किशोर-किशोरी मानसिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै स्वास्थ्यमन्त्रीले भने- ‘चिकित्सा शिक्षा ऐन शंसोधन गर्न  प्रयासरत छु’

किशोर-किशोरी मानसिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै स्वास्थ्यमन्त्रीले भने- ‘चिकित्सा शिक्षा ऐन शंसोधन गर्न  प्रयासरत छु’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल, लगनखेलमा स्थापना गरिएको किशोर-किशोरी मानसिक स्वास्थ्य इकाईको उद्घाटन गरेका छन्। बिहीबार एक समारोहकाबीच इकाईको उद्घाटन गरिएको हो।

सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ। जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन्।

इकाईमा मनोचिकित्सक, नर्सिङ, विशेष शिक्षक, सामाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा नेपालमा मानसिक समस्या बढेको बताए।

चिकित्सा शिक्षा ऐनको वर्तमान व्यवस्थाका कारण पनि सयौं विद्यार्थीहरूले चिकित्सा शिक्षा पढ्न नपाएर विदेशिनु परिरहेको दाबी गर्दै चिकित्सा शिक्षा ऐन शंसोधन गरेर देशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने अवसरको ढोका खोल्न आफू र वर्तमान सरकार प्रयासरत भएको मन्त्री बस्नेतले बताए।

‘उच्च अंक ल्याएर पनि देशमा नर्सिङ पढ्न पाइएन। मेडिकल पढ्न पाइएन भन्ने थुप्रै छन्। यहाँ नपाएपछि उनीहरूले पढ्नकै लागि विदेशिनु परिरहेको छ, मन्त्री बस्नेतले भने, ‘ऐन शंसोधन गरेर यो अवस्था अन्त गर्छौ।’

उनले नेपालमा मेडिकल शिक्षाका प्रचुर संभावना भए पनि केही स्वार्थ समूहका कारण त्यो अवसरलाई सदुपयोग गर्न नसकिएको स्मरण गर्दै सरकारले चाँडै १०० देखि ३०० शैया सम्मका अस्पतालहरूमा नर्सिङ तथा प्यारामेडिक्सको पढाइ गर्ने र ३०० शैया भन्दा माथिका अस्पतालहरूमा एमबिबिएसको पढाइ सुरू गरिने समेत प्रतिबद्धता जनाए। यसो गर्न सकिएको अवस्थामा नेपालमा चिकित्सा शिक्षाको जनशक्तिको अभाव नहुने मन्त्री बस्नेतको दाबी छ।

राम्रो काम गर्न खोज्दा लखेट्ने प्रवृत्ति नेपालमा कुनै नौलो नभएको बताउँदै मन्त्री बस्नेतले आफूलाई पनि केही स्वार्थी समूहले बदनाम गराउन थालेको तर राम्रो काम गर्न आफूलाई कसैले पनि रोक्ने नसक्ने बताए।

सिविन नेपाल सहित दातृ निकायको सहयोगप्रति मन्त्री बस्नेतले धन्यवाद व्यक्त गर्दै सरकार मानसिक अस्पतालको सेवा विस्तारका लागि सधैं तयार रहेको जिकिर गरे।

कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले किशोर-किशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आएपछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताए।

कार्यक्रममा इकाईका प्रमुख डा. अरुणराज कुँवर, मानसिक अस्पतालकी नर्सिङ प्रशासन प्रमुख शुशिला डंगोल, सिविनकी सुम्निमा तुलाधर लगायतले किशोरकिशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोर किशोरीको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

देशकै एकमात्र सरकारी स्तरमा सञ्चालित मानसिक अस्पतालले विगत ४० वर्षदेखि सेवा सञ्चालन गर्दै आइरहेको छ।

२५ माघ, २०८०, १५:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।