पञ्जा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेश पुनको चेतावनी- ‘नाफाको जीन्दगी हो, खेलाची नठान’

पञ्जा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेश पुनको चेतावनी- ‘नाफाको जीन्दगी हो, खेलाची नठान’

काठमाडौं : माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि महासचिव दिपेश पुनले त्यसप्रति असन्तुष्टि प्रकट गरेका छन्।

पुनले सामाजिक सञ्जालमार्फत् त्यसलाई सहेर नबस्ने भन्दै नाफाको जीवन बाँचेर आएकाले खेलाची नठान्नसमेत चेतावनी दिएका छन्।

‘ए जिस्काएको? हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको?,’ पुनले लेखेका छन्, ‘अरे हामी मर्न हिँडेर सँगसँगै सहयोद्धाहरूलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार। धेरै खेलासी नठान है, नाफाको जीन्दगी हो। कसैसँग मतलब छैन। आत्मघाती बम बन्न नपरोस्!’

१५ वर्षअघिको हत्या घटनामा जिल्ला अदालत सुर्खेतले माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीले २०७९ साउन १३ गते पक्राउका लागि पुर्जी माग गरेको थियो। २०६५ फागुन २६ गते राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको थियो।

८ माघ, २०८०, ०९:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।