नेपाली राष्ट्रिय क्रिकेट टोलीले कीर्तिपुरमा वेष्ट इण्डिजको ‘ए’को सामना गर्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले कीर्तिपुरमा वेष्ट इण्डिजको ‘ए’को सामना गर्दै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेष्ट इण्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रिपूर्ण टी२० प्रतियोगिता खेल्दैछ।

खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित मैदानमा शुरु हुनेछ।

नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी-२० खेलको शृङ्खला खेल्ने तय भएको छ। दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ मे ४ तारिखमा हुनेछ।

क्यानले वेष्ट इण्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। शुक्रबार चार सदस्य थपिएका छन्।

नेपाली टोली रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको छ। वेष्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन्।

आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो।

वेष्ट इण्डिजको टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो। नेपालसँगै वेष्ट इण्डिजले पनि आगामी टी-२० विश्वकप खेल्दै छ।

आईसीसी टी-२० विश्वकपको नवौं संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी-२० विश्वकपमा नेपाल समूह ‘डी’मा छ।

१५ बैशाख, २०८१, ०८:०२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।