिलाई छानबिन गर्नुपर्छ भन्नेमा मात्रै केन्द्रित गरेर आम सहकारी पीडितका बारेमा नबोलीकन जुन ढङ्गले जान खोजिँदै छ त्यो कुरामा हाम्रो सहमति हुँदैन’ उनले भने। 

२५ बैशाख, २०८१, २१:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।