'अमेरिकाले नेपालमा निश्चित धर्मलाई प्रवर्द्धन गर्न लगानी गरेको छैन'

'अमेरिकाले नेपालमा निश्चित धर्मलाई प्रवर्द्धन गर्न लगानी गरेको छैन'

काठमाडौं : नेपालस्थित अमेरिकी दूतावासले धर्म नेपालमा परिवर्तन गर्न लगानी नगरको स्पष्टीकरण दिएको छ।

अमेरिकाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न रकम बाँडेको भनी अमेरिकी सांसदले लगाएको आरोपपछि काठमाडौंस्थित अमेरिकी दूतावासले त्यसको खण्डन गरेको हो।

मंगलबार यससम्बन्धी ‘टकिङ प्वाइन्ट’ सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरूलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको जनाएको छ।

अमेरिकाले नेपालमा धार्मिक आस्था नभएका नागरिकका लागि वाइडेन प्रशासनले पाँच लाख अमेरिकी डलर खर्च गरेको दाबी फ्लोरिडाका रिपब्लिकन सांसद ब्रायन मस्टले गरेका थिए।

संसदमै उनले गरेको उक्त दाबीलाई दूतावासले खण्डन गर्दै अमेरिकी विदेश मन्त्रालयले धार्मिक विश्वास, दर्शन वा सिद्धान्त फेरबदलका लागि लगानी नगरेको बताएको हो।

दूतावासले भनेको छ, ‘अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमहरूले कहिल्यै पनि कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरूलाई प्रवर्द्धन गर्दैन।’

दूतावासको नोटमा भनिएको छ :

‘अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमहरूले कहिल्यै पनि कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरूलाई प्रवर्द्धन गर्दैनन्। बरु तिनीहरूले सबै व्यक्तिहरूको दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवर्द्धन गर्दछन्। यस कार्यक्रमले दक्षिण एसियाका त्यस्ता स्थानीय संघसंस्था र समुदायहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुर्याएको छ जहाँ उनीहरूले आफ्नो विश्वासका कारण विभेद र सीमान्तीकरण भोगेका छन्।

नेपालमा अमेरिकी सरकारको यस आर्थिक सहयोगले जातीय विभेद तथा बालविवाह विरुद्ध लड्ने र सबैको सहिष्णुता र पारस्परिक सम्मानका लागि वकालत गर्ने लगायतका कार्यमार्फत सीमान्तकृत विश्वास समुदायका सदस्यहरूको संरक्षण र उनीहरूका लागि पैरवी गर्ने प्रयासमा सहयोग गरेको छ।’

१३ चैत, २०८०, २१:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।