पीएसजीलाई हराउँदै डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

पीएसजीलाई हराउँदै डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं : जर्मन क्लब वोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ।

बुधबार बिहान सकिएको खेलमा फ्रेन्च क्लक पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दोस्रो लेगमा पनि १-० गोल अन्तरले पराजित गरेपछि समग्रमा २-० को जितका साथ फाइनलमा स्थान बनाएको हो।

पहिलो लेगमा पनि डर्टमुण्ड १-० कै अन्तरले विजयी भएको थियो।

पीएसजीको घरेलु मैदानमा डर्टमुण्डलाई जिताउनका लागि म्याट्स हुमेल्सले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हुमेल्सले ५०औं मिनेटमा जुलियन ब्रान्डट्को कर्नर प्रहारलाई हेडर गोलमा परिणत गर्दै अग्रता दिलाए।

६५ औं मिनेटमा उसमान डेम्बेललाई फाउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो। तर, भीएआरले चेक गर्दा गलत भएपछि बराबरी गर्ने अवसर गुमाएको थियो।

५०औं मिनेटमा लिएको अग्रता अन्तिमसम्म जोगाउँदै डर्टमुन्डले फाइनलमा स्थान बनाउँदा स्टार खेलाडीले भरिएको पीएसजीको यात्रा भने टुङ्गियो।

डर्टमुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ। यी दुई टोली बीचको दोस्रो लेग आज हुँदैछ। पहिलो लेग भने २-२ गोलको बराबरीमा टुङ्गिएको थियो।

२६ बैशाख, २०८१, ०८:२३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।