राप्रपा : सरकारको विपक्षमा मतदान गर्ने निर्णय, प्रदेशमा के गर्ने?

राप्रपा : सरकारको विपक्षमा मतदान गर्ने निर्णय, प्रदेशमा के गर्ने?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दबाब दिन तय गरेको प्रदर्शनको पूर्वघोषित मिति डेढ साता पछाडि सारेको छ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले सोमबार गरेको निर्णयअनुसार चैत २७ गते प्रदर्शनको मिति तय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकका निर्णय सार्वजनिक गर्दै उनले एसईई परीक्षाको समय, लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिइ काठमाडौं केन्द्रीत जनप्रदर्शनको मिति सारिएको बताए।

उनले भने, ‘राप्रपाले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जन-दबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको पूर्ववत् निर्णय रहेकोमा मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ।’

राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने अध्यक्ष लिङ्देन बताए।

विपक्षमा मतदान गर्ने, विपक्षमा बस्ने, प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने भन्दै उनले समर्थन गर्नुपर्ने परिस्थिति आएमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने स्पष्ट पारे।

पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेश स्तरमा हुनु, गरिनु उपयुक्त नभएको ठहर गरेको उनले बताए।

कोशी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएकाले भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको पनि उनले बताए।

इलाममा हुने प्रतिनिधिसभा र बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरेको छ। त्यसका लागि उम्मेदवार छनोट गर्न सम्बन्धित प्रदेशका अध्यक्षले सम्बद्ध जिल्लाका अध्यक्षसँग समन्वय गरेर नाम सिफारिस गर्न जिम्मेवारी दिने निर्णय समितिले गरेको छ।

४० वर्ष मुनिका केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा र ४० वर्ष मुनिकालाई खुला रुपमा केन्द्रीय सदस्यमा चयन गर्ने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको आधारलाई परिमार्जनसहित स्वीकृत गरिएको पार्टीले जनाएको छ।

खुला केन्द्रीय सदस्य छनोट गर्न वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा डा. गीताभक्त जोशी र डा. जयन्तनाथ खनाल सदस्य रहने समिति गठन गरिएको छ।

मिटरब्याज, सहकारी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कारबाहीका कारण समस्यामा परेका ऋणी तथा बचतकर्ताहरुको समस्या समाधानका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उक्त समस्या तत्काल समाधान गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए।

२८ फागुन, २०८०, १९:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।