मैत्रीपूर्ण फुटबल : नेपाल चीनविरूद्व ५-१ गोलले विजयी

मैत्रीपूर्ण फुटबल : नेपाल चीनविरूद्व ५-१ गोलले विजयी

काठमाडौं : चिनियाँ नयाँ वर्षका अवसरमा आयोजित चीन-नेपाल मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ।

दशरथ रंगशालामा शनिबार नेपाली टिमले ५-१ गोलको फराकिलो अन्तरले जित हात पारेको हो।

नेपाललाई जित दिलाउन समीर तामाङले दुई गोल गरे। सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक/एक गोल थपे।

चिनियाँ टिमका जासी पेङकोउले सान्त्वना गोल फर्काएका थिए। विष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाललाई अग्रतामा राखेका थिए।

३९ औँ मिनेटमा समीरले गोल गरेपछि नेपालले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।

५४ औँ मिनेटमा समीरले नै नेपालको अग्रतालाई ३-० मा पुर्याए। त्यसको नौ मिनेटपछि छिरिङ लामाको गोलबाट नेपालले ४-० को अग्रता बनाएको थियो

७५ औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई ५–-० को सहज अवस्थामा पुर्याए।

पाहुना टिमका पेङकोउले खेलको ७८ औँ मिनेटमा एक गोल फर्काए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने क्रममा नयाँ वर्षका अवसरमा फुटबल आयोजना गरिएको बताए।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ लगायत परिषद्का सदस्यहरूको उपस्थिति थियो। 

२७ माघ, २०८०, १९:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।