अदालतको फैसलाविपरीत सहमति गराउने भन्दै लिएका थिए २० हजार घुस, २ प्रहरी अख्तियारको फन्दामा

अदालतको फैसलाविपरीत सहमति गराउने भन्दै लिएका थिए २० हजार घुस, २ प्रहरी अख्तियारको फन्दामा

काठमाडौं : व्यक्तिले लिजमा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा-अवरोध गरेको विषयमा सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा दुई प्रहरी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतको फैसला विपरीत छलफल गराइदिने भन्दै घुस लिने प्रहरी चौकी कान्तिबजार, महोत्तरीका इन्चार्ज र वरिष्ठ हवल्दारलाई पक्राउ गरेको हो।

महोत्तरीको गौशाला नगरपालिका १२ स्थित गैरी टोलबाट २० हजार रुपैयाँ घुस रकमसहित प्रहरी चौकी कान्तिबजारका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जित कुमार झालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

घुस रकमसहित पक्राउ परेका उनीहरू दुवै जनालाई आयोगको बर्दिबास शाखामा राखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

महोत्तरी अदालतले जग्गासम्बन्धी जारी गरेको आदेश कार्यान्वयन नगर्न छलफल गराइदिने भन्दै एक व्यक्तिबाट २० हजार घुस लिँदै गर्दा असई यादव र वरिष्ठ हवल्दार झा पक्राउ परेका हुन्।

विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पुर्जी दिएको जग्गा र जग्गामा भएको फलफूलहरू, खेतिपाती उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु/नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी उनीहरुले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ।

२८ फागुन, २०८०, २०:३४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।