सन्दीप विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा, पेसी पहिलो नम्बरमा

सन्दीप विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा, पेसी पहिलो नम्बरमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालदमा आज न्यायाधीश शिशिरराज ढकालको इजलासमा हुने भएको छ।

उनको मुद्दाको पेसी पहिलो नम्बरमा नै रहेको छ। त्यसकारण पनि आज यो मुद्दामा सुनुवाइ हुन सक्नेछ।

बहस नोट बुझाए पछिको फाइनल पेसी आज दोस्रो पटक हुँदैछ।

यसअघि गत २४ मंसिरमा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमा नै मुद्दाको सुनुवाइ रहेको भएपनि बार एसोसिएसनको सम्मेलनको कारण देखाउँदै सन्दीपका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका थिए। त्यसपछि आजका लागि पेसी तोकिएको हो।

सन्दीपको बलात्कार मुद्दामा गत २३ कार्तिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुवै पक्षका कानुन व्यवसायीले लिखित रुपमा बहस नोट अदालत समक्ष प्रस्तुत गरेका थिए।

सन्दीपको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भए पनि गत २३ कार्तिकमा भने बहस नोट माग गरेको थियो। विभिन्न बहानामा पटक-पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधीश केशव घिमिरेको इजलासले गत २३ कात्तिकमा दुवै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा लामो समयदेखि चलिरहेको छ। तथापि मुद्दाको किनारा भने लाग्न सकेको छैन।

८ पुस, २०८०, १२:१६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।