कोरोना भाइरस महामारी सम्बन्धी सरकारले गर्यो ३५ वटा अध्ययन

कोरोना भाइरस महामारी सम्बन्धी सरकारले गर्यो ३५ वटा अध्ययन

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरस संक्रमणको महामारी सम्बन्धी ३५ वटा अध्ययन गरेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को संशोधन प्रस्तावमाथि बिहीबार काठमाडौंमा भएको छलफलका क्रममा परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले यसको जानकारी दिएका हुन्।

विगत लामो समयदेखि संशोधन हुन नसकेको सो ऐनमाथि सरोकारवालाबीच छलफलसमेत भयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्रमरण सिंहले लामो समयमदेखि संशोधन हुन नसकेको ऐनलाई दुरगामी लक्ष्य राखेर संशोधन गर्नुपर्ने धारणा राखे।

त्यसैगरी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले समय अनुसार परिमार्जन गर्दै जानुपर्ने ऐन अहिले आएर संशोधन हुन लागेकोमा खुशी व्यक्त गरे।

नेपाल मेडिकल एसोसिसनका महासचिव डा. संजीव ज्ञवालीले जनताको स्वास्थ्यमा के गर्दा फाइदा हुन्छ त्यसै अनुसार परिषद्को ऐन संशोधन गर्नूपर्ने धारणा राखे।

परिषद्का सदस्य सचिव डा. ज्ञवालीले आफ्नो चारबर्षे कार्यकालमा परिषद्को ऐन संशोधन प्रक्रियामा गरेको तर्क गरे।

उनले ऐन संशोधनको प्रस्ताव सबैलाई समेट्ने गरि बनाइएको भन्दै परिषद्लाई पढ्ने, लेख्ने, अध्ययन तथा अनुसन्धान गर्नेको थलो बनाउनुपर्नेमा जोड दिए।

शुक्रबारदेखि डा. ज्ञवालीको चार वर्षे कार्यकाल सकिँदैछ। परिषद्का सदस्य सचिव डा. ज्ञवालीले आफ्नो कार्यकालमा परिषद्ले अध्ययन अनुसन्धानमा महत्वपूर्ण काम गरेको दाबी गरे।

उनले आफ्नो चार वर्षे कार्यकालमा वर्षमा चार वटाका दरले १६ वटा जर्नल परिषदले प्रकाशित गरेको बताए। उनले पाँच सय भन्दा बढी जर्नल आर्टिकल (लेख) प्रकाशित गरेको समेत जानकारी दिए।

त्यसैगरी परिषदमा चार वर्षमा तीन हजार नौ सय ३३ वटा अध्ययन अनुसन्धान गर्न अनुमतिका लागि प्रस्ताव दर्ता भएको उनले बताए। जसमध्ये तीन हजार ४७ वटा अध्ययन अनुसन्धानलाई अनुसन्धान कार्य अगाडी बढाउन स्वीकृति प्रदान गरेको डा. ज्ञवालीले बताएका छन्।

अनुसन्धान कार्य अगाडी बढाउन स्वीकृत गरिएकामध्ये आधा मन्दा बढीले अनुसन्धानको काम सम्पन्न गरिसकेको र केही अध्ययनकै क्रममा रहेको उनले बताए।

२६ माघ, २०८०, ११:५५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।