कांग्रेसको पोल्टाबाट एमालेको ढोक्सामा पुगेको सत्ता, सोमबार दिनभर के-के भयो?

कांग्रेसको पोल्टाबाट एमालेको ढोक्सामा पुगेको सत्ता, सोमबार दिनभर के-के भयो?

काठमाडौं : गत वर्ष पुस १० गते कांग्रेसले प्रधानमन्त्री नदिने चाल पाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न एमालेले साथ दियो।

कांग्रेससँग गठबन्धन गरेर निर्वाचन जिते पनि निर्वाचनपूर्व भएको सहमति अनुसार आफूलाई प्रधानमन्त्री नदिने चाल पाएपछि माओवादी अध्यक्ष प्रचण्डले त्यतिबेला एमालेको साथ पाएर प्रधानमन्त्री बने। सत्त समीकरण फेरियो। सत्ता गठबन्धनमा एमाले र माओवादीसँगै रास्वपा, राप्रपालगायत दल थिए।

एमालेसँग सहमति गर्दा प्रचण्डले राष्ट्रपतिमा सहमति गरेर जाने बताएका थिए। तर उनी विद्यादेवी भण्डारीबाट त्यसअघि नै आजित भइसकेकाले एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति नदिने पक्षमा थिए। कांग्रेसले विश्वासमा मत दिएपछि प्रचण्ड पग्लिए।

कांग्रेसले पनि आफ्नो गल्ती महसुस गर्यो अनि प्रचण्ड एमालेसहितको गठबन्धनलाई धोका दिँदै पुन: कांग्रेससँगको गठबन्धनमा फर्किए र राष्ट्रपतिमा एमालेको साथ छाडे। फलस्वरूप कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए।

त्यतिबेला कांग्रेससँग बनाएको गठबन्धन माओवादीले फेरि एक पटक भत्कायो। सोमबार बिहान नयाँ सत्ता समीकरण बन्यो। जसमा माओवादी केन्द्रसँगै, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी छ। गत वर्षको पुस १० कै यो गठबन्धनमा यसपटक भने राप्रपा सहभागी नहुने भयो।

सोमबारको घटनाक्रम जसरी अघि बढ्यो यसको क्रम आइतबार साँझदेखि सुरु हुन्छ। आइतबार साँझ प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेट गरे। उक्त भेटमा प्रचण्डले कांग्रेससँगको सहकार्य कठिन हुँदै गएको, विवादित मन्त्रीहरूलाई हटाउन खोज्दा पनि नदिइएको, अर्थमन्त्रीले लिएको आर्थिक नीतिले मुलुकलाई झन् अप्ठ्यारोमा पारेको र नयाँ ढङ्गले अगाडि बढ्न खोजेको बताएका थिए।

ओलीसँगको संवाद लगत्तै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि कुरा गरे। ओलीसहित तीनै दलले ग्रिन सिग्नल दिएपछि प्रचण्ड सत्ता समीकरण फेर्ने रणनीतिमा पुगे। तर सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक डाकिएको थियो।

उक्त बैठकअघि नै माओवादी केन्द्रले सचिवालय बैठक डाक्यो। विहान सात बजे बसेको सचिवालय बैठकलाई कारण देखाएर माओवादीले सत्ता गठबन्धनको बैठक स्थगित गर्यो। त्यसैबीच एमालेको पनि सचिवालय बैठक जारी थियो। 

एमालेले सचिवालय बैठकबाट सरकारमा जाने निर्णय गर्दै पदम गिरिलाई मन्त्रीको रूपमा पठाउने भयो। उता रास्वपाले पनि सचिवालय बैठक बसेर सरकारमा जाने विषयको निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दियो।

सबैतिर एकैपटक आकस्मिक बैठक बस्न थालेपछि सत्ता गठबन्धन धरापमा परेको अनुमान हुने भइहाल्यो। कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डसँग भेटे। उनीहरूसँगको भेटमा प्रचण्डले एमालेसँग नयाँ समीकरण बनिसकेको जानकारी गराए।

त्यसपछि देउवाले तत्कालै पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाए। बैठकमा उनले प्रचण्डसँगको भएको कुराकानीबारे ब्रिफिङ गरे। जसमा मुख्यत: राष्ट्रियसभा अध्यक्ष र विवादित मन्त्री फेर्न नदिएको विषय उल्लेख थियो। कांग्रेस बैठकले आफ्ना मन्त्रीहरूले राजीनामा नदिने भन्ने निर्णय गर्यो र प्रचण्डले धोका दिएको निष्कर्ष निकाल्यो।

यता सत्ता समीकरण बनेसँगै नयाँ सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्यो। जसमा एमालेबाट पदम गिरि, रास्वपाबाट डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङलाई विना विभागीय मन्त्रीको शपथग्रहण गराउने विषय टुङ्गियो। अन्य पदको बाँडफाँटको लागि चार सदस्यीय कार्यदल बनायो।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन्। उनीहरूलाई सिट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ।

सत्ता समीकरण फेरिएको पहिलो दिन तीन मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट विना विभागीय मन्त्रीको शपथग्रहण गरे। उनीहरूले शपथ ग्रहण गरे पनि कार्यभार भने सम्हाल्न पाएनन्। कार्यदलले मन्त्रालय तोकेपछि मात्र उनीहरूले कार्यभार सम्हाल्नेछन्। अहिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका छन्।

सोमबार साँझसम्म बालुवाटारमा बसेको नयाँ सत्ता गठबन्धनका चार दलको बैठकले विभिन्न बुँदामा सहमति भयो। जसमा अहिलेको नेतृत्व माओवादीले गर्ने र राष्ट्रियसभा अध्यक्ष पनि माओवादीले नै पाउने भनिएको छ। सरकारको कामलाई एकताबद्ध भएर गर्नका लागि न्यूनतम साझा कार्यक्रम बनाउनेलगायतका विषयमा सहमति गरिएको छ।

पुरानो सत्ता गठबन्धन भत्किएसँगै एकीकृत समाजवादी भने अलमलमा परेको छ। समाजवादी मोर्चामा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कुनै प्रस्ताव वा जानकारी नै नगराइ सत्ता गठबन्धन परिवर्तन गरेकोमा एकीकृत समाजवादीले भने असन्तुष्टि व्यक्त गरेको छ। योसँगै उक्त पार्टीको आजै दिउँसो बसेको बैठकले ‘पर्ख र हेर’को अवस्थामा रहने निर्णय गरेको छ।

यसैबीच प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगे। त्यहाँ उनले सरकारमा सहभागी भएर सँगै जान आग्रह गरे। जवाफमा उनले पार्टीका नेताहरूसँग थप छलफल गरेपछि थप निर्णय लिने बताए।

राष्ट्रपतिदेखि राष्ट्रियसभा अध्यक्षसम्म निर्वाचसम्म आउँदा
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुँदादेखि कांग्रेससँग नजिकिएको माओवादी केन्द्र राष्ट्रियसभा अध्यक्षको निर्वाचनसम्म आउँदासम्म पर भयो। राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा कोशी प्रदेशमा आफ्ना उम्मेदवार चम्पादेवी कार्कीको पराजयपछि नै माओवादी कांग्रेससँग बिच्किएको थियो।

त्यसलाई फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेसको महासमिति बैठकले झन् मलजल गर्यो। महासमिति बैठकमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस महासमितिमा अबका कुनै पनि चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दस्तावेज ल्याएर माओवादीलाई चिढाए नै त्यसमा झन् उपसभापति पूर्णबहादुर खड्काले माओवादीले जनयुद्ध भन्दै आएको सशस्त्र द्वन्द्वनलाई हिंसात्मक घटना भनेर परिभाषित गरे।

त्यसपछि माओवादीले कांग्रेससँग दूरी बढाउन अर्को कारण भयो। माओवादीका नेताले सोमबार सार्वजनिक अभिव्यक्ति दिने क्रममा कोशीमा आएको राष्ट्रिय सभा निर्वाचनको परिणाम र महासमिति बैठमा सशस्त्र संघर्षलाई गरेको व्याख्यालाई बनाएको छ।

त्यतिमात्र नभएर अर्थमन्त्री डा. प्रकाशशरण महत, रक्षामन्त्री पूर्णबहादुर खड्का र स्वास्थ्यमन्त्री मोहन बस्नेतप्रति पनि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए। यी तीन मन्त्रीलाई प्रचण्ड फेर्न चाहन्थे तर देउवाले केही समय थाम्न भनिरहेका थिए। महासमिति बैठकपछि हटाउने भनेर देउवाले वचनबद्धता गरे पनि उनले मन्त्रीको नाम नपठाएको माओवादी नेताहरूको भनाइ छ।

यस्तै, राष्ट्रिय सभा अध्यक्षमा पनि दुई दलबीच फरक दाबी देखियो। कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभामा ल्याएको र देउवा र प्रचण्डबीच यसबारे अनौपचारिक सहमति भइसकेको पनि कांग्रेस नेताहरुले बताए।

तर, माओवादी नेताहरूले भने यस विषयमा कुराकानी चले पनि कुनै सम्झौता नभएको दाबी गरे। अहिले राष्ट्रिय सभा अध्यक्ष छोड्दा र पछि सरकारै छोड्दा महत्वपूर्ण पदमा माओवादीको कोही पनि नहुने पीर माओवादीलाई थियो। त्यसैले संवैधानिक परिषद्को सदस्य हुने राष्ट्रिय सभा अध्यक्ष पदका लागि माओवादीले आफ्नो दाबेदारी पेश गरेको थियो । यसले पनि गठबन्धनमा दरार देखियो।

२१ फागुन, २०८०, २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।