सरकारको परराष्ट्र नीति : ‘ब्रान्ड नेपाल’ अभियानदेखि सुरक्षा उपकरणमा आत्मनिर्भरतासम्मको घोषणा

सरकारको परराष्ट्र नीति : ‘ब्रान्ड नेपाल’ अभियानदेखि सुरक्षा उपकरणमा आत्मनिर्भरतासम्मको घोषणा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमले परराष्ट्र सम्बन्ध र राष्ट्रिय सुरक्षामा विशेष जोड दिएको छ।

सरकारले सन्तुलित कूटनीति, आत्मनिर्भर सुरक्षा र ‘ब्रान्ड नेपाल’ अभियानमार्फत अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति सुदृढ बनाउने रणनीति अघि सारेको हो।

सरकारले विश्वबजारमा नेपालको पहिचान बढाउन 'ब्रान्ड नेपाल' अभियान सञ्चालन गर्ने र सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ।

नेपाली सेना लगायतका सुरक्षा निकायलाई आवश्यक पर्ने लुगाफाटा, जुत्ता र अन्य बन्दोबस्तीका सामानहरू स्वदेशमै उत्पादन गरी सुरक्षा क्षेत्रमा आत्मनिर्भर हुने नीति लिएको हो।

विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई परिचालन गरी नेपाली वस्तु, सेवा, संस्कृति र पर्यटनको विश्वव्यापी प्रवर्द्धन गरिने उल्लेख गरेको छ।

सरकारले अबका दिनमा छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई राष्ट्रिय हितका आधारमा थप प्रगाढ बनाउने र सीमासम्बन्धी बाँकी विवादहरूलाई कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

यसका साथै, पर्यटन पूर्वाधार, जलविद्युत् (ऊर्जा) र सूचना प्रविधिको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन कूटनीतिक च्यानलको प्रभावकारी प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

वैशाख २८, २०८३ सोमबार १७:५५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।