सूर्य नेपाल गल्फ : सदभावलाई उपाधि, भुवन सात स्ट्रोकले पराजित

सूर्य नेपाल गल्फ : सदभावलाई उपाधि, भुवन सात स्ट्रोकले पराजित

काठमाडौं : प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन्।

अन्तिम दिन ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाएका छन्।

यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो। जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन्।

यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए।

अन्तिम १८ होलको सुरूवातमा प्रो भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि भुवनले ३–ओभर ७५ को खराब प्रदर्शन गरे। समग्रमा ७–अन्डर २ सय ८१ सहित दोस्रो भए। प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार हात पार्न सफल भए।

एमेच्योर खेलाडीहरूको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। उनीहरूले समग्रमा ४–अन्डर २ सय ८४ मा खेल पुरा गरे।

आज विजयले १–अन्डर ७१ र निरजले २–अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार रुपैयाँ प्राप्त गरे।

समग्रमा इभन (पार २ सय ८८) मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले आज ३(ओभर ७५) मा खेल सके। तेस्रो भएका उनले ७२ हजार नगद हात पारे। 

यसैगरी समग्रमा ४ (ओभर २ सय ९२) सहित सञ्जय लामा र धनबहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे।

सञ्जयले २–ओभर ७४ र धनले १–अन्डर ७१ को स्कोर निकाले । उनीहरूले जनही ५४ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

रवि खड्काले आज २ (ओभर ७४ )को स्कोर सहित समग्रमा ५(ओभर २ सय ९३) सहित छैटौं स्थानमा प्रतियोगिता सकाए। छैटौं भएका उनले ४२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। 

यसैगरी समग्रमा ७ (ओभर २ सय ९४) सहित रामे मगर र भुवनकुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। दुवैले आज २ (ओभर ७४) मा खेल सकाए। उनीहरूले जनही ३७ हजार २ सय ५० नगद हात पारे।

धरानका दुई प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११ (ओभर २ सय ९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार नगद हात पारे। युवराजले आज ८ (ओभर ८०) र बलभद्रले ४(ओभर ७६) मा खेल सके।

प्रो भुवन र सदभावबीच आज खेलको सुरुवात गर्दा सदभावसँग मात्र एक स्ट्रोकको अग्रता थियो। तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए। तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए।

छैटौं होलको समाप्तिमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए। टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो।

भुवनले दोस्रो सट पोखरीमा खस्यो। त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए। यसपछि आठौं र नवौं होलमा फेरि एक–एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४ (ओभर ४०) मा सके।

सदभावले १ (अन्डर ३५) मा फ्रन्ट नाइन पुरा गरे। फ्रन्ट नाइन सकिँदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए।
 

बोगीरहित खेलेका सदभावले १२ औं र १७ औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २ (अन्डर ३४) मा सकाए। यसरी सहजै सदभाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई पछि पार्न सफल रहे।


लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १ (अन्डर ३५) मा खेल पुरा गरे। १३ औं, १४ औं र १८ औं होलमा बर्डी प्रहार गरे भने १५ औं र १६ औं होलमा एक–एक सट बचाए। यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे।

एमेच्योर विजयले टुरमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे। उनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए।

पहिलो र पाँचौं होलको बोगीविरूद्ध तेस्रो र सातौं होलमा एक–एक सट बचाए। यसपछि ११औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए।

सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपट एमेच्योरतर्फ दोस्रो भए।

धरानका निरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे। यसपछि १४ औं र १५ औं होलमा एक–एक सट बचाए भने १६ औं र १८ औं होलमा बोगीको सामना गर्दै ब्याक नाइन इभन–पार ३६ मा सकाए।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फरमध्ये उत्कृष्ट २१ जनले नगद पुरस्कार प्राप्त गरे।
 

१५ चैत, २०८०, २२:०८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।