विश्वकप छनोटमा नेपाल बहराइनसँग ५-० गोलले पराजित

विश्वकप छनोटमा नेपाल बहराइनसँग ५-० गोलले पराजित

काठमाडौं : फिफा विश्वकप-२०२६ को एसिया छनोटमा नेपाल बहराइनसँग पराजित भएको छ।

गएराति बहराइनको राष्ट्रिय रङ्गशालामा भएको एसिया छनोटको दोस्रो चरणको खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोलले पराजित भएको हो।

दशरथ रंगशालामा हुनुपर्ने खेल यहाँको पिचको अवस्था राम्रो नभएको भन्दै अन्तै व्यवस्था मिलाउन एसियाली फुटबल महासंघले एन्फालाई पत्र पठाएको थियो।

एन्फाले पहिलो खेल पनि बहराइनमै गराउने निर्णय गरेसँगै बिहीबार रातिको खेल बहराइनमा भएको हो।

खेलको दोस्रो मिनेटमै बहराइनका मोहम्मद अल हुमइदिनले गोल गर्नेबित्तिकै नेपाल दबाबमा आयो।

त्यसपछि नवौं मिनेटमा बरेन र इन्ज्युरी समयमा बकरले गोल गर्दा नेपाल पहिलो हाफमा ३-० गोलले पछि पर्यो।

८८ औं मिनेटमा इब्राहि अल खतलले गोल गर्दै अग्रतालाई ४-० बनाए।

९० मिनेटपछि थप गरिएको छैटौं मिनेटमा बहराइनले पेनाल्टी पाएको थियो। त्यसलाई अब्दुल लतिफले सदुपयोग गरेपछि पहिलो लेगमा नेपाल ५-० गोलले पराजित भएको हो।

यससँगै छनोटमा नेपाल लगातार तीन खेलमा पराजित भएको छ। अब मंगलबार बहराइनमै दोस्रो लेग खेल्नेछ।

समूह ‘एच’ मा रहेको  नेपाल पहिलो खेलमा युएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो।

९ चैत, २०८०, ०७:२८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।