उत्तम सन्जेलको बदमासी ८ : समता नाफा नलिने गुठी नभई नाफा बाँड्ने निजी विद्यालय, लेखा परीक्षणमा देखिँदैन सहयोगको रकम

उत्तम सन्जेलको बदमासी ८ : समता नाफा नलिने गुठी नभई नाफा बाँड्ने निजी विद्यालय, लेखा परीक्षणमा देखिँदैन सहयोगको रकम

काठमाडौँ : समता शिक्षा निकेतन भन्ने बित्तिकै यो 'सेवा भावले खोलिएको गैर नाफामूलक गुठी स्कुल' भन्ने लाग्न सक्छ। किनकि यसका सञ्चालक र समाजमा परिचित सेलिब्रिटीहरुले यसरी नै यसको ब्राण्डिङ गरिरहेका छन्।

हालसम्म सार्वजनिक भएका दाबीहरूमा सय रुपैयाँ शुल्क लिएर गुणस्तरीय शिक्षाका लागि गैर नाफामूलक संस्थाको रूपमा समता स्थापना भएको झैँ देखिन्छ। तर उकेराको खोजमा यी सबै मित्थ्य भएको प्रमाण फेला परेका छन्। समता गैर नाफामूलक नभई नाफामूलक प्राली हो।

उकेराले प्राप्त गरेको प्रमाणित कागजात अनुसार काठमाडौँको बौद्ध स्थित 'समताकै हेड अफिस' भनेर समेत चिनिने विद्यालय संस्थागत स्कुल भएको र यो सञ्चालक उत्तम सन्जेलले निजी कम्पनी मार्फत सञ्चालन गरिरहेको पुष्टि हुन्छ।

२०५८ सालदेखि अस्तित्वमा आएको समता नितान्त एकल स्वामित्वको प्राइभेट समता स्कुल प्राली अन्तर्गत सञ्चालन भइरहेको विद्यालय हो।

सूचनाको हकमार्फत उकेराले प्राप्त गरेको कागजात अनुसार २०६१ असारमा सुशिलराज अर्याल र उत्तम सन्जेलको नाम जोडिएको दुइटा निजी कम्पनी, कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएको देखिन्छ।

२०६१ असार २५ मा अर्यालको एकल स्वामित्वमा 'मोर्डन कन्भेन्ट एकेडेमी प्राली' नामको कम्पनी दर्ता भएको देखियो। अनि त्यसकै भोलिपल्ट असार २६ मा 'समता स्कुल प्राली' नामको अर्को प्रालि सन्जेलको नाममा दर्ता भएको देखिन्छ।

२०६९ माघ १८ मा मोर्डन कन्भेन्ट एकेडेमी प्रालीको नाम बदलेर काठमाडौँ महानगरपालिका वडा नं ३३ स्थित ज्ञानेश्वरमा विद्यालय सञ्चालन हुनेगरि 'बर्शेवा नेशनल स्कुल प्राली' खुल्यो।

मोर्डन कन्भेन्ट एकेडेमीको सबै चल अचल सम्पत्ति र दायित्व नयाँ प्रालीको भयो। बर्शेवा नेशनल स्कुलले ०६७ देखि निम्न माध्यमिक तह(६-८) कक्षा सम्मको अनुमति लियो।

यता समता स्कुल प्राली पनि अस्तित्वमै रहेको देखिन्छ। सो प्रालीले 'समता स्कुल' चलाइरह्यो। २०६७ मंसिर २८ गते सन्जेलले आन्तरिक राजश्व विभागबाट समता स्कुल प्रालीको नाममा प्यान नम्बर निकालिसकेका थिए।

२०६९ चैत २२ मा पुन 'बर्शेवा नेशनल स्कुल प्राली'को विशेष साधारण सभाको निर्णय भन्दै 'बर्शेवा नेशनल स्कुल प्रालीको नाम बदलिएर समता स्कुल प्राली बनाइयो।

समताको लेखा परिक्षण प्रतिवेदन जसमा प्रस्ट नाफामुलक उल्लेख छ।समता दर्ता गर्दा ज्ञानेश्वर ठेगाना राखिएको देखिन्छ। पछि ठाउँ परिवर्तन गरेर काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध राखियो समता गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर छ, नयाँ बस्तीमा भएको समेत देखिन्छ।

२०७९ वैशाख १५ मा कम्पनी रजिस्टारको कार्यालयमा रहेको समता स्कुल प्रालीको एकल स्वामित्व उत्तम सन्जेलको नाममा रहेको देखिन्छ। पाँच लाख बराबरको पाँच हजार कित्ता शेयर उनको नाममा आयो।

अहिले मोर्डन कन्भन्ट प्रालि र बर्शेवा नेशनल स्कुल अस्तित्वमा छैनन्। मोर्डन कन्भेन्ट कम्पनीको नाम नै अहिले 'समता स्कुल प्राली' भएर कम्पनी रजिस्टार कार्यालयको विवरणमा समावेश भइसकेको छ।

स्रोतका अनुसार बर्शेवा नेशनल स्कुलमा सन्जेलको शेयर भए पनि सबै शेयर अर्यालको नाममा देखाइएको थियो। देशभर स्कुल खोल्ने भूत सवार भइरहेको बेला उनी काठमाडौँ महानगरमा पनि स्कुल खोल्न चाहन्थे। त्यसैबेला उनले कम्पनी र स्कुल आफ्नो भागमा पारे। लगत्तै पालिकामा व्यवसाय पनि दर्ता गरे।

सबै माहौल बनिसकेपछि उनले बर्शेवाको ठाउँ सारी तथा नाम परिवर्तित गरेर कानुनी रूपमै स्वामित्व लिए। अनि महानगरपालिकाको वडा नम्बर ६, बौद्धमा कानुनी रूपमा समता स्कुल रहेको देखियो।

प्राप्त कागजातहरूमा बर्शेवा समतामा गाभिएको नभई नाम बदलिएर समता स्कुल प्राली भएको देखिन्छ। जबकि सो नाममा पहिला नै प्राली दर्ता भइसकेको थियो।

मोर्डनबाट बर्शेवाहुँदै समता भएको कम्पनी रजिष्टारको प्रमाण पत्र र निर्णय।कागजपत्र अनुसार काठमाडौँ जिल्लामा सन्जेलको एउटै नाम गरेको दुई कम्पनीबाट उस्तै नाम भएको स्कुल सञ्चालन गरिरहेको देखिन्छ। कुनै पनि कम्पनीले एउटा मात्र व्यवसाय गर्न पाउने भन्ने होइन । तर, शिक्षा जस्तो कुरामा स्कुलको हकमा आफ्नै प्रावधान छ । यसबारे तत्कालीन जिल्ला शिक्षा कार्यालय, हालको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले 'यस्तो हुन नपर्ने' जनाएको छ ।

महानगरपालिकामा 'समता स्कुल' ले सञ्चालनको अनुमति लिएको भन्दा पनि नाम परिवर्तन गरेको प्रस्ट हुन्छ। यसले ठाउँसरि गरेकै अर्को वर्ष तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट नौ कक्षाको लागि अनुमति पायो। त्यसैगरी ०७२ सालमा १० कक्षाको लागि समताले अनुमति पाएको देखिन्छ। समताले २०७९ असार २८ मा कम्पनी रजिस्टारको कार्यालयमा कम्पनी नवीकरण गरेको देखिन्छ।

वार्षिक आम्दानी २६ लाख

उत्तम सन्जेलले समता सामाजिक संस्थाको रूपमा प्रचार गर्दै विभिन्न व्यक्तिहरूबाट सहयोग लिने गरेका छन्। तर काठमाडौँ महानगरपालिकामा समताले आर्थिक वर्ष २०७७/०७८ देखि बुझाएको लेखा परीक्षण प्रतिवेदनमा त्यस्तो कुनै सहयोग उल्लेख छैन।

नाफा मूलक संस्थाले चन्दा तथा सहयोग लिन पाउँदैन। उनले समताको नाममा उठाएको सहयोग कसरी/कहाँ प्रयोग गरेका छन् सरकारी निकायहरूमा भएका कुनै कागजपत्रमा खुल्दैन।

समताले महानगरमा बुझाएको २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख आय/व्यय विवरण मा आम्दानीमा सेवा विक्रीबाट २६ लाख ५९ हजार देखिन्छ।  सेवा विक्रीमा भर्ना शुल्क,मासिक शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क र आइडी, डायरी लगायतका शुल्क लिने गरेको देखिन्छ। सञ्चालन आम्दानी शीर्षकमा ४७ हजार उल्लेख छ।

खर्चमा कर्मचारी खर्च १९ लाख ८५ हजार र प्रशासनिक खर्च ६ लाख २६ हजार देखिन्छ।

समता स्कुल प्रालीको शेयर लागत विवरण।२०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा सेवा विक्रीबाट आम्दानी  २६ लाख २८ हजार उल्लेख छ। सञ्चालन आम्दानी २८ हजार ५ सय उल्लेख छ। खर्चमा कर्मचारी खर्च २० लाख १५ हजार र प्रशासनिक खर्च ५ लाख ८४ हजार उल्लेख छ।

सन्जेलको 'मह अस्त्र'

तर ०६९ सालमा बर्शेवा स्कुल, समता स्कुल भए पनि ०६५ साल देखिनै बौद्धमा सन्जेलले समता सञ्चालन गरिरहेका थिए। बौद्धको एक स्थानीयसँग मासिक ३० हजारमा जग्गा भाडामा लिएर सन्जेलले लगभग ८ रोपनी जग्गा लिएका थिए। सात वर्षको लागि भनेर लिएको जग्गा उनले नौ वर्षसम्म प्रयोग गरे। त्यसपछि भने उनलाई जग्गाधनीले सर्न भने। जग्गाधनी फेरी सम्झौता नगर्ने भएपछि उनले मदन कृष्ण र हरिवंशको प्रयोग गरे।

सिन्धुपाल्चोक, गोरखा र ललितपुरका जग्गाधनी सामु हात जोडेर जग्गा सम्झौता गर्न लगाएको जस्तै बौद्धमा पनि उनले मह जोडीलाई अगाडि सारे।

'मलाई त्यसबाट पछि छुटाउन धेरै गाह्रो भएको थियो नि,' बौद्धका जग्गाधनीले नाम नखुलाउन आग्रह गर्दै भने, 'मैले त नदिने नै भन्या हो। सम्झौता सकिएपछि जान्छन् होला भनेको अनेक नाटक गर्न थाले। एक दिन हरिवंश र मदनकृष्ण ल्याएर आउँछु भने। मदनकृष्ण बिरामी भएर आएनन् तर हरिवंश तपाईँको घरमा देउसी खेल्न आयौँ है भन्दै आएका थिए।'

हरिवंश घरमै आएपछि उनले नाइँ भन्न सकेनन्। अनि थप एक वर्षको लागि सम्झौता गरेको उनको दाबी छ।

'मैले त्यसबेला हरिवंशलाई तपाईँको अनुहार हेरेर मात्र दिएको नि फेरी भनेकै हो,' उनले भने।

तर एक वर्षको सम्झौता सकिएपछि पनि सन्जेल जान मानेनन्। अनि जग्गाधनीले जग्गाको भाडा पाँच लाख दिनुपर्ने सर्त राखे। छ महिनासम्म त सन्जेलले तिरे पनि। त्यसपछि भने आफै सरेर गए।

उनको जग्गामा अहिले पनि समताको पुरानो अवशेष बाँकी नै छ। उक्त समता अहिले बौद्धनाथ स्तुपाको सडकपारि छ। त्यहाँको स्थानीयले १५ वर्षको लागि सन्जेलसँग सम्झौता गरेका छन्।

वर्षौँ देखि नक्सा पास गरेकै छैन !

समता स्कुल महानगरको मेयर बालेन्द्र शाहले समेत सार्वजनिक रूपमा प्रशंसा गरेको स्कुल हो। तर यस स्कुलले अहिलेसम्म बिना नक्सा स्कुल सञ्चालन गरिरहेको छ । महानगरकै नक्सा शाखा समक्ष समताको अहिलेको संरचना देखाएर उकेराले प्रश्न गर्दा त्यहाँबाट 'बाँसकै संरचना भए पनि नक्सा पास भएको हुनुपर्ने' बताइयो। केही समयअघि मात्र अनामनगरको स्कुलको भवन अनधिकृत भएको भन्दै महानगरपालिकाले डोजर चलाएको थियो ।

स्कुलको नाम ठाउँ परिवर्तन गर्न महानगरले दिएको अनुमती।समताले महानगरपालिकालाई बुझाएको कागजात अनुसार आफ्नो लेखा परीक्षणमा '१० कक्षासम्म सञ्चालित संस्थागत स्कुल' भनेर उल्लेख भए पनि स्कुलमा भने स्नातकोत्तरसम्म पढाइ भइरहेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार काठमाडौँ महानगरपालिकामा ८ सय १४ जना विद्यार्थी छन्। अनि गोकर्णेश्वर नगरपालिकामा १ हजार १३ जना विद्यार्थी छन्। काठमाडौँ जिल्लामा अहिले एउटा मात्र समता स्कुल सञ्चालनमा छ। दुवै स्कुलको विद्यार्थीहरू एकै ठाउँमा राखेर पढाइ रहेको देखियो।

समताको आवरणमा सञ्जेलको बदमासी

२८ फागुन, २०८०, १५:२२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।