जब खेलकुदमन्त्री श्रेष्ठले झोक्किँदै भने- राजनीति आफ्नो ठाउँमा होला, कमनसेन्स पनि चाहियो के !

जब खेलकुदमन्त्री श्रेष्ठले झोक्किँदै भने- राजनीति आफ्नो ठाउँमा होला, कमनसेन्स पनि चाहियो के !

काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आइतबार दिउँसो पोखरा रंगशालाको निरीक्षण गर्दै अवस्थाबारे जानकारी लिए।

राष्ट्रिय खेलकुद परिषद्, गण्डकी खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति लगायत खेलकुद संघका प्रतिनिधि, प्रशिक्षक र खेलाडीले मन्त्री श्रेष्ठलाई रंगशाला परिसरमा स्वागत गरे।

लगत्तै उनले बहुउद्देश्यीय कभर्ड हल, पोखरा रंगशालामा रहेको फुटबल स्टेडियम र स्टेडियमको भौतिक अवस्थाको निरीक्षण गरे।

क्रिकेट मैदानबारे जानकारी गराउँदै प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएको मैदान बजेट अभावले सुविधासम्पन्न बनाउन नसकिएको मन्त्री श्रेष्ठलाई सुनाए। क्रिकेट मैदानलाई पूर्वाधारयुक्त बनाउन १ अर्ब ७७ करोड रुपैयाँको वृहत् गुरुयोजना बनाए पनि बजेट अभावले काम अगाडि बढाउन नसकेको उनले जानकारी दिएपछि मन्त्री श्रेष्ठ झोक्किए।

पहिला ब्रिफिङ सुन्दै गर्दा मन्त्री श्रेष्ठले नेपाल क्रिकेट संघ (क्यान)को ध्यानाकर्षण गराए।

जवाफमा सिग्देलले भने, ‘क्यानले पूर्वाधारमा पैसा दिँदैन। अरूमा पनि कसको मान्छे भन्ने हुन्छ।’

त्यसपछि मन्त्री श्रेष्ठले झोक्किँदै भने, ‘राजनीति आफ्नो ठाउँमा होला कमनसेन्स पनि चाहियो के!’

पोखरा रंगशालामा रहेका आर्चरी, टेनिस र स्वकास कोर्टसँगै मुवाथाइ प्रशिक्षण केन्द्रको पनि मन्त्री श्रेष्ठले निरीक्षण गरे। निरीक्षणपछि मन्त्री श्रेष्ठले पोखरा रंगशालामा भएका संरचनाको संरक्षण नभएकोप्रति असन्तृष्टि जनाए।

निर्माण भएका पूर्वाधारले उत्साह जगाए पनि जनताले तिरेको करले बनेका संरचनाको संरक्षण नभएको देख्दा निराश भएको उनको भनाइ छ।

मन्त्री श्रेष्ठले खेलकुदमा राजनीति नमिसाउन समेत खेलकुद संघसंस्थाका प्रतिनिधिलाई निर्देशन दिएका छन्।

‘खेल क्षेत्रमा फोहोरी राजनीति बन्द गर्दिनुस्। राम्रो राजनीति गरौं। बनाऔं, खेलाडीको भविष्य उज्जवल हुने राजनीति गरौं’, उनले थपे, ‘संरचनाहरू बनाउने राजनीति गरौं। राजनीतिक नियुक्ति जस्तो गरेर जनैमा साँचो हालेर खेलाडी र खेल क्षेत्रलाई बन्दक पुर्याउने कार्य बन्द गरौं।’

११ चैत, २०८०, १७:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।