इलाम-२ मा रास्वपाका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत

इलाम-२ मा रास्वपाका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत

इलाम : इलाम-२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ।

गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ।

आमनिर्वाचनलगत्तै भएको भएको उप-निर्वाचनमा तनहुँ र चितवन दुई ठाउँबाट जितेर हौसिएका लामिछानेको दल यसपटक इलाम-२ मा भने जमानत समेत जोगाउन नसक्ने स्थितिमा देखिएको छ।

यहाँको परिणामले पूर्वी पहाडी जिल्लाहरूमा घण्टीको प्रभाव कम रहेको पुष्टि गरेको छ। लामिछाने हाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत छन्। उप-निर्वाचनमा पत्रकारितामै सक्रिय रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएर लामिछाने आफैँ पटक-पटक इलाम पुगेका थिए।

लामिछानेसहित रास्वपाका सांसदहरू इलाम पुग्दा उनीहरूमाथि सर्वसाधारण सेलिब्रेटीको पछि लागेझैँ झुम्मिएका थिए। तर, निर्वाचनमा भने रास्वपाले १० प्रतिशत मत समेत ल्याउन सकेन।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ले निर्वाचनमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार १० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्।

एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८, मंगोल नेशनल अर्गनाइजेसनका मनिकुमार लिम्बुले ८१६, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र जनमतका प्रेमकुमार थाम्सुहाङले ११८ मत मात्रै पाएका छन्।

१८ बैशाख, २०८१, ०७:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।