दुर्घटनारहित होली बनाउन उपत्यकामा नौ सय ट्राफिक प्रहरी खटाइँदै, मापसे र लापसे गर्नेमाथि विशेष निगरानीमा

दुर्घटनारहित होली बनाउन उपत्यकामा नौ सय ट्राफिक प्रहरी खटाइँदै, मापसे र लापसे गर्नेमाथि विशेष निगरानीमा
फाइल तस्बिर

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरूको पर्व फागु पूर्णिमालाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ।

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउन अनि सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने भएका हुन्।

कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ।

त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरि आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्ट समेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उश्रृंखल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना लागू गर्ने ट्राफिक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।

उनका अनुसार मुख्य सडक, चोक र गल्लीमा समेत गरी नौ सय भन्दा बढी ट्राफिक प्रहरी खटिनेछन्।

अनावश्यक हर्न बजाउने, होहल्ला गरि सवारी चलाउने, मोडिफाई गरि ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरि मोटरसाइकल कुदाउनेलाई विशेष निगरानी गरिने श्रेष्ठले बताए।

विशेषगरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमतिबेगर रङ दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्नेलाई कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत उनको भनाइ छ।

१० चैत, २०८०, ०८:२७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।