त्रिविले भन्यो- ४९ औं दीक्षान्त ‘वर्ल्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा छ

त्रिविले भन्यो- ४९ औं दीक्षान्त ‘वर्ल्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा छ

काठमाडौं : एकैपटक एकै स्थानमा ठूलो संख्यामा विद्यार्थी दीक्षित गराएको विषयमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ।

विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा अफिसियल वर्ल्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको र आफूहरूले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्तिका लागि दाबी गरेको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति तथा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको उक्त समारोहमा त्रिविका विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका थिए।

त्रिविको ६१ औँ ग्रेस लिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए। निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिल तर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका थिए।

४ पुस, २०८०, १५:५४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।