संसद्‌मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्दै

संसद्‌मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्दै

काठमाडौं : संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन्।

प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो।

आज प्रधानमन्त्री दाहालको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा छन्।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए। उनका अनुसार शनिबार बिहान साढे ८ बजे प्रधानमन्त्रीसँग भेटघाटको समय तय भएको छ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो।

त्यसअघि जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधकै कारण धन्यवाद प्रस्ताव समेत पारित हुन पाएको छैन।

जेठ ५, २०८१ शनिबार ०८:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।