त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ बागमती गोल्डकपको फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ बागमती गोल्डकपको फाइनलमा

काठमाडौँ : मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ।

मंगलबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो।

एपीएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे। खेलको ३ मिनेटमा फोफनाले गरेको गोलले नै जीतको लागि पर्याप्त भयो।

खेलको म्यान अफ द म्याच एपिएफका बुद्धिमान राई घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

जीतसँगै एपीएफले फाइनलमा मच्छिन्द्र फुटबल क्लबको भेट पक्का गरेको छ। यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ।

बिहीबार एपीएफ र मछिन्द्रबीच उपाधिका लागि भिडन्त हुनेछ। प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

८ फागुन, २०८०, २१:४१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।